२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

पोखरामा सुरु भयो दोस्रो नेपाल खुल्ला स्नुकर प्रतियोगिता

दोस्रो राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता–२०८२ को उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य । तस्बिर : सन्देश श्रेष्ठ/नागरिक

नेपाल खुल्ला स्नुकर प्रतियोगिता पोखरामा शुरु भएको छ । फाइनल स्कोर स्पोर्टस् बार प्रालि पोखराको आयोजना तथा कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा आजदेखि पोखरामा नेपाल खुल्ला स्नुकर प्रतियोगिता–२०८२ को दोस्रो संस्करण शुरु भएको हो । पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोर्टस् एण्ड बारमा भदौ २८ गतेसम्म हुने प्रतियोगिताको मंगलबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।  

प्रतियोगिताको पहिलो दिन चार खेलहरु सम्पन्न भए । उद्घाटन खेलमा हटौंडाका जेनिस श्रेष्ठले पोखराका प्रताप गुरुङ, दावा शेर्पा (ब्रेक प्वाईन्ट)ले बिजय कुमाल (ब्रदर्श)लाई, आकाश श्रेष्ठ (ब्रेक प्वाईन्ट)ले बुटवलका ओरेओ थापालाई र कृष्ण पौडेल (ब्रेक प्वाईन्ट)ले मिलन खत्री (दीप लभ)लाई हराउँदै बिजयी यात्रा शुरु गरेको आयोजक फाइनल स्कोर स्पोर्टस् बार प्रालि पोखराका अध्यक्ष तथा कार्यक्रम संयोजक सोम विकले जानकारी दिए ।  

प्रतियोगितामा देशभरका १३६ जना खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिता खेल्न राजधानी काठमाडौंसहित पूर्वको झापास्थित विर्तामोड, सुनसरीको धरान, ईटहरी, मोरङको विराटनगरदेखि पश्चिमको बुटवल, नेपालगञ्जसम्मका खेलाडीहरुले सहभागिता जनाएको आयोजक फाइनल स्कोर स्पोर्टस् बार प्रालिका अध्यक्ष सोम विकले जानकारी दिए । प्रतियोगितामा नेपालका टप–१६ को र्याङ्किङमा पर्ने खेलाडीहरुले पनि सहभागिता जनाएका उनले दाबी गरे । उनले भने,‘नेपालका प्राय: सबै सहरका खेलाडीहरुले सहभागिता जनाउनु भएको छ, र्याङ्किङमा पर्ने खेलाडीहरु हुनुहुन्छ ।’  

प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले स्नूकर खेल पर्यटनको एउटा कम्पोनेन्ट भएको बताए । खेल पर्यटनको माध्यमबाट समृद्दि हासिल गर्न सकिने भन्दै उनले भने,‘पोखरा पर्यटनको राजधानी हो । यस्तै प्रतियोगिताहरुले पर्यटनमा सघाउँछ ।’ उनले स्नूकर खेलमा धैर्यता आवश्यक हुने बताए । त्यसैले वास्तविक जीवनमा पनि यस खेलले अनुशासन र धैर्यता गर्न सिकाउने उनको दाबी छ । मेयर आचार्यले स्नूकर खेल सर्वाधिक रुचाइएको खेल भएको बताए । आयोजक र अन्य अतिथिले स्नूकर खेललाई खेल नमान्ने, हेप्ने गरेको भन्दै गुनासो गरेपछि उनले भने,‘यो हेपिएको खेल होईन, रुचाइएको खेल हो । आँधी, हुरी, बतास, वर्षा वा घाम लाग्दा पनि खेल्न सकिने खेल हो ।’  

पोखरा–१७ की वडाध्यक्ष राधिका साही योगीले स्नूकर प्रतियोगिताले पोखरा भ्रमण वर्षलाई सघाउने बताईन् । स्नूकर खेल शारिरिक र मानसिक स्वस्थताका लागि महत्वपूर्ण भएको बताउँदै यसले अनुशासन पनि सिकाउने बताईन् ।  

विलियार्ड स्नुकर तथा पुल संघ नेपालका अध्यक्ष सरोज मुल्मीले स्नूकर खेलको विकासमा संघ, प्रदेश र स्थानिय सरकारसँगै राष्ट्रिय खेलकुद परिषदलगायतले सघाउनुपर्ने बताए । उनले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्नूकर खेललाई समावेश गर्न आग्रह गरे । त्यसका लागि आफूहरुले दवाब दिइरहेको बताउँदै उनले भने,‘दशौं राष्ट्रिय खेलकुदमा स्नूकर खेल समावेश हुन्छ र गर्नुपर्छ ।’ उनले आफूहरुले पनि चाँडै नै अन्र्तराष्ट्रिय प्रतियोगिता गर्ने बताए । त्यसका लागि तयारी भइरहेको उनको भनाई थियो ।  

पूर्व अन्र्तराष्ट्रिय खेलाडी तथा अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले खेललाई सरकारी तहबाट सहयोग नभइरहेकोप्रति आक्रोस व्यक्त गरे । खेलकुदमा राजनीतिक चलखेल भइरहेको भन्दै त्यसको अन्त्य गरिनुपर्ने उनको भनाई थियो ।  

प्रतियोगितामा प्रथम हुनेलाई नगद २ लाख २ हजार २ सय २ रुपैयाँ र द्वितीय हुनेलाई नगद ८० हजारसहित शिल्ड, मेडल र प्रमाण प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा सेमीफाईनल पुगेका दुई जनालाई जनही २५ हजार तथा प्रतियोगिताका हाईएस्ट ब्रेकरलाई २० हजार रुपैयाँ र सेञ्चुरी ब्रेकर्सलाई हरेक खेलमा ७ हजार ५ सय रुपैयाँ प्रदान गरिने अध्यक्ष विकले बताए ।  

प्रकाशित: १७ भाद्र २०८२ २०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App