३० कार्तिक २०८३ सोमबार
image/svg+xml
खेल

ग्लोबल स्टारलाई रोक्ने पिच

विश्व क्रिकेटका स्टार तथा अधिकांश विश्व चर्चित फ्रेन्चाइज लिग खेलिसकेका क्रिकेटर यस वर्ष नेपालमा पहिलोपल्ट आए। आक्रामक ब्याटिङका लागि परिचित वेस्ट इन्डिजका आन्द्रे रसेलसँगै अस्ट्रेलिया डेविड वार्नर, दक्षिण अफ्रिका डेविड मिलर र पूर्वविश्व नम्बर एक बंगलादेशी अलराउन्डर सकिब अल हसनजस्ता क्रिकेटरले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा खेले।

उनीहरूको क्षमता र ब्याटिङ कलाबाट विश्व क्रिकेट समर्थकलाई मोहित पार्ने गर्छ। नेपाली समर्थक पनि त्यो कला हेर्न चाहन्थे। तर अपेक्षाअनुरूप खेल आएन। कारण बन्यो, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको पिच। नेपाल क्रिकेट संघ (क्यान) ले पनि पिच निर्माणका लागि लगानी नगरेको होइन। बंगलादेश क्युरेटर मोहम्मद अब्दुल अल मामुनलाई जिम्मेवारी दिइएको छ। तर राम्रो बन्न सकिरहेको छैन। बलरले मात्र साथ पाइरहेका छन्।

पिचका गुणस्तरमाथि लगातार प्रश्न उठिरहन्छन्। ब्याटिङका योगफलले पनि प्रश्न स्वाभाविक छन्। लिगको २७औं खेल सकिएपछि पिचबारे फेरि प्रश्न उठ्यो। कर्णाली याक्सले आइतबार चितवन राइनोजमाथि २४ रनको जित निकाल्यो। १५३ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै समेटियो।

यसअघि नै प्लेअफ पुगिसकेकाले चितवनले यो हारबाट धेरै क्षति बेहोर्नु परेन। कर्णाली पनि यो खेलअगावै प्लेअफ होडबाट बाहिरिसकेको थियो। नतिजाका हिसाबले यो खेल खासै अर्थ थिएन। तथापि दुवै टोली लिगको अन्तिम खेल जित्न चाहन्थे। १०० रन जोड्दा कर्णालीले सात विकेट गुमाइसकेको थियो।

हुसेन तलतको अविजित ५१ रनले कर्णालीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍यायो। पछि कर्णालीले नै जित्यो। उनले बलिङमा तीन विकेट लिए। यो खेलको चर्चा नतिजामा मात्र सीमित रहेन। मैदान बाहिर पनि चर्चा पायो। खेलपछि पत्रकार सम्मेलनमा चितवनका कप्तान सिकन्दर राजाले पिचबारे प्रश्न गरे। यसअघि नै चितवनका इङ्लिस ब्याटर डेविड मालनले पनि पिचको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरिसकेका थिए।

टी ट्वान्टी विश्वभर मनोरञ्जनको माध्यम बनिरहेको र त्यसका लागि ब्याटबाट पर्याप्त रन बन्नु आवश्यक रहेको मलानले औंल्याए। बलरलाई अत्यधिक सहयोग गर्ने पिच राम्रो नहुने उनको तर्क थियो। आइतबार फेरि जिम्बाब्वेका कप्तानसमेत रहेका सिकन्दर राजाले पनि त्रिवि मैदानको पिचप्रति कडा टिप्पणी गरे।

नेपालले विश्व क्रिकेटका ठुला राष्ट्रसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ। तर त्यसका लागि सबैभन्दा पहिले नेपालले पिच सुधार गर्नुपर्ने उनले सुझाव दिए। यस्तै पिचमा आफ्नो करियर अगाडि बढेको भए ८ हजार रन नबन्ने भन्दै उनले व्यङ्ग्यसमेत गरे। उत्कृष्ट पिचमा ब्याटर र बलर दुवैलाई आफ्नो क्षमता देखाउने अवसर मिल्ने सिकन्दरको भनाइ छ। सिकन्दरले एकै ओभरमा छक्का र चौका हेर्न समर्थक मैदान आउने पनि बताए।

एनपिएलसँगै नेपाली क्रिकेटलाई नयाँ उचाइमा लैजाने क्यान लक्ष्य छ। त्यसका लागि राम्रो पिचको विकल्प छैन। सिकन्दरको टिप्पणीले एनपिएलमा पिचको विषय थप चर्चामा रह्यो। स्थापित खेलाडीको आलोचनाले पिचबारे समीक्षा आवश्यक देखिन्छ। यसपटक विश्व क्रिकेटका चर्चित नामहरू एनपिएलमा आए।

वार्नर, मिलर, सकिब अल हसन र रसेलजस्ता खेलाडीबाट ठूलो अपेक्षा थियो तर उनीहरूले स्वाभाविक खेल देखाउन संघर्ष गरे। वार्नर र मिलरले एक खेलमा अर्धशतक बनाए। अन्य तीन खेलमा दुवैले उल्लेख्य योगदान दिन सकेनन्। हार्ड हिटरका रूपमा परिचित रसेलसमेत खुलेर खेल्न सकेनन्। लिगको तथ्यांकले पनि कम योगफलका खेल धेरै भएको देखाउँछ।

लिगमा कुल २८ खेल तय थिए। तीमध्ये वर्षाका कारण एउटा खेल (लुम्बिनी लायन्स र चितवन) हुन सकेन। सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स बीचको अर्को खेल पाँच ओभरमा सीमित भयो। बाँकी २६ खेलका ५२ इनिङमध्ये ९ इनिङमा १०० रनसमेत बन्न सकेन। २४ इनिङमा १३० रनभन्दा कम योगफल बन्यो।

त्रिवि मैदानमा २०० रनको योगफल पार नभएको भने होइन। पोखरा एभेन्जर्सले कर्णालीविरुद्ध २१७ रन बनायो। लिगकै अन्तिम खेल पनि त्यो रेकर्ड दोहोरियो। काठमाडौं गोर्खाजविरुद्ध एनपिएल इतिहासकै सर्वाधिक २२४ रनको योगफल बन्यो। यी दुई खेलले समग्र पिचको अवस्थामाथि उठेका प्रश्नलाई ओझेलमा पार्न सक्दैनन्।

एनपिएलले नेपाली क्रिकेटको व्यावसायिकता र आकर्षण बढाउने प्रयास गरिरहेको छ। खेलाडीको नाम र उपस्थितिले मात्र एनपिएलको स्तर बढ्दैन। उनीहरूले आफ्नो प्रतिभा देखाउन सक्ने मैदान पनि आवश्यक हुन्छ। ब्याटरले दुई सय रन बनाउन सक्ने र बलरले त्यही लक्ष्य जोगाउन सक्ने सन्तुलित पिच नै प्रतिस्पर्धात्मक क्रिकेटको आधार हो।

नेपालले विश्व क्रिकेटका ठुला राष्ट्रसँग खेल्ने सपना देखिरहेको छ। त्यसका लागि खेलाडीको क्षमता विकास आवश्यक छ। साथै मैदान र पिचको गुणस्तरमा पनि उत्तिकै ध्यान दिनुपर्ने देखिन्छ।

आइतबार एनपिएलको तेस्रो सिजनको लिग पूरा भए। पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम रोयल्स तथा इलिमिनेटरमा काठमान्डु र चितवन बीच प्रतिस्पर्धा हुँदैछन्। आशा छ यी खेलमा नेपाली समर्थक टी ट्वान्टी क्रिकेटको रोमाञ्चकता देख्नेछन्।  

प्रकाशित: ३० कार्तिक २०८३ ०७:०४ सोमबार