१ मंसिर २०८३ मंगलबार
image/svg+xml
खेल

सुदूरपश्चिममाथि ह्याट्रिक जित निकाल्दै साविक विजेता लुम्बिनी फाइनलमा

विकेटकिपर ब्याटर निरोशन डिकवेलाको अविजित अर्धशतक र बलरहरूको कसिलो प्रदर्शनको मद्दतले साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन तीनको फाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले सोझै फाइनल यात्रा तय गरेको हो।

सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर १०८ रन बनाउँदै २० बल बाँकी छँदै पूरा गर्‍यो। पराजित भए पनि सुदूरपश्चिमसँग फाइनल प्रवेशको अर्को मौका कायमै छ। सुदूरपश्चिमले अब काठमाडौं गोर्खाज र चितवन राइनोजबीच हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।

यो जितसँगै लुम्बिनीले सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जितको ह्याट्रिक पूरा गर्दै हेड-टु-हेडमा ३-२ को अग्रता बनाएको छ। यसअघिका चार भेटमा दुवै टोली २-२ को बराबरीमा थिए।

पहिलो संस्करणमा ४५ रनले र दोस्रो संस्करणको लिग चरणमा ७ विकेटले विजयी भएको सुदूरपश्चिमविरुद्ध लुम्बिनीले दोस्रो संस्करणको फाइनलमा ६ विकेट तथा जारी सिजनको उद्घाटन खेलमा ७ विकेटको जित निकालेको थियो।

१०६ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीको सुरुवात भने खराब रहेको थियो। इनिङ्सको तेस्रो बलमै ओपनर डार्सी सर्ट शून्य रनमा स्कट कुगेलेइनबाट बोल्ड भए। ३.२ ओभरमा २४ रनको स्कोरमा अर्का ओपनर आसिफ शेख ४ रन बनाएर हेमन्त धामीको बलमा दीपेन्द्र सिंह ऐरीबाट क्याच आउट भए।

सुरुवाती दबाबका बीच क्रिजमा आएका डिकवेलाले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जिततर्फ डोऱ्याए। उनले ३२ बलमा अर्धशतक पूरा गर्दै कुल ३७ बलमा ७ चौका र २ छक्कासहित अविजित ५९ रनको योगदान दिए।

डिकवेलालाई कप्तान रोहित पौडेलले २८ बलमा २१ रन बनाएर साथ दिए। ६२ रनको स्थितिमा रोहित आउट भएपछि सन्दीप जोरा ८ रनमा पभेलियन फर्किएका थिए। त्यसपछि दिलीप नाथले १२ बलमा १ छक्कासहित अविजित १० रन जोड्दै टोलीलाई सहज जित दिलाए।

सुदूरपश्चिमका बलर थरिन्दु रत्नायकेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। हेमन्त धामीले ३ ओभरमा १ मेडनसहित १२ रन दिएर १ विकेट तथा स्कट कुगेलेइनले २ ओभरमा २२ रन खर्चेर १ विकेट हात पारे। कप्तान दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा २३ र थानुका दबारेले ३.४ ओभरमा २४ रन खर्चिए पनि विकेट लिन सकेनन्।

यसअघि लुम्बिनीले टस जितेर पहिले बलिङ रोज्दै अघिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको थिएन। सुदूरपश्चिमले भने अघिल्ला हार बिर्साउन टोलीमा तीन परिवर्तन गर्दै थानुका दबारे र जर्ज मुन्सीलाई डेब्यु तथा अभिनाश बोहोरालाई टिममा फर्काएको थियो।

तर, पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले ८ रनमै सुरुवाती तीन विकेट गुमाउँदै २० ओभरमा ८ विकेटको क्षतिमा १०५ रन मात्र बनाउन सक्यो।

सुदूरपश्चिमका लागि डेब्युटेन्ट मुन्सी इनिङ्सको पहिलो बलमै शून्य रनमा बोल्ड भए भने अर्का डेब्युटेन्ट दबारे र विनोद भण्डारी समान ३ रनमा आउट भए।

धर्मराएको इनिङ्स कप्तान दीपेन्द्र सिंह ऐरी र ईशान पाण्डेले चौथो विकेटका लागि ६४ रनको साझेदारी गर्दै सम्हालेका थिए। ४५ बलमा अर्धशतक पूरा गरेका दीपेन्द्रले ५१ बलमा ३ चौका र १ छक्कासहित ५२ रन तथा पाण्डेले ३३ बलमा ३ चौकासहित २७ रन जोडे।

अन्य ब्याटरमा थरिन्दु रत्नायके १, आरिफ शेख ४ र स्कट कुगेलेइन ७ रनमा आउट हुँदा अनिल खरेल २ रनमा अविजित रहे।

लुम्बिनीका बलरमध्ये रुबेन ट्रम्पेलम्यानले ४ ओभरमा १४ रन र शेर मल्लले ४ ओभरमा २७ रन खर्चेर २-२ विकेट लिए। अभिशेष गौतमले ४ ओभरमा मात्र ११ रन दिएर १ विकेट तथा किशोर महतोले ४ ओभरमा १९ रन खर्चेर १ विकेट हात पारे। ब्याटिङमा नायक बनेका विकेटकिपर डिकवेलाले विकेट पछाडि २ क्याच र २ रन आउटमा समेत भूमिका निभाए।

जारी सिजनको लिग चरणमा दुवै टोलीले समान ५ जित दर्ता गर्दै शीर्ष दुईमा रहेर पहिलो क्वालिफायरमा स्थान बनाएका थिए।

लिगमा शीर्ष स्थानको लुम्बिनी काठमाडौंसँग पराजित हुँदा चितवनसँगको खेल वर्षाका कारण रद्द भएको थियो। अघिल्ला दुवै संस्करणको फाइनल खेलेको सुदूरपश्चिम भने लुम्बिनी र विराटनगर किंग्ससँग पराजित भए पनि अङ्कतालिकाको दोस्रो स्थानमा रहन सफल भएको थियो।

प्रकाशित: १ मंसिर २०८३ २०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App