१७ आश्विन २०८३ शनिबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटको अन्तिम छनोट दक्षिण अफ्रिका र नामिबियामा हुने

छनोट खेल्ने नेपालको सम्भावना कायमै

दक्षिण अफ्रिका र जिम्बाबेसहित आठ टोलीले आईसीसी पुरुष एकदिवसीय विश्वकप २०२७ मा स्थान सुरक्षित गरिसकेका छन्। अब विश्वकपमा पुग्न बाँकी चार स्थानका लागि १० टोलीले अन्तिम छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन्।

दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने क्वालिफायर प्रतियोगिता आगामी वर्षको फेब्रुअरी २६ देखि मार्च २१ सम्म सञ्चालन हुनेछ। प्रतियोगिताबाट विश्वकपमा पुग्ने टोलीको संख्या र छनोट प्रक्रिया पनि तय गरिएको छ।

भारत, न्युजिल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, श्रीलंका, अफगानिस्तान र बंगलादेश एकदिवसीय वरीयताका आधारमा विश्वकपका लागि स्वतः छनोट भइसकेका छन्। आयोजक दक्षिण अफ्रिका र जिम्बाबे पनि मुख्य प्रतियोगितामा रहनेछन्।

बाँकी चार स्थानका लागि हुने क्वालिफायरमा वेस्ट इन्डिज र आयरल्यान्डसँगै विश्व क्रिकेट लिग २ का शीर्ष चार टोली तथा विश्वकप छनोट प्लेअफबाट आउने चार टोली सहभागी हुनेछन्।

हाल लिग २ को शीर्ष चारमा स्कटल्यान्ड, अमेरिका, नेदरल्यान्ड्स र ओमान छन्। नेपाल, नामिबिया, क्यानडा र यूएई भने पुछारका चार स्थानमा छन्। यद्यपि लिग २ का केही शृङ्खला अझै बाँकी रहेकाले अन्तिम समीकरण परिवर्तन हुन सक्नेछ।

लिग २ को पुछारमा रहने चार टोलीसँगै च्यालेन्ज लिगका शीर्ष चार टोलीमध्ये इटाली, युगान्डा, जर्सी र कुवेतले विश्वकप छनोट प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्। उक्त प्लेअफ डिसेम्बर १ देखि २२ सम्म हुने तय भएको छ।

क्वालिफायरको विजेता सिधै विश्वकपको मुख्य समूह चरणमा पुग्नेछ। बाँकी तीन टोलीले नामिबियामा तीन खेलको सुपर सिरिज खेल्नेछन्। त्यसको विजेताले पनि विश्वकपको मुख्य प्रतियोगितामा स्थान बनाउनेछ।

यसरी हेर्दा नेपालका लागि विश्वकप यात्राको बाटो अझै खुला छ। तर त्यसका लागि लिग २ को बाँकी खेलमा नेपालको प्रदर्शन र अन्य टोलीको नतिजा महत्वपूर्ण हुनेछ।

क्वालिफायरको मिति यसअघि अनुमान गरिएको भन्दा केही पर सारिएको छ। आईसीसीले यसअघि फेब्रुअरी २२ देखि मार्च २३ सम्म प्रतियोगिता सञ्चालन हुने संकेत गरेको थियो। दुबईमा गत साता बसेको आईसीसी बैठकले भने फेब्रुअरी २६ देखि मार्च २१ सम्मको नयाँ मिति तय गरेको हो।

प्रकाशित: १६ आश्विन २०८३ १८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App