राष्ट्रिय तथा ए डिभिजन खेलसमेत खेलेका खेलाडीले भरिएको चित्लाङ फुटबल क्लब काठमाडौंलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लब पाँचथर चौथो ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
फिदिम स्पोर्टिङ क्लब चौथो ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ। निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।
टाइब्रेकरमा चित्लाङका पाँचमध्ये दुई प्रहार गोलमा परिणत हुन सकेनन् भने फिदिमका चार खेलाडीको प्रहारले जाली चुम्यो। चित्लाङका तर्फबाट मिक्सो लिम्बू, चेतन थारू र किरण सुनारका प्रहार गोलमा परिणत भए। दीपेश गुरुङको प्रहारलाई फिदिमका गोलरक्षक मिराक खजुमले गोल हुनबाट विफल तुल्याए भने चित्लाङका गोलरक्षक प्रिसोको प्रहार बाहिरिएको थियो।
फिदिमका लागि निरोज लिङदेन, सुसन जवेगु, हितेन लिम्बू र अनिस परियारका प्रहारले गोलको दिशा लिए।
यसअघि निर्धारित ९० मिनेटको खेलमा मध्यान्तरअघि फिदिम चित्लाङमाथि पूरै हावी भएको थियो। मध्यान्तरपछिको खेलको सुरुआती समयमा भने चित्लाङ फिदिममाथि हावी भयो। दरिलो रक्षापंक्ति र फिदिमका गोलरक्षक खजुमको उत्कृष्ट बचाउका कारण अनुभवी तथा राष्ट्रियस्तरका खेलाडीले भरिएको चित्लाङ फुटबल क्लब क्वाटरफाइनलबाटै बाहिरिएको हो।
टोलीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका फिदिमका गोलरक्षक खजुम म्यान अफ द म्याच घोषित भए। उनले ७ हजार रुपैयाँ बराबरको अलैंची उपहार प्राप्त गरे।
नवयुग श्रेष्ठ, सञ्जय श्रेष्ठ, बिमल पाण्डे, दीपेश गुरुङ, निराजन धामी, चेतन थारू र प्रिसोलगायतका अनुभवी खेलाडीले भरिएको चित्लाङले ताप्लेजुङको मैदानमा पहिलोपटक खेलेको हो।
ताप्लेजुङको फुङलिङमा शुक्रबारदेखि जारी गोल्डकपअन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा फिदिमले चित्लाङलाई पराजित गरेको हो। यसअघि समूह ‘ए’को खेलमा आयोजक ताप्लेजुङ–११ लाई २–१ गोलले पराजित गर्दै भारतको कालिम्पोङस्थित जर्जियन युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ।
आइतबार हुने तेस्रो क्वाटरफाइनल खेलमा समूह ‘ए’मा रहेको सातदोबाटो फुटबल क्लबले सलहेस युवा क्लब सिराहाको सामना गर्नेछ। सलहेस तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपको डिफेन्डिङ च्याम्पियनसमेत हो।
भदौ १९ गते सम्पन्न हुने प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८३ रुपैयाँ तथा उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको एक थान मोटरसाइकल उपहार प्रदान गरिनेछ।
प्रकाशित: १३ भाद्र २०८३ २१:०२ शनिबार





