९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

टी ट्वान्टी विश्वकप छनोट: हारबाट नेपालको सुरुआत

मिडल अर्डरमा खराब ब्याटिङ सामना गरेपछि नेपालले घरेलु मैदानमा सुरु भएको आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल छनोटमा हारबाट सुरुआत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा समूहको आफ्नो पहिलो खेलमा नेपाल आइतबार थाइल्यान्डसँग आठ विकेटले पराजित हुन पुगेको हो। मिडल अर्डरमा ब्याटिङसँगै बलिङमा पनि प्रभावकारी प्रदर्शन गर्न नसक्दा नेपाली महिला टोलीले घरेलु भूमिमा सुरु भएको विश्वकप छनोटमा खराब सुरुआत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले राम्रो सुरुआत गरेको थियो तर अन्तिम सात ओभरमा खराब ब्याटिङ गरेपछि नेपाली टोलीले एक सय २३ रनको सामान्य लक्ष्य दियो। तर, त्यो लक्ष्य पाहुना टोली थाइल्यान्डले १६.५ ओभरमा मात्र दुई विकेट गुमाई पूरा गर्‍यो।

नेपालले बलिङमा प्रभाव जमाउन नसक्दा १९ बलअगावै नतिजा सुम्पिन पुग्यो। नेपालकी कप्तान इन्दु बर्माले मिडल अर्डरले चल्न नसक्दा हार बेहोरेको बताइन्। ‘बिन्दु रावल र सम्झना खड्काले राम्रो सुरुआत दिएका थिए। तर, मिडल अर्डरमा राम्रो गर्न सकेनौं। म र पूजा (महतो) छिटै आउट हुँदा समस्या भयो,’ उनले भनिन्, ‘३०/४० रन कम हुन पुग्यो। मिडल अर्डरले राम्रो गरेको भए १५० रनको योगफल पार हुने थियो।’

आगामी खेलमा मिडल अर्डरले जिम्मेवार भएर खेल्नुपर्ने उनको भनाइ छ। थाइल्यान्डकी ओपनर नाथाकन चान्थामले ५७ रनको अविजित अर्धशतकीय इनिङ खेल्दै जित दिलाइन्। उनले ३९ बलमा ९ चौका र एक छक्का प्रहार गरिन्।

उनले पहिलो विकेटका लागि अफिसारा सुवानचोनराथीसँग ६६ रनको साझेदारी गर्दै जितको आधार बनाएकी थिइन्। दसौं ओभरमा नेपालकी अनुभवी खेलाडी सीता रानामगरले अफिसारालाई २८ रनमा बोल्ड गर्दै साझेदारी तोडेकी हुन्।

दोस्रो विकेट पनि सीताले नै लिएकी हुन्। सीताले नन्नापात कोन्चारोयन्काईलाई ३२ रनमा एलबिडब्लु सिकार बनाइन्। नन्नापातले ३९ बलमा ९ चौका र एक छक्का प्रहार गरिन्। यद्यपि, नन्नापातले तेस्रो विकेटका लागि ओपनर नाथाकन चान्थामसँग ४७ रनको साझेदारी गर्र्दै थाइल्यान्डको जित पक्का गरिसकेकी थिइन्। १५.३ ओभरमा नन्नापात आउट हुँदा थाइल्यान्डले एक सय १३ रन जोडेको थियो।

जितका लागि १२ रन मात्र टाढा थियो। घरेलु टोलीले ६ बलर प्रयोग गरे पनि सफल भएन। सीता रानामगर र सोमु विष्टबाहेक सबै बलर महँगा साबित भए। सोमुले तीन ओभरमा ११ रन र सीताले चार ओभरमा २० रन मात्र दिए तर अन्य बलर महँगा साबित हुँदै थाइल्यान्डले सहज जित निकाल्यो। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले राम्रो सुरुआत गरेको थियो तर अन्तिम सात ओभरमा खराब ब्याटिङ गरेपछि निर्धारित २० ओभरको समाप्तिमा एक सय २२ रनमै अलआउट भयो। नेपालले पावर प्लेमा एक विकेट गुमाउँदा ५२ रन जोड्यो। १३औं ओभरसम्म नेपाली टोलीले समालिएर ब्याटिङ गर्‍यो।

१४औं ओभरमा बिन्दु, १५औं ओभरमा पूजा महतो र १६औं ओभरमा कप्तान इन्दु बर्मा आउट भएपछि नेपाली टोलीको ब्याटिङ दबाबमा पर्‍यो। त्यसपछि नेपालले लगातार विकेट गुमाउन पुग्यो। थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले आफ्ना बलरले उत्कृष्ट फाइट ब्याक गरेपछि सहज भएको बताइन्। साथै उनले नेपालको ब्याटिङमा पनि सुधार आएको उल्लेख गरिन्। त्यसअघि पहिलो विकेटका लागि नेपालले ५२ रनको साझेदारी पाएको थियो। ओपनरद्वय विन्दु रावलले ४४ बलमा र सम्झनाले ११ बलमा समान ६ चौका प्रहार गरे। त्यसपछि नेपालले राम्रो साझेदारी नै बनाउन सकेन र सस्तैमा रोकिन पुग्यो।

सातौं नम्बरमा आएकी पूर्वकप्तान रुबिनाले १७ रन जोड्दा उपकप्तान पूजा महतोले १२ रन बनाएर आउट भइन्। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। थाइल्यान्डको बलिङमा थिपात्चा पुथावङले सर्वाधिक तीन तथा ओन्निचा कामचोम्फुले दुई विकेट लिए। चनिदा सुथिरुवाङ सुलीपोर्न लाओमी र सुनिदा चातुरोङग्रातानाको नाममा समान एक विकेट रह्यो। पाँच राष्ट्र रहेको समूह ‘बी’ मा फराकिलो हारसँगै नेपाललाई धक्का लागेको छ। नेपालले आगामी जनवरी २२ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ।

यो खेल जित्दै नेपाली टोली कम्तीमा शीर्ष तीन स्थानमा रहने आशामा छ। समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर सिक्समा स्थान बनाउनेछ। कप्तान इन्दुले आगामी खेलमा बलियो भएर आउने आशा व्यक्त गरिन्। पहिलेको भन्दा ब्याटिङमा सुधार भएकाले यो प्रदर्शनबाट सन्तोष रहेको उनी बताउँछन्।  

प्रकाशित: ५ माघ २०८२ ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App