२ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विट्जरल्याण्ड पहिलो पटक क्वार्टरफाइनलमा, अर्जेन्टिनासँग खेल्ने

पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४-३ ले पराजित गर्दै स्विट्जरल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

बुधबार बिहान क्यानडाको भ्यानकुभरमा भएको खेल निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो, जहाँ रुबेन वर्गासले निर्णायक गोल गरेका हुन्। अब स्विट्जरल्याण्डले आइतबार मिसौरीको कान्सास सिटीस्थित एरोहेड स्टेडियममा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँग खेल्नेछ। अर्जेन्टिनाले मंगलबार राति इजिप्टलाई ३-२ ले हराएको थियो।

सन् १९५४ मा विश्वकप आयोजना गरेयता स्विट्जरल्याण्ड पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो। स्विस टोलीले यस खेलमा युवा मिडफिल्डर जोहान मानजाम्बीलाई गुमाएको थियो, जो सोमबार प्रशिक्षणका क्रममा घाइते भएका थिए। प्रतियोगितामा दुई गोल गरिसकेका वर्गासले पनि सोमबारको प्रशिक्षण चाँडै छोडेका थिए। तर उनी बेन्चमा उपलब्ध थिए र खेलको अन्त्यमा मैदान प्रवेश गरेका थिए।

पेनाल्टी सुटआउटमा कोलम्बियाका डिफेन्डर डेभिनसन सान्चेजको प्रहार क्रसबारमा लाग्यो भने स्विस गोलकिपर ग्रेगर कोबेलले कुचो हर्नान्डेजको प्रयास विफल पारे। रंगशालामा फिफा अध्यक्ष जियानी इन्फान्टिनोको उपस्थिति थियो, जहाँ कोलम्बियाका समर्थकहरूको बाक्लो उपस्थिति देखिएको थियो।

खेलमा स्विट्जरल्याण्डले बल नियन्त्रणमा थोरै अग्रता लिएको थियो। दुई फरक शैलीका टोलीबिच प्रतिस्पर्धा भएको थियो; जसअनुसार स्विस टोली व्यवस्थित देखिएको थियो भने कोलम्बिया आक्रमणमुखी देखिन्थ्यो। मानजाम्बीका साथै लुका ज्याक्वेज र मिशेल एबिस्चरबिना मैदानमा उत्रिएको स्विस टोलीले २१ औं मिनेटमा कोबेलको उत्कृष्ट बचाउका कारण संकट टारेको थियो। ३० औं मिनेटमा फेबियन रेडरको प्रहारलाई कोलम्बियाका गोलकिपर क्यामिलो वर्गासले रोकेका थिए। ५२ औं मिनेटमा स्विस टोलीले पाएको फ्रिकिकको मौका पनि खेर गयो। अतिरिक्त समयमा कोलम्बियाका झोन लुकुमीको हेडर क्रस बारमा लागेर बाहिरिएको थियो।

कोलम्बिया सन् २०२२ को विश्वकपमा छनोट हुन सकेको थिएन। तर सन् २०१४ मा क्वार्टरफाइनलसम्म पुगेको थियो। यसअघि सन् १९९४ मा अमेरिकामा भएको विश्वकपको समूह चरणमा पनि यी दुई टोलीबिच प्रतिस्पर्धा भएको थियो, जसमा कोलम्बिया २-० ले विजयी भएको थियो।

प्रकाशित: २४ असार २०८३ ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App