समूह चरणमा प्रभावशाली प्रदर्शन गरेको युरोपेली जायन्ट फ्रान्स मंगलबार अन्तिम ३२ मा स्विडेनसँग भिड्दै जारी विश्वकपको नकआउट यात्रा सुरु गर्दै छ।
यस खेलको विजेताले अन्तिम १६ मा दाबेदारका रूपमा हेरिएको अर्को टोली जर्मनी वा पाराग्वेमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्ने समीकरण छ। प्रशिक्षक डिडिएर डेसच्याम्प्सको फ्रान्स समूह ‘आई’ मा शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा रह्यो। सेनेगल, इराक र नर्वेलाई हराएको फ्रान्सले सन् १९९८ को विश्वकपपछि पहिलोपल्ट कुनै प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा समूहचरणका सबै खेल जित्यो। डेसच्याम्प्सका लागि यो सुखद संकेत पनि हो। सन् १९९८ मा उनी नै फ्रान्सका कप्तान थिए। उत्तर अमेरिकामा जारी यस संस्करणमा फ्रान्सको आक्रामक खेललाई रोक्ने टोली को बन्नेछ भन्ने चासो सबैको छ। फ्रान्सले आफ्ना पछिल्ला चार विश्वकप खेलमा कम्तीमा तीन गोल गर्दै आएको छ।
स्विडेनविरुद्ध पनि तीन वा सोभन्दा बढी गोल गरे फ्रान्स विश्वकप इतिहासमा लगातार पाँच खेलमा तीन गोल गर्ने पहिलो टोली बन्नेछ। किलियन एमबाप्पे र उसमान डेम्बेलेले यस विश्वकपमा समान चार गोल गरिसकेका छन्। यी दुई फ्रान्सका सर्वाधिक गोलकर्ता हुन्। शुक्रबार नर्वेमाथि ४–१ को जितमा डेम्बेलेको ह्याट्रिकले फ्रान्सलाई समूहविजेता बनाएको हो। यी दुईबीच तालमेल पनि उत्कृष्ट देखिएको छ। विश्वकपमा उनीहरूबिच पाँच गोलमा प्रत्यक्ष संयोजन भइसकेको छ। एमबाप्पेले डेम्बेलेका लागि दुई गोलको अवसर सिर्जना गरेका थिए। डेम्बेलेले पनि एमबाप्पेका लागि तीन गोलको अवसर बनाइदिएका थिए। दुई गोल सन् २०२२ को विश्वकपको हो। सन् १९६६ यता विश्वकप इतिहासमा कुनै पनि जोडीबिच पाँच गोलको यो राम्रो संयोजन पनि रह्यो।
पोल्यान्डका आन्द्रेज सार्माख र ग्रेगोर्ज लाटो तथा जर्मनीका मिरोस्लाभ क्लोज र माइकल बालाकको जोडीसँग बराबरी रहेको यो कीर्तिमान फ्रान्सका एमबाप्पे र डेम्बेलेले निर्माण गरेका हुन्। उनीहरूसँग स्विडेनविरुद्ध नयाँ उचाइमा पुर्याउने अवसर हुनेछ। एमबाप्पे र डेम्बेलेसँगै माइकल ओलिसे र डिजिरे डुएको उपस्थितिले फ्रान्सको आक्रमण थप बलियो देखिन्छ। सन् १९९८ मा विश्वकपयता फ्रान्सले १८ नकआउट खेलमध्ये १५ मा जित
निकाल्दै ८३ प्रतिशत सफलता पाएको इतिहास छ। यस अवधिमा फ्रान्स तीनपल्ट नकआउट चरणबाट बाहिरिएको छ। सन् २००६ को फाइनलमा इटालीसँग १–१ को बराबरीपछि फ्रान्स पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो।
सन् २०१४ को क्वार्टरफाइनलमा जर्मनीसँग १–० ले र सन् २०२२ को फाइनलमा अर्जेन्टिनासँग ३–३ को बराबरीपछि पेनाल्टीमा ४–२ ले फ्रान्सले नतिजा गुमाउनुपरेको थियो। प्रशिक्षक ग्राहम पोटरको स्विडेनले फ्रान्सलाई कडा चुनौती दिने आशा गरिएको छ। तर समूह ‘एफ’ मा यो टोलीले उत्कृष्ट गर्न भने सकेन। नेदरल्यान्ड्स र जापानपछि तेस्रो स्थानमा रहेर नकआउट चरणमा पुगे पनि स्विडेन फ्रान्सलाई स्तब्ध पार्ने योजनामा हुनेछ। समूह चरणमा भिक्टर ग्योकेरेस स्विडेनका सबैभन्दा उत्कृष्ट खेलाडी हुन्। उनले ११ पटक प्रहार र आठ गोलका अवसर सिर्जना गरे। सन् १९६६ यता विश्वकपको एउटै संस्करणमा १० भन्दा बढी प्रहार र १० भन्दा बढी अवसर सिर्जना गर्ने स्विडेनका खेलाडी नै हुन्।
सन् १९७४ का राल्फ एडस्ट्रोम र सन् १९९४ का टोमास ब्रोलिनले यो सफलता पाएका थिए। विश्वकपअघि धेरैको ध्यान ग्योकेरेस र अलेक्जान्डर इसाकमा केन्द्रित थियो। तर, यासिन अयारीले दुई गोल गर्दै टोलीलाई महत्वपूर्ण योगदान दिँदा एन्थोनी एलाङ्गाले पनि उत्कृष्ट लय समातेका छन्। एलाङ्गाले नेदरल्यान्ड्स र जापानविरुद्ध लगातार दुई खेलमा गोल गरेका छन्। फ्रान्सविरुद्ध गोल गरे उनी विश्वकपमा लगातार तीन खेलमा गोल गर्ने अर्का स्विडिस हुनेछन्। आर्ने निबर्ग (१९३८), कुर्ट रोलान्ड हाम्रिन (१९५८), मार्टिन डाहलिन (१९९४) र केनेट एन्डरसन (१९९४) ले यो उपलब्धि पाएका थिए। स्विडेनका खेलाडी पनि लयमा रहेकाले डेसच्याम्प्सले युरोपेली प्रतिद्वन्द्वीलाई सहज रूपमा लिने छैनन्।
स्विडेनले समूहचरणमा सात गोल गरेको थियो। जुन विश्वकपको एउटै समूह चरणमा टोलीले गरेको सर्वाधिक गोल हो। साथै, सन् १९९४ मा कुल १५ गोल गरेयता विश्वकपमा यो उसको उत्कृष्ट गोलसंख्या पनि हो। पोटरको टोली पनि यस अवसरबाट डराउने अवस्थामा छैन। स्विडेन आठौंपल्ट विश्वकपको नकआउट चरणमा पुगेको छ। यसअघिका सात सहभागितामध्ये पहिलो नकआउट चरणमा उसले दुई पटक मात्र हार बेहोरेको छ। सन् २००२ मा सेनेगलसँग २–१ र सन् २००६ मा जर्मनीसँग २–० ले पहिलो चरणमै स्विडेन पराजित भएको थियो। फ्रान्स र स्विडेनबिच सबै प्रतियोगितामा यो २४औं भेट हुनेछ। कुल २३ खेलमध्ये फ्रान्सले १२ र स्विडेनले ६ खेल जितेका छन्। पाँच खेल बराबरीमा सकिएका छन्। प्रमुख प्रतियोगितामा भने यी दुईबीच यो भेट तेस्रो मात्र हो।
विश्वकपमा पहिलोपल्ट आमनेसामने हुन लागेका हुन्। पछिल्लोपटक युरो २०१२ मा भेट हुँदा स्विडेनले फ्रान्सलाई २–० ले स्तब्ध बनाएको थियो। त्यसअघि सन् १९९२ को युरोपियन च्याम्पियनसिपमा दुवै टोली १–१ को बराबरीमा रोकिएको इतिहास छ। डेसच्याम्प्स आफ्ना खेलाडीले अर्को चरणमा स्थान बनाउने विश्वासमा छन्। किनभने फ्रान्सले विश्वकपमा युरोपेली टोलीविरुद्ध पछिल्ला लगातार ६ खेल जितेको छ। एक तथ्यांक विश्लेषणले पनि फ्रान्सलाई बलियो दाबेदार मानेको छ। ७५.१ प्रतिशत फ्रान्सले निर्धारित ९० मिनेटभित्रै जित निकाल्ने अनुमान छ। यो अनुमान स्विडेनको ९.५ प्रतिशत मात्र छ। १५.४ प्रतिशत अतिरिक्त समय वा पेनाल्टी सुटआउटसम्म पुग्ने अनुमान गरिएको छ।
प्रकाशित: १६ असार २०८३ ११:०६ मंगलबार





