१ मंसिर २०८३ मंगलबार
image/svg+xml
खेल

१०५ रनमै रोकियो सुदूरपश्चिम, फाइनल पुग्न लुम्बिनीलाई सहज लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससामु जितका लागि १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सक्यो।

८ रनमै सुरुवाती तीन विकेट गुमाएर धराशायी बनेको सुदूरपश्चिमको इनिङ्स कप्तान दीपेन्द्र सिंह ऐरी र ईशान पाण्डेले सम्हालेका थिए। यी दुईले चौथो विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई १०० रनको आँकडा कटाउन आधार तयार पारेका थिए।

कप्तान दीपेन्द्रले ४५ बलमा अर्धशतक पूरा गर्दै कुल ५१ बलमा ३ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५२ रन बनाए। उनी १९.२ ओभरमा १०१ रनको कुल स्कोरमा किशोर महतोको बलमा डार्सी सर्टबाट क्याच आउट भए। ईशान पाण्डे ३३ बलमा ३ चौकासहित २७ रन बनाएर १४.१ ओभरमा ७२ रनको स्कोरमा रन आउट भए।

सुदूरपश्चिमका अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। इनिङ्सको पहिलो बलमै डेब्युटेन्ट जर्ज मुन्सी शून्य रनमा बोल्ड भए भने अर्का डेब्युटेन्ट थानुका दबारे र विनोद भण्डारी पनि सस्तैमा पभेलियन फर्किए।

पावरप्लेको ६ ओभरमा सुदूरपश्चिमले मात्र २० रन जोड्दा ३ विकेट गुमाएको थियो।

मध्यक्रम र तल्लो क्रममा थरिन्दु रत्नायके १ रन र आरिफ शेख ४ रनमा आउट भए। इनिङ्सको अन्तिम बलमा ७ रन जोडेका स्कट कुगेलेइन रन आउट हुँदा अनिल खरेल २ रनमा अविजित रहे। सुदूरपश्चिमले अन्तिम ५ ओभरमा ४ विकेट गुमाएर ३१ रन मात्र जोड्न सक्यो।

लुम्बिनीका बलरहरूले सुरुवातदेखि नै कसिलो प्रदर्शन गरे। रुबेन ट्रम्पेलम्यानले ४ ओभरमा मात्र १४ रन खर्चेर २ विकेट लिए भने शेर मल्लले ४ ओभरमा २७ रन दिँदै २ विकेट झारे। अभिशेष गौतमले ४ ओभरमा केवल ११ रन खर्चेर १ विकेट तथा किशोर महतोले ४ ओभरमा १९ रन दिएर १ विकेट हात पारे। विकेटकिपर निरोशन डिकवेलाले २ क्याच र २ रन आउटमा भूमिका निभाए।

अब लुम्बिनी केहीबेरमा १०६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रनेछ। यो खेलको विजेता सोझै फाइनलमा पुग्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।

प्रकाशित: १ मंसिर २०८३ १८:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App