कैलालीको टीकापुरबाट सुदूरपश्चिम रोयल्स ट्रफी टुर सुरु भएको छ। टीकापुर पार्कस्थित महेन्द्र आरोग्य गृहको प्राङ्गणबाट आजदेखि ट्रफी टुरको शुभारम्भ गरिएको हो।
ट्रफी टुरको एक समारोहका बिच नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले शुभारम्भ गरेका छन्।
समारोहलाई सम्बोधन गर्दै क्यानका अध्यक्ष चन्दले नेपाली क्रिकेटको उचाइमा सुदूरपश्चिमको महत्वपूर्ण योगदान रहेको बताए। उनले सुदूरपश्चिम नेपाली क्रिकेटको हब बनेको प्रति गौरव महसुस हुने बताए।
उनले क्रिकेट नेपाललाई विश्व सामु चिनाउने माध्यम बन्दै गएको बताउँदै क्रिकेटको विकासमा राज्यको ध्यान जान आवश्यक रहेको बताए।
मेयर थारुले टीकापुरबाट ट्रफी टुरको शुभारम्भ गरेको प्रति धन्यवाद व्यक्त गरेका छन्। उनले यस कार्यले टीकापुरलाई चिनाउन महत्वपूर्ण भूमिका हुने बताउँदै क्रिकेटका साथै खेल क्षेत्रमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
सुदूरपश्चिम रोयल्स प्रालिका अध्यक्ष स्वतन्त्र प्रताप शाहले ऐतिहासिक स्थलबाट ट्रफी टुरको शुभारम्भ गर्न पाउनुले गौरवको अनुभूति भैरहेको बताए। उनले टीकापुर पार्कबाटै स्वर्गीय राजा महेन्द्रले केही दिन देशको शासनसत्ता चलाएको स्मरण गर्दै टीकापुर पार्कको ऐतिहासिक महत्वलाई प्रचार गर्ने उद्देश्यले ट्रफी टुर शुभारम्भका लागि छनौट गरिएको जानकारी दिए।
उनले टीकापुर नगरपालिकाले क्रिकेट मैदान निर्माणका लागि पहल गरे आवश्यक सहयोग गर्न तयार रहेको बताए। ‘म मेयर सापलाई भन्छु आफ्नो कार्यकालभित्रै निर्माण गर्ने गरी पहल सुरु गर्नुस्। मैले सकेको सहयोग गर्नेछु,’ उनले भने, ‘टीकापुरमा क्रिकेट मैदान निकै आवश्यक छ।’
सुदूरपश्चिम रोयल्स प्रालिका अध्यक्ष शाह टीकापुरका बासिन्दा समेत हुन्। उनले एनपिएल सिजन–२ को विजेता बनेर सुदूरपश्चिम रोयल्सको विजय यात्रा समेत टीकापुरबाटै सुरु गर्ने सोच रहेको बताए। सुदूरपश्चिम रोयल्स एनपिएल सिजन–१ को उपविजेता हो।
ट्रफी टुरमा सुदूरपश्चिम रोयल्सका खेलाडीहरू विनोद भण्डारी, इशान पाण्डे र नरेन साउँदको समेत सहभागिता रहेको छ। ट्रफी टुर शुभारम्भ कार्यक्रममा स्थानीयले खेलाडीलाई भव्य स्वागत गरेका छन्। स्थानीयले थारु नाँचलगायत प्रस्तुत गरेका थिए।
दुई दिनसम्म जारी रहने ट्रफी टुर आज कैलालीका विभिन्न क्षेत्रको भ्रमण पश्चात कञ्चनपुर पुग्नेछ। भोलि कञ्चनपुरबाट सुरु भएको ट्रफी टुर कैलालीको धनगढी पुगेर समापन हुने बताइएको छ। एनपिएल सिजन–२ को तयारीका क्रममा समर्थकसँग भेटघाट र उत्साह बाँड्ने उद्देश्यले ट्रफी टुरको आयोजना गरिएको सुदूरपश्चिम रोयल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले जानकारी दिए।
प्रकाशित: २१ कार्तिक २०८२ १३:२९ शुक्रबार





