नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन सकिँदा सुदूरपश्चिम रोयल्ससामू एउटा गम्भीर प्रश्न खडा भयो–लिगभरि उत्कृष्ट प्रदर्शन गर्ने टोली फाइनलमा किन चुक्छ?
पहिलो सिजनमा फाइनलको हार खट्टामिठ्ठा अनुभूति मात्रै बने पनि यस पटक अब त्यसमा मात्रै सीमित बनेको छैन। अब त नियति नै बनेर उभिएको छ। लगातार दोस्रो पटक लिग चरणमा दबदबासहित तालिकाको शीर्ष स्थानमा रहँदै, पहिलो क्वालिफायर पार गरेर फाइनल पुगेको टोलीले फाइनलमा भने लज्जास्पद हार भोग्यो।
शनिवार कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान ‘सुदूरपश्चिमकै मैदान’ बनेको थियो। खेल सुरु हुन दुई घण्टा अगाडिदेखि नै स्टेडियमका सबै प्यारापिटमा सुदूरपश्चिमेली दर्शकले भरिएका थिए। टाढाबाट आएका समर्थकले समय, पैसा र भरोसा बोकेर टिमलाई साथ दिएका थिए। झन्डा र जर्सीले पहेँलपुरी बनेको मैदानमा सुदूरपश्चिमकै लवजमा नारा घन्किन थालिसकेको थियो। जसको झल्कोले लाग्थ्यो–खेल कतै धनगढीतिर भइरहेको छ।
सुदूरपश्चिम रोयल्सका लागि त्यो फाइनल केवल उपाधिको खेल थिएन, आफ्नै समर्थकमाझ इतिहास लेख्ने अवसर थियो। उनीहरू फाइनल मात्रै हेर्न आएका थिएनन्, इतिहास बन्ने क्षण हेर्न आएका थिए। तर त्यो अवसर मैदानमै चिप्लियो। खेल त्यति लामो टिकेन। राम्रोसँग हुटिङ गर्ने मौका नपाउँदै खेल एकतर्फी बन्यो र दर्शकको उत्साह निराशामा बदलियो।
लिग चरणमा एक खेलबाहेक सबै खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको टोलीले निर्णायक खेलमा भने अपेक्षित प्रदर्शन गर्न सकेन। परिणामतः उपाधि भिडन्त एकपक्षीय बन्यो, खेल प्रतिस्पर्धात्मक समेत हुन सकेन। यो केवल ‘एक खराब दिन’को कुरा होइन, यो सुदूरपश्चिमका लागि दोहोरिएको कथा हो– लिगमा उत्कृष्ट, फाइनलमा कमजोर। समर्थकले राम्रोसँग हुटिङ गर्ने मौका नै नपाई खेल समाप्त भयो। जित–हार खेलको स्वाभाविक हिस्सा भए पनि यस्तो हारले केवल स्कोर बोर्ड होइन, समर्थकको भरोसामा पनि गम्भीर रूपमा चोट पुर्यायो।

यो सुदूरपश्चिम रोयल्सका लागि नयाँ अनुभव होइन। नेपाल प्रिमियर लिगको पहिलो सिजनमा जस्तै, दोस्रो सिजनमा पनि टोली लिगभरि प्रभावशाली रहँदै फाइनलमा पुग्यो र त्यहीँ चुक्यो। लगातार दुई पटक टेबल टपर, पहिलो क्वालिफायरबाट सिधै फाइनल, तर उपाधिबिनै फर्किनु अब संयोगभन्दा बढी ढाँचागत समस्या देखिन थालेको छ।
दर्शक भावुक हुन्छन्। उनीहरूका लागि जित–हार अंक र तथ्य होइन, अनुभूति हो। त्यसैले स्ट्यान्डमा बसेर भावुक हुनु स्वाभाविक हो। तर खेलाडी भावनामा होइन, रणनीतिमा खेल्नुपर्छ। फाइनलजस्तो खेलमा आत्मविश्वास, स्पष्ट योजना र परिस्थितिको सही मूल्यांकन नै निर्णायक हुन्छ। सुदूरपश्चिम यहीँ चुक्यो।
टसदेखि रणनीतिसम्म देखिएको चुक
फाइनलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय नै सुदूरपश्चिमका लागि सबैभन्दा ठुलो रणनीतिक गल्ती साबित भयो। खेल सुरु हुनु अघिको निर्णय नै खेलको ‘टर्निङ पोइन्ट’ बन्यो। दोस्रो सिजनभर त्रिवि मैदानमा पहिले ब्याटिङ गर्ने टोलीहरू निरन्तर दबाबमा परेको तथ्य सबैका सामु स्पष्ट थियो। पहिले ब्याटिङ गर्ने टोलीहरू पावर प्लेमै विकेट गुमाउँदै दबाबमा परिरहेका थिए। पावर प्लेमै विकेट झर्ने, रन बनाउन संघर्ष गर्ने र दोस्रो इनिङमा ब्याटिङ गर्ने टोलीले सजिलै लक्ष्य भेट्टाउने प्रवृत्ति दोहोरिइरहेको थियो। त्यो यथार्थ हुँदाहुँदै अस्थिर ब्याटिङ संयोजनसहित पहिले ब्याटिङ रोज्नु परिपक्व निर्णय थिएन।
त्यसैमा सुदूरपश्चिमको ब्याटिङ संयोजन फाइनलअघि नै कमजोर भइसकेको थियो। ओभरसिज खेलाडीको अनुपस्थिति, स्थायी ओपनरको अभाव र फाइनलमै प्रयोग गरिएको नयाँ ब्याटिङ क्रमले जोखिम झनै बढायो। तीन नम्बरका ईशान पाण्डेलाई ओपनर बनाउनु र सम्पूर्ण ब्याटिङ क्रम फेरिनु फाइनलजस्तो खेलका लागि अपरिपक्व निर्णय साबित भयो। रणनीतिले खेल जिताउँछ, भावनाले होइन। तर सुदूरपश्चिमको निर्णयमा रणनीतिक स्पष्टताभन्दा आत्मविश्वास अति देखियो।
दबाबमा चुक्दै गएको इनिङ
परिणाम तुरुन्तै देखियो। पहिलो ओभरमै विकेट झ¥यो, रन गति सुस्त बन्यो र दबाब बढ्दै गयो। ६ ओभरमा तीन विकेट गुमाउँदै २० रनको स्थितिमा पुगेपछि खेल सुदूरपश्चिमको नियन्त्रणबाट बाहिरिन थालिसकेको थियो। खेलाडीभन्दा पहिले समर्थक स्तब्ध भए। मध्य क्रममा अनुभव भए पनि परिस्थिति सम्हाल्ने समय र ठाउँ बाँकी रहेन। यस्तो अवस्थामा फाइनल खेल सुदूरपश्चिमको हातबाट फुत्किसकेको संकेत दिइसकेको थियो।
दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डे लामो समय क्रिजमा रहे पनि रन गति बढाउन सकेनन्। फाइनलको दबाब, विपक्षीको कसिएको बलिङ र आफ्नै असमञ्जसले ब्याटिङ जकडिएको देखियो। कप्तान रोहित पौडेलको ह्याट्रिकले सुदूरपश्चिमको इनिङ लगभग समाप्त गरिसकेको थियो। अन्ततः टोली ८५ रनमै समेटियो। यो केवल खराब ब्याटिङ मात्रै थिएन, दबाब व्यवस्थापनको असफलता पनि हो। जुन फाइनलका लागि कुनै पनि हिसाबले प्रतिस्पर्धात्मक स्कोर थिएन।
बलिङमा पनि छुटेको अवसर
८६ रनको लक्ष्य बचाउनु कठिन थियो, तर क्रिकेटमा प्रयास नगरी हार स्विकारिँदैन। त्यसका लागि सुरुदेखि नै आक्रामक र स्पष्ट योजना आवश्यक थियो। बलिङमा पनि स्पष्ट योजना देखिएन। सानो लक्ष्य जोगाउन सुरुदेखि नै आक्रामक रणनीति आवश्यक थियो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै १५ विकेट लिइसकेका अविनाश बोहरालाई नयाँ बल नदिइनु गम्भीर रणनीतिक कमजोरी रह्यो।
पहिलो ओभरमा कप्तान आफैँ बलिङमा आउनु जुवा साबित भयो। त्यस ओभरमै खाएको २७ रनले खेललाई औपचारिकतामा सीमित गरिदियो। खेल लगभग समाप्त भइसकेको थियो। नतिजा हातबाट निस्किसकेको थियो। दर्शक मौन भइसकेका थिए, स्ट्यान्ड छाड्न थालिसकेका थिए। जब अविनाशलाई आठौँ ओभरमा ल्याइयो, तब लुम्बिनीलाई जित्न मात्र तीन रन चाहिएको थियो। त्यतिन्जेल खेल सुदूर पश्चिमको हातबाट फुत्किसकेको थियो।
लुम्बिनी लायन्ससँग ६ विकेटको हार स्कोर कार्डमा सामान्य देखिए पनि ८६ रनको लक्ष्य ९ ओभरमै भेट्टाइनु वास्तविक अन्तर झल्काउने तथ्य हो। यो हारलाई केवल ‘एउटा खराब दिन’ भनेर टार्न सकिने अवस्था छैन। कारण, यो सुदूरपश्चिमको लागि दोहोरिएको नियति बनिसकेको छ। यो हारलाई केवल खेलाडीको व्यक्तिगत कमजोरीमा सीमित गर्नु सही हुँदैन। यो टिम रणनीति, निर्णय क्षमता र दबाबको खेलमा मानसिक तयारीको समग्र असफलता हो। दुई सिजन लगातार तालिकाको शीर्ष स्थान, पहिलो क्वालिफायर हुँदै फाइनल र दुवै पटक हार– यो संयोग मात्रै होइन, ढाँचागत समस्या हो।
दर्शक र खेलाडीको भूमिका
कीर्तिपुरको मैदान सुदूरपश्चिमका दर्शकका लागि उधारो मैदान थिएन। समय, खर्च र भरोसा लगानी गरेर उनीहरू टिमको साथमा उभिएका थिए। त्यसैले यस्तो फाइनल प्रदर्शन उनीहरूका लागि सहज रूपमा स्वीकार्य हुन सकेन। हार स्विकार्न सकिन्छ, तर तयारी र रणनीतिबिनाको हार सधैँ प्रश्नको विषय बन्छ।
दर्शक भावनामा खेल्छन्। भावुक हुनु उनीहरूको अधिकार हो। जितमा उफ्रिनु, हारमा दुखी हुनु स्वाभाविक हो। उनीहरूका लागि जित–हार आँकडाभन्दा अनुभूति हो। त्यसैले भावुक हुनु दर्शकको स्वाभाविक अधिकार हो। तर खेलाडी भावनामा होइन, रणनीतिमा खेल्नुपर्छ। फाइनलजस्तो निर्णायक खेलमा आत्मविश्वास, स्पष्ट योजना र परिस्थितिअनुसारको निर्णय नै निर्णायक तत्त्व बन्छ। आत्मविश्वास आवश्यक छ, तर त्यसलाई योजना र परिस्थितिअनुसारको निर्णयले साथ नदिए आत्मविश्वास बोझ बन्छ। यो फाइनलमा सुदूरपश्चिम समर्थकको उपस्थितिले ऊर्जा दिनुपर्ने ठाउँमा दबाब बनेको देखियो। ‘घरेलु समर्थन’को फाइदा लिन सक्नुभन्दा त्यसको भार बोक्नुपरेको जस्तो अनुभूति भयो।
सुदूरपश्चिम रोयल्सले यस फाइनलमा त्यही कुरामा चुक्यो। समर्थकको ठुलो उपस्थितिले आत्मविश्वास थप्नुपर्ने ठाउँमा खेलाडीहरू दबाबमा देखिए। रणनीतिमा स्पष्टता देखिएन र मैदानमा त्यो असमञ्जसको प्रभाव प्रत्यक्ष देखियो। ‘घरेलु समर्थन’को फाइदा लिन सक्नुभन्दा त्यसको भार बोक्नुपरेको जस्तो देखिनु दुःखद पक्ष रह्यो।
इतिहास र चुनौती
इतिहासमा जित्नेको नाम लेखिन्छ। लगातार दुई सिजन लिग जित्ने टोली बने पनि फाइनल जित्न नसक्नु सुदूरपश्चिमका लागि गम्भीर आत्ममूल्यांकनको विषय हो। लिग चरणको दबदबा स्मरणीय हुन्छ। लिगमा जित्नु प्रशंसनीय हुन्छ, तर ट्रफी बिना त्यो सफलताले पूर्णता पाउँदैन। यही कठोर यथार्थ सुदूरपश्चिमले दुई पटक भोगिसकेको छ। लिग जित्ने टोली बन्ने क्षमता त देखियो, तर निर्णायक क्षणमा सही निर्णय र संयमता देखाउन अझै सिक्न बाँकी छ। हारले केवल टिमलाई मात्र होइन, मैदानमा उपस्थित हजारौँ दर्शकलाई पनि निराश बनायो। यो पराजय खेलाडीभन्दा पनि समर्थकको मनमा बढी गहिरो घाउ बनेर बस्यो।

सुदूरपश्चिम रोयल्सका लागि अब लिग जित्ने टोलीबाट उपाधि जित्ने टोलीमा रूपान्तरण हुनु पर्नेछ। यो हार केवल फाइनल गुमाउनु मात्र होइन, आफ्नै सम्भावनाप्रतिको प्रश्न हो। उपस्थिति, समर्थन र विश्वास दिएर दर्शकले आफ्नो भूमिका पूरा गरिसके। अब जिम्मेवारी खेलाडी र टिम व्यवस्थापनको हो।
एनपिएल सकिएको छ। मैदान फेरी शान्त छ। तर सुदूरपश्चिम रोयल्सका लागि यो फाइनल लामो समयसम्म सम्झनामा रहनेछ। यो उपाधि असफलता चेतावनी बनेर रहनेछ। इतिहास लेख्न अझै केही सिक्न बाँकी छ भन्ने सन्देशको अर्थ बुझ्नु जरुरी छ। यदि यसबाट सही पाठ सिक्न सकियो भने, यही हार भविष्यको जितको आधार बन्न सक्छ। नत्र, ‘लिगमा बाघ, उपाधिमा...’ भन्ने परिचय अझै गहिरिँदै जानेछ।
तस्बिरहरूः क्यान
प्रकाशित: २८ मंसिर २०८२ १८:०७ आइतबार





