१० कार्तिक २०८३ मंगलबार
image/svg+xml
खेल

साझेदारीमा चुक्यो सुदूरपश्चिम

सुदूरपश्चिमको विकेट लिएपछि लुम्बिनीका खेलाडी। तस्बिर: द्वारिका काफ्ले/नागरिक

क्रिकेटमा साझेदारी महत्वपूर्ण हुने गर्दछ। सासाना साझेदारीले पनि ठूलो दबाब सिर्जना गर्न सक्छ। तब मात्र विपक्षीको बलिङमा ब्याटिङ समालिन सक्छ। तर नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सोमबार सुदूरपश्चिम रोयल्स भने यो साझेदारी बनाउन सकेन।

त्यही कमजोरीसँग पराजित हुँदा दुई संस्क्करणको फाइनलिस्ट सुदूरपश्चिमले हारबाट सुरुआत गर्नुपरेको छ। कीर्तिपुरमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्ससँग सात विकेटको हारसँगै सुदूरपश्चिमले तेस्रो सिजनको सुरुआत गर्नुपरेको छ। सुदूरपश्चिम साझेदारी निर्माण गर्न नसक्दा सस्तैमा समेटिन पुग्यो। त्यसको फाइदा लिँदै लुम्बिनीले उपाधि रक्षाको अभियान प्रभावशाली रूपमा सुरु गरेको छ। यस क्रममा लुम्बिनीले उत्कृष्ट बलिङ पनि गर्‍यो। त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले ८८ रनको सामान्य लक्ष्य दिएको थियो। लुम्बिनीले ९.५ ओभरमै मात्र तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। उत्कृष्ट बलिङसँगै सुदूरपश्चिमको ब्याटिङ क्रम ध्वस्त पारेको लुम्बिनीले गत संस्करणको फाइनलमा देखाएको दबदबा पनि दोहोर्‍यायो। गत सिजन उपाधि भिडन्तमा ८५ रनमै अलआउट भएको सुदूरपश्चिम यसपटक पनि ठूलो योगफल बनाउन असफल रह्यो।

सुदूरपश्चिमका प्रशिक्षक मिसबाह उल हकले हारपछि ब्याटरहरूलाई साझेदारीमा ध्यान दिन नसकेको कमजोरी औंल्याए। ‘पिचमा बल सुस्त हुँदा ब्याटरले धैर्य देखाउनुपर्छ। ब्याटरले साझेदारी निर्माण गर्नुपर्ने थियो। तर, ब्याटरले त्यसो गर्न नसक्दा एकपछि अर्को विकेट गुमाए,’ प्रशिक्षक मिसबाहले भने। ‘ट्रिकी’ पिचमा ब्याटरले परिस्थितिअनुसार आफूलाई ढाल्नुपर्ने प्रशिक्षक मिसबाहको भनाइ थियो। कहिलेकाहीँ यस्तो अवस्था आउने उल्लेख गर्दै उनले आगामी खेलमा सुधार गर्ने विश्वास व्यक्त गरे। उद्घाटन खेलमा सुदूरपश्चिमले रणनीतिअनुसारको संयम देखाउन सकेन। शीर्ष क्रमका ब्याटरले क्रिजमा समय बिताएनन्। सुरुआतमै दबाब बेहोर्‍यो। त्यसपछि मध्यक्रमले पनि इनिङ सम्हाल्न सकेन।

कप्तान दीपेन्द्रसिंह ऐरीले इनिङ समाल्न खोजे। उनी पनि सफल भएनन्। उनी २७ रनमै आउट भए। सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमा अलआउट हुन पुग्यो। टोलीका तीन ब्याटरले मात्रै दोहोरो अंकमा रन बनाए। कप्तान दीपेन्द्रले २३ बलमा दुई चौका हिर्काए। तल्लो क्रममा अनिल खरेल १५ रनमा अविजित रहे। ओपनर सइब जैबले १३ रन जोडे। अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन असफल भए। लुम्बिनीको बलिङ आक्रमणसामु सुदूरपश्चिमले सुरुदेखि नै संघर्ष गर्‍यो। मध्यम गतिका बलर किशोर महतो र स्पिनर शेर मल्लले संयुक्त रूपमा सात विकेट लिए। यसपछि सुदूरपश्चिमको ब्याटिङ सम्हालिन सकेन। किशोरले चार र शेरले तीन विकेट लिए। शेरले चार ओभरमा मात्र ११ रन खर्चिएर विपक्षी ब्याटरलाई दबाबमा राखे। लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए।

उक्त निर्णय सही साबित भयो। सुदूरपश्चिमका ब्याटरले ठूलो सट खेल्ने प्रयासमा विकेट गुमाइरहँदा लुम्बिनीका बलरले योजनाअनुसार बलिङ गरे। सुदूरपश्चिमको सुरुआत नै कमजोर रह्यो। ओपनर विनोद भण्डारी ९ रनमा आउट भए। आरिफ शेखले खाता खोल्न सकेनन्। ब्रेन्डन म्याकमुलन २ रनमै पभेलियन फर्किए। अर्का ओपनर सइबले १३ रन बनाए। ५.४ ओभरमा ३४ रन जोड्दा सुदूरपश्चिमले चार विकेट गुमाइसकेको थियो। तेस्रो ओभरमै एनपिएलको पहिलो रिभ्यु लिइएको थियो। यसै सिजनदेखि डिआरएसको सुरुआत भएको हो। जसमा पहिलो खेलमा राम्रो सदुपयोग भयो। शेरको बलमा सइबविरुद्ध लुम्बिनीले एलबिडब्लुको अपिल गर्दै रिभ्यु लिएको थियो। तर, उक्त निर्णय लुम्बिनीको पक्षमा आएन। रिभ्यु सफल नभए पनि शेरले सुदूरपश्चिमका ब्याटरलाई निरन्तर दबाबमा राखे।

सुरुआती चार विकेट गुमाएपछि सुदूरपश्चिम समालिन खोज्यो। तर, ईशान पाण्डे ७ रन र सेरफान रुथरफर्ड एक रनमा आउट भए। टोलीको संकट झन् बढ्यो। स्कट कुग्गेलिन २ बल खेलेर खाता नखोली फर्किए। ९.४ ओभरमा ५६ रन जोड्दा सुदूरपश्चिमका सात ब्याटर पभेलियन पुगिसकेका थिए। १२औं ओभरमा किशोरको बलमा दीपेन्दै बोल्ड भए। दीपेन्द्रको विकेटपछि सुदूरपश्चिमको पुनरागमन असम्भव बन्यो। त्यसपछि किशोरले हेमन्त धामीलाई पनि बोल्ड गर्दै व्यक्तिगत चौथो विकेट लिए। ह्याट्रिकको अवसर पाए पनि उनी सफल हुन सकेनन्। लुम्बिनीका साड्ले भान र तिलक भण्डारीले पनि एक विकेट लिए। लुम्बिनीले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्‍यो। ओपनर डार्सी सट र आसिफ शेखले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेपछि लुम्बिनी सहज जिततर्फ अघि बढ्यो।

डार्सीले १८ बलमा चार चौका र तीन छक्कासहित ४० रन बनाए। आसिफले २५ बलमा समान दुई चौका र छक्कासहित ३२ रन जोडे। डार्सी र आसिफको आक्रामक सुरुआतले लुम्बिनीलाई लक्ष्यसम्म पुग्न सहज बनायो। दुवैले पावरप्लेको फाइदा उठाए।  सुदूरपश्चिमका स्पिनर अनिल खरेलले सातौं ओभरमा डार्सीलाई आउट गर्दै साझेदारी तोडे। उनले नवौं ओभरमा आसिफलाई पनि पभेलियन फर्काए। त्यसपछि निरोसान डिकवेला सात रनमा आउट भए। उनलाई कप्तान दीपेन्द्रसिंह ऐरीले बोल्ड गरे। तर, त्यसले लुम्बिनीको जित रोकेन। सुदूरपश्चिमका विदेशी बलर स्कट कुग्गेलिनले दुई ओभरमा ३० रन खर्चिए। जितपछि लुम्बिनीका बलर किशोर महतोले आधारभूत पक्षमा ध्यान दिँदै रणनीतिअनुसार बलिङ गर्दा सफलता मिलेको बताए।

पिचले बलरलाई सहयोग गरेको उल्लेख गर्दै उनले प्रशिक्षक र कप्तान रोहित पौडेलको योजनाअनुसार बलिङ गर्न सकेको उल्लेख गरे। स्टार विदेशी खेलाडी भित्याउन नसकेको आरोप लागेको लुम्बिनीले उद्घाटन खेलमा जित निकाल्दै उपाधि रक्षा गर्ने संकेत गर्‍यो। मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज भिड्नेछन् भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १० कार्तिक २०८३ ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App