१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml
खेल

पावरप्लेमा सुदूरपश्चिमको ५१ रन, गुमायो दुई विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले पावरप्लेमा २ विकेट गुमाएर ५१ रन जोडेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरुवाती ६ ओभरमा सुदूरपश्चिमले ८.५० को औसतमा रन बटुलेको हो। जितका लागि अब सुदूरपश्चिमलाई ८४ बलमा ९५ रनको आवश्यकता छ।

पावरप्ले सकिँदा क्रिजमा ओपनर सेफ जेब १६ बलमा १५ रन र कप्तान दीपेन्द्रसिंह ऐरी ६ बलमा १ चौकासहित ६ रन बनाएर खेलिरहेका छन्।

सुदूरपश्चिमले पहिलो ओभरको पाँचौं बलमै ओपनर विनोद भण्डारीलाई गुमाएको थियो। भण्डारी २ बलमा १ चौका प्रहार गर्दै ४ रनमा धनञ्जय लक्षणको बलमा बोल्ड भए।

त्यसपछि क्रिजमा आएका ब्रान्डन म्याकमुलनले आक्रामक ब्याटिङ गर्दै १२ बलमा २ चौका र १ छक्कासहित २२ रन जोडे। उनी पाँचौं ओभरको चौथो बलमा अनुभवी स्पिनर शकिब अल हसनको बलमा एलबीडब्लु आउट भए।

पोखरा एभेन्जर्सका लागि शकिब अल हसनले १ ओभरमा ८ रन खर्चेर १ विकेट लिएका छन् भने धनञ्जय लक्षणले २ ओभरमा १७ रन खर्चेर १ विकेट लिए।

यस्तै, महेदी हसनले २ ओभरमा १३ रन र विपिन खत्रीले १ ओभरमा ९ रन खर्चिएका छन्। पोखराले अतिरिक्त स्वरूप ४ रन दिएको छ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो।

प्रकाशित: ११ कार्तिक २०८३ १९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App