पाकिस्तानकी कप्तान फातिमा सनाको उत्कृष्ट अलराउन्ड प्रदर्शनलाई पछि पार्दै श्रीलंका महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ। दुबईमा भएको सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै श्रीलंकाले लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो।
पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १३० रन बनाएको थियो। फातिमा सनाले ३६ बलमा ४७ रनको आक्रामक इनिङ खेल्दै पाकिस्तानलाई सम्मानजनक योगफलसम्म पुर्याइन्। बलिङतर्फ पनि उनले ३८ रन खर्चेर ४ विकेट लिइन्।
श्रीलंकाले १३१ रनको लक्ष्य पछ्याउने क्रममा सुरुआतमै दबाब झेल्यो। टोली ५ रनमै २ विकेट र ३३ रनमा ४ विकेट गुमाएर संकटमा परेको थियो। तर हर्षिता समरविक्रमाले ३१ बलमा ३६ तथा काविशा दिल्हारीले ३३ बलमा ३३ रन बनाएपछि श्रीलंकाले खेलमा पुनरागमन गर्यो। उनीहरूले ५९ बलमा ६७ रनको महत्वपूर्ण साझेदारी गरे।
फातिमाले पुनः दुई विकेट लिएर पाकिस्तानलाई खेलमा फर्काउने प्रयास गरिन्। उनले समरविक्रमा र दिल्हारीलाई आउट गरे पनि श्रीलंकाको ब्याटिङ गहिराइ पाकिस्तानका लागि भारी पर्यो।
निलाक्षिका सिल्भा र कौशिनी नुथ्यांगनाले टोलीलाई जितसम्म पुर्याए। श्रीलंकाले १९औँ ओभर पूरा हुनुअघि नै लक्ष्य भेट्टायो।
श्रीलंकाका खेलाडीहरू जितको खुसी मनाइरहँदा फातिमा भने निराश हुँदै मैदानमा भावुक देखिइन्। हारका बाबजुद उनको अलराउन्ड प्रदर्शन सेमिफाइनलको मुख्य आकर्षण बन्यो। श्रीलंकाले अब फाइनलमा भारतसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: २७ भाद्र २०८३ १२:२६ शनिबार





