नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा बलर सोमपाल कामी आउँदो पुरुष टी–२० विश्वकपमा तेस्रो पटक नेपालको प्रतिनिधित्व गर्दैछन्। हालको टोलीमा तीन पटक विश्वकप खेल्न लागेका उनी एक्ला खेलाडी हुन्, जसले नेपाली क्रिकेट इतिहासमा अर्को महत्वपूर्ण अध्याय थपेका छन्।
भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुन लागेको १०औँ संस्करणको टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ। यस प्रतियोगितामा नेपाल समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक सहभागी हुन लागेको हो।
विश्वकपमा राष्ट्रको जर्सी लगाउन पाउँदाको अनुभूति शब्दमा बयान गर्न गाह्रो हुने सोमपाल बताउँछन्। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको भिडियोमा उनले भने,‘एकदमै राम्रो महसुस भइरहेको छ। देशको प्रतिनिधित्व गर्न पाउनु नै ठूलो गर्वको कुरा हो। अझ लगातार विश्वकप खेल्न पाएका छौँ, यसले झनै खुसी बनाएको छ।’
सन् २०१४ मा नेपाल पहिलो पटक टी–२० विश्वकपमा छनोट भएदेखि अहिलेसम्मको यात्रामा सोमपाल नेपाली क्रिकेटका दरिला सारथी बनेका छन्। त्यो समय सम्झँदै उनले भने, ‘२०१४ मा पहिलो पटक विश्वकप खेल्न जाँदा टोली अत्यन्तै उत्साहित थियो। त्यो बेला म सिक्दै थिएँ, पहिलो विश्वकप थियो। अहिले लगाइरहेको जर्सी पनि मेरो लागि हरेक पटक नयाँ अनुभव जस्तै लाग्छ।’
हालको राष्ट्रिय टोलीमा सबैभन्दा अनुभवी खेलाडीसमेत रहेका सोमपालको नेतृत्व र अनुभव नेपालका लागि ठूलो पूँजी मानिन्छ। विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ, जहाँ इंग्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग प्रतिस्पर्धा हुनेछ।
नेपालले माघ २५ गते इंग्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। अनुभवी सोमपाल र उत्साही टोलीसँगै नेपाली क्रिकेट समर्थकहरू पनि फेरि एकपटक विश्वमञ्चमा ऐतिहासिक प्रदर्शनको अपेक्षामा छन्।
प्रकाशित: १६ माघ २०८२ १८:०६ शुक्रबार





