नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा कर्णाली याक्सले दिएको १ सय ८१ रनको बलियो लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाजले पहिलो विकेटको रूपमा स्टार ओपनर डेभिड वार्नरलाई गुमाएको छ।
विस्फोटक सुरुवात गर्ने संकेत देखाएका वार्नरलाई कर्णाली याक्सका कप्तान सोमपाल कामीले दोस्रो ओभरको अन्तिम बलमा बोल्ड आउट गरेका हुन्। वर्नरले १० बल खेल्दै ३ चौकाको मद्दतमा १६ रन बनाए। उनी आउट हुँदा काठमाडौंले १.६ ओभरमा १८ रन जोडेको थियो।
ताजा स्थितिमा काठमाडौं गोर्खाजले ३.१ ओभरमा १ विकेट गुमाएर २७ रन बनाएको छ। क्रिजमा स्मित पटेल ८ र मोहम्मद आदिल आलम २ रन बनाएर खेलिरहेका छन्। काठमाडौंलाई जितका लागि अब १०१ बलमा १ सय ५४ रनको आवश्यकता छ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रनको विशाल योगफल खडा गरेको थियो।
कर्णालीका लागि अरिफुल इस्लामले २२ बलमा ४४ रनको आक्रामक इनिङ्स खेलेका थिए भने हुसेन तलतले ४०, पवन सर्राफले अविजित ३० र गुलशन झाले २० रन जोडेका थिए।
काठमाडौं गोर्खाजका कप्तान करण केसीले २ विकेट लिए भने शहाब आलम, जहानदाद खान, देव शाह र सन्तोष यादवले १-१ विकेट हात पारेका थिए। खेल रोमाञ्चक मोडमा जारी छ।
प्रकाशित: १६ कार्तिक २०८३ १४:५३ सोमबार





