मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर मेन्स कप एकदिवसीय क्रिकेट प्रतियोगितामा साउदी अरेबियाले नेपाललाई १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिला ब्याटिङ गरेको साउदी ४९.२ ओभरमा १९० रनमा समेटियो। उसका लागि अब्दुल वाहिदले ७७ तथा महम्मुद अतिफले ३० रनको जोडे। नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ३-३ तथा ललित नारायण राजवंशीले २ विकेट हात पारे। नेपाल र साउदी अरेबियाबीचको प्रतिस्पर्धा क्लालालम्पुरस्थित वायुमास ओभलको मैदानमा भइरहेको हो । नेपाल अबको केहीबेरमा जबाफी ब्याटिङको लागि मैदानमा उत्रिँदैछ।
नेपाल आज पनि आफ्नो जित यात्रा जारी राख्न चाहन्छ। नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः बहराइनलाई सात विकेट र आयोजक मलेसियालाई छ विकेटले हराएको थियो । नेपाली टोलीसामु आज जित निकालेर एक खेलअगावै सेमिफाइनलमा स्थान बनाउने मौका छ । समूह ‘ए’ मा रहेको नेपाल ताजा अवस्थामा दुई खेलबाट चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपालविरुद्ध खेल्ने साउदी अरेबिया भने तीन खेलबाट दुई अङ्कसहित तालिकाको पुछारमा छ ।
प्रकाशित: २१ भाद्र २०८३ १०:३४ आइतबार


-600x400.jpg)


