२४ मंसिर २०८२ बुधबार
image/svg+xml
खेल

सामाद्वारा खेलाडीत्रय सम्मानित

खेलाडीहरू सम्मान भएपछिको सामूहिक तस्बिर। तस्बिर: नागरिक।

थुलुङ (राई) सामा केन्द्रीय सरोकार समितिले यू-२० महिला फुटबल टोलीका खेलाडीत्रय पूर्णिमा राई, सिम्रन राई र अनिशा राईलाई सम्मान गरेको छ। सामाले मङ्गलबार (आज) किरात राई यायोक्खाको केन्द्रीय कार्यालय, काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच जनही २५/२५ हजार नगदसहित सम्मान गरेको हो।

उनीहरूलाई सामाका कार्यवाहक अध्यक्ष मुकुन्द राई, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईलगायत सहभागीहरूले खादामाला तथा नगद दिएर सम्मान गरेका हुन्।

सम्मानित खेलाडीहरू: पूर्णिमा, सिम्रन र अनिशा। तस्बिर: नागरिक।

उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सम्मान गरिएको सामाका कार्यवाहक अध्यक्ष मुकुन्द राईले बताएका छन्। उनका अनुसार संस्थाले आगामी दिनमा पनि संस्थागत क्षमता र खेलाडीहरूको आवश्यकताअनुसार भावी दिनमा पनि प्रोत्साहन र सहयोग गर्दै जानेछ। ‘आज जे-जति गर्न सकेका छौँ, यो विशुद्ध प्रोत्साहनस्वरूप हो। पछिका दिनहरूमा पनि संस्थागत रूपमा गर्न सकिने कुरामा हामी छँदैछौँ,’ कार्यवाहक अध्यक्ष राईले भने।

यस्तै कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले पनि सम्मानका लागि सामालाई धन्यवाद दिँदै खेलाडीहरू देशको चिनारी भएको बताए। खेलाडीहरूलाई थप प्रगतिका लागि प्रेरणा दिँदै उनले आफ्नो ठाउँबाट सहयोग-समर्थनका लागि यायोक्खा सधैँ खडा रहेको बताए। ‘तपाईंहरू आफ्नो ठाउँबाट राम्रो गर्नुहोला,’ अध्यक्ष राईले भने, ‘आवश्यकताअनुसार सहयोग-समर्थनका लागि संस्थागत रूपमा हामी भइहाल्छौँ। आज जसरी देशको प्रतिनिधित्व गरेर विभिन्न देशमा खेलिरहनुभएको छ, यो हाम्रो समुदायका लागि मात्रै होइन, देशकै गौरव हो।’

सम्मानित खेलाडीहरूलाई शुभकामना दिँदै विभिन्न संस्थाका पदाधिकारी। तस्बिर: नागरिक। 

यस्तै शुभकामना मन्तव्य दिएका सामाका सल्लाहकार खुक्सङ खम्बु राई, किरात राई यायोक्खाकी केन्द्रीय सदस्य प्रमिल राई, किरात राई विद्यार्थी सङ्घका अध्यक्ष शोभित राई, किरात राई यायोक्खाका सल्लाहकार चन्द्रविक्रम राईलगायतले पनि खेलाडीहरूको उज्जवल भविष्यको कामना गर्दै इमान्दार र खेलमा एकाकार भएर खेल्न सुझाव दिए।

प्रकाशित: २७ श्रावण २०८२ २१:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App