२०२६ विश्वकपको अन्तिम १६ अन्तर्गत मंगलबार अर्जेन्टिना र इजिप्ट भिड्दैछन्। एटलान्टामा हुन लागेको खेल नेपाली समय अनुसार मंगलबार राति ९ः४५ बजेबाट सुरु हुँदैछ।
यो खेल क्वार्टरफाइनल पुग्ने अवसर मात्र नभएर विश्व फुटबलका दुई महान खेलाडी लियोनेल मेस्सी र मोहम्मद सलाहबीचको विशेष भिडन्त पनि हो।
३९ वर्षीय मेस्सी र ३४ वर्षीय सलाह दुवै सम्भवतः आफ्नो करियरको अन्तिम विश्वकप खेल्दैछन्। मेस्सीले यो आफ्नो अन्तिम विश्वकप हुन सक्ने संकेत गरिसकेका छन् भने सलाहले अझै २०३० विश्वकप खेल्ने आशा राखेका छन्।
विश्वकपमा भने दुवैको यात्रा फरक छ। मेस्सी विश्वकप विजेता हुन्। उनले प्रतियोगितामा धेरै कीर्तिमान बनाएका छन् र यस पटक पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। अर्कोतर्फ, सलाहले पहिलोपटक इजिप्टलाई विश्वकपको नकआउट चरणसम्म पुर्याएका छन्।
अर्जेन्टिनामा अहिले लगातार दोस्रो विश्वकप जित्ने दाउमा छ। मेस्सीले यस विश्वकपमा सात गोल गर्दै उत्कृष्ट लय कायम राखेका छन्। साथै उनी विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी समेत बने। ३९ वर्षको उमेरमा पनि उनी युवा खेलाडीझैँ खेलिरहेका छन्।
मेस्सीले विश्वकप (कतार २०२२) र दुई कोपा अमेरिका उपाधि (ब्राजिल २०२१ र संयुक्त राज्य अमेरिका २०२४) दिलाएका थिए।
प्रशिक्षक लियोनेल स्कालोनीले भने मेस्सीमा मात्र निर्भर नहुने बताएका छन्। लाउटारो मार्टिनेज, जुलियन अल्भारेज, एन्जो फर्नान्डेज र एलेक्सिस म्याक एलिस्टरजस्ता खेलाडीले पनि टोलीको सफलतामा महत्वपूर्ण योगदान दिएका छन्।
यता इजिप्टमा सलाह केवल फुटबल खेलाडी मात्र होइनन्, राष्ट्रिय गौरवका प्रतीक हुन्। सानो गाउँबाट विश्व फुटबलको शीर्ष स्थानसम्म पुगेको उनको यात्राले लाखौं इजिप्टियनलाई प्रेरणा दिएको छ।
सलाहको नेतृत्वमा इजिप्टले पहिलो पटक विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ। अष्ट्रेलियामाथिको जितपछि देशभर उत्सव मनाइएको थियो। इजिप्टका घर, पसल र गाडीहरूमा राष्ट्रिय झण्डा फहराइएको छ भने क्याफेहरू खेल हेर्न आउने समर्थकले भरिन थालेका छन्। समर्थकहरूका लागि सलाह आशा, आत्मविश्वास र एकताको प्रतीक बनेका छन्।
मंगलबार हुने यस रोमाञ्चक हुने आशा गरिएको छ। अर्जेन्टिना लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ भने इजिप्ट इतिहास रच्ने दाउमा छ। मेस्सी र सलाहमध्ये कसको यात्रा अघि बढ्छ भन्ने निर्णय मैदानमा हुनेछ।
प्रकाशित: २३ असार २०८३ १७:४२ मंगलबार





