२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
खेल

रोनाल्डोले भने : प्रशिक्षकले वाचा तोडेपछि राष्ट्रिय टोलीको क्याम्प छाडेँ

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प अचानक छाड्नुको कारण प्रशिक्षक जोर्गे जेसुससँगको विवाद भएको बताएका छन्।

नर्वेविरुद्धको खेलमा आफूलाई नखेलाउने सहमति प्रशिक्षक जेसुसले तोडेपछि क्याम्प छाडेको रोनाल्डोले बताएका हुन्। उनले आफू राष्ट्रिय टोलीबाट टाढिने निर्णय नगरेको स्पष्ट पार्दै आगामी खेलमा पनि पोर्चुगलका लागि उपलब्ध रहने बताएका छन्।

मंगलबार सार्वजनिक गरेको लामो वक्तव्यमा रोनाल्डोले नर्वे र डेनमार्कविरुद्धका दुवै खेलमा आफूलाई आराम दिने विषयमा जेसुससँग सहमति भएको दाबी गरेका छन्। तर नर्वेविरुद्धको खेलको दिन बिहान आफूलाई करिब ३० मिनेट खेलाउने जानकारी दिइएको उनले बताए।

‘सबैलाई बाँकी कुरा थाहा छ। मैले दोस्रो हाफदेखि वार्मअप गरेँ, मिनेटहरू बितिरहेको हेरेँ तर मलाई मैदानमा पठाइएन,’ रोनाल्डोले भनेका छन्।

उनले प्रशिक्षकले आफूसँग गरेको वाचा दोस्रोपटक तोडेको दाबी गरेका छन्। ‘प्रशिक्षकले मसँग गरेको वाचा तोडे। यो दोस्रोपटक थियो। थप वाचा तोडिने प्रतीक्षा नगरी प्रशिक्षण क्याम्प छाड्ने निर्णय गरेँ,’ उनले भने।

रोनाल्डोले आफ्नो व्यवहारका कारण पोर्चुगलका समर्थक र टोलीका सहकर्मीसँग माफी पनि मागेका छन्। पोर्चुगिज फुटबल महासंघले आफूलाई कुनै कारबाही गरे त्यसलाई स्वीकार गर्ने उनले बताएका छन्।

तर ४१ वर्षीय रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्यास लिने संकेत भने दिएका छैनन्। आफू शारीरिक रूपमा फिट रहेर क्लबका लागि खेलिरहेको अवस्थामा प्रतिबन्ध पूरा गरेपछि पनि राष्ट्रिय टोलीका लागि उपलब्ध रहने उनले स्पष्ट पारेका छन्।

‘म राष्ट्रिय टोलीका लागि सधैँ उपलब्ध रहनेछु। जब म राष्ट्रिय टोलीबारे सोच्दछु, मेरो सोच प्रतिस्पर्धा गर्ने र जित्नेमा हुन्छ,’ रोनाल्डोले भनेका छन्।

रोनाल्डोले आफ्नो बिदाइ खेलबारे भइरहेका चर्चाप्रति पनि प्रतिक्रिया दिएका छन्। पोर्चुगलबाट बिदाइका लागि एक वा एकभन्दा बढी खेल हुने भए पनि त्यसका लागि अझै समय रहेको र आफू अहिले बिदाइभन्दा प्रतिस्पर्धामा केन्द्रित रहेको उनले बताएका छन्। रोनाल्डोले पोर्चुगलका लागि २३४ खेल खेल्दै १४६ गोल गरेका छन्।

प्रकाशित: २१ आश्विन २०८३ ०७:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App