२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml
खेल

रोहितको सन्तुलित अर्धशतक, जितको संघारमा नेपाल

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी १०६ औं खेलमा नेपालले स्कटल्यान्डविरुद्ध सहज जिततर्फ पाइला चालेको छ।

कप्तान रोहित पौडेलको संयमित अर्धशतकको मद्दतले नेपाल जितको नजिक पुगेको हो।

स्कटल्यान्डले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याइरहेको नेपालले ३१.२ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १६७ रन बनाएको छ।

नेपाललाई अब जितका लागि १८.५ ओभरमा मात्र २८ रन आवश्यक छ। मैदानमा कप्तान रोहित पौडेल ५० रन बनाएर खेलिरहेका छन्। उनले ७९ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरेका छन्।

कठिन समयमा क्रिजमा आएका रोहितले एकतर्फबाट इनिङ्स सम्हाल्दै टोलीलाई जिततर्फ डोर्‍याएका हुन्। उनलाई साथ दिन आरिफ शेख क्रिजमा छन्।

यसअघि नेपालका लागि इशान पाण्डेले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले। उनले ६१ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५५ रन जोडे। इशान र रोहितबीच तेस्रो विकेटका लागि महत्वपूर्ण साझेदारी भएको थियो।

इशान २९.५ ओभरमा मार्क वाटको बलमा क्याच आउट हुन पुगे। नेपालले ओपनिङमा पनि राम्रो सुरुवात पाएको थियो। ओपनर आसिफ शेखले १७ बलमा २९ रनको आक्रामक पारी खेले भने कुशल भुर्तेलले २७ बलमा २८ रन जोडे।

आसिफ रनआउट भएका थिए भने कुशललाई ब्रान्डन म्याकमुलनले एलबीडब्लू धरापमा पारेका थिए। मध्यक्रमका ब्याटर दीपेन्द्र सिंह ऐरी भने मात्र २ रन बनाएर आउट भए।

स्कटल्यान्डका तर्फबाट मार्क वाटले ८.२ ओभरमा ५३ रन खर्चेर २ विकेट लिएका छन्। त्यस्तै, ब्रान्डन म्याकमुलनले ३ ओभरमा १ मेडन राख्दै ५ रन दिएर १ विकेट चट्काए।

ब्राड कुरी, ओलिभर डेभिडसन, ओली जोन्स र माइकल लीस्कले भने विकेट लिन सकेका छैनन्। नेपालको ब्याटिङ लाइनअपमा अझै गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी बाँकी छन्।

प्रकाशित: ४ जेष्ठ २०८३ १४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App