रियल मड्रिडले प्रशिक्षक जोसे मोरिन्होको पुनरागमनपछि पहिलो हार बेहोरेको छ। स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग १-० गोलले पराजित भयो।
खेलको ८१औँ मिनेटमा ट्रोय पारोटले गरेको गोल बेटिसको जितका लागि निर्णायक बन्यो। नेल्सन डिओसाको हेडर रियलका गोलरक्षक थिबाउ कोर्टुवाले बचाए पनि रिबाउन्डमा प्राप्त बललाई पारोटले जाली चुमाउँदै बेटिसलाई अग्रता दिलाए।
रियलसँग खेल बराबरी गर्ने थुप्रै अवसर थिए। किलियन एमबाप्पेले पहिलो हाफमै दुई उत्कृष्ट मौका गुमाए भने दोस्रो हाफमा जुड बेलिङ्घमको प्रयासलाई बेटिसका गोलरक्षक अल्भारो भायेसले बचाए। एमबाप्पेको शक्तिशाली प्रहार पाँच मिनेट बाँकी रहँदा क्रसबारमा लागेर फर्किएको थियो।
इन्जुरी समयको चौथो मिनेटमा भिनिसियस जुनियरलाई पेनाल्टी क्षेत्रमा लडाइएपछि रियलले बराबरी गर्ने ठूलो अवसर पायो। तर एमबाप्पेको कमजोर पेनाल्टीलाई गोलरक्षक भायेसले सहजै बचाए। रियलका कार्लोस एस्पीले गरेको आकर्षक गोल पनि भीएआर पछि अफसाइडका कारण मान्य भएन।
मोरिन्हो १३ वर्षपछि रियलको प्रशिक्षकका रूपमा फर्किएपछि टोलीले सुरुआती तीन खेल लगातार जितेको थियो। तर बेटिससँगको हारसँगै रियलको अपराजित यात्रा टुंगिएको छ। सन् २०१४-१५ सिजनपछि पहिलोपटक रियलले लिगका सुरुआती चारमध्ये एक खेलमा हार बेहोरेको हो।
अब बार्सिलोनासँग रियलमाथि तीन अंकको अग्रता बनाउने अवसर आएको छ। बार्सिलोनाले आइतबार भ्यालेन्सियाको सामना गर्नेछ।
त्यस्तै, ला लिगामा आज राति पनि तीन खेल हुँदैछन्। सबैभन्दा आकर्षक खेलमा एथ्लेटिक बिल्बाओले एट्लेटिको मड्रिडको सामना गर्नेछ। यस्तै, आजै हुने अन्य खेलमा रायो भाल्लेकानो र रेसिङ सान्तान्देर तथा भिल्लारियल र डेपोर्टिभो ला कोरुन्या एक आपसमा भिड्नेछन्।
प्रकाशित: २० भाद्र २०८३ ०६:५७ शनिबार





