यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजनको सुरुवात रोमाञ्चक बनेको छ। गएराति भएको लिग चरणका ६ खेलमा रियल मड्रिड, म्यानचेस्टर सिटी, एस्टन भिल्ला, बोरुसिया डर्टमन्ड, रियल बेटिस र एईके एथेन्सले विजयी सुरुवात गरेका छन्।
सबैभन्दा चर्चित खेलमा रियल मड्रिडले इन्टर मिलानलाई २-१ ले पराजित गर्यो। रियलका लागि किलियन एमबाप्पे र फेडे भाल्भेर्देले गोल गरे। इन्टरका कार्लोस अगस्टोले एक गोल फर्काए पनि रियलले घरेलु मैदानमा तीन अंक सुरक्षित गर्यो।
म्यानचेस्टर सिटीले पोर्टोलाई २-० ले हराउँदै प्रभावशाली सुरुवात गर्यो। सिटीको जितमा एर्लिङ हालान्ड नायक बने। उनले दोस्रो हाफमा दुई गोल गर्दै टोलीलाई जित दिलाए।
एस्टन भिल्लाले क्लब ब्रुगेलाई ३-२ ले पराजित गर्यो। भिल्लाका जोन म्याकगिन, एमी बुएन्डिया र निकोलस ज्याक्सनले गोल गरे। यस्तै, बोरुसिया डर्टमन्डले भिल्लारियललाई ३-२ ले हरायो।
रियल बेटिसले दुईपटक पछि परेको अवस्था उल्टाउँदै लिललाई ३-२ ले पराजित गर्यो। अर्को खेलमा एईके एथेन्सले लास्कलाई १-० ले हराउँदै तीन अंक जोड्यो।
पहिलो दिनका खेल सकिएसँगै अब आज राति पनि थप ६ खेल हुँदैछन्। बार्सिलोनाले फेयेनोर्डसँग खेल्दा स्टुटगार्टले भाइकिन्गको सामना गर्नेछ।
यस्तै, लिभरपुलले एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दा साविक विजेता पेरिस सेन्ट जर्मेनले स्लोभान ब्राटिस्लाभाको सामना गर्नेछ। स्पोर्टिङ सीपी र गलातासारे तथा नापोली र आर्सनलबीच पनि प्रतिस्पर्धा हुनेछ।
आज रातिका खेलमध्ये लिभरपुल-एट्लेटिको मड्रिड र नापोली-आर्सनलको भिडन्तलाई विशेष रूपमा हेरिएको छ। बार्सिलोना र पीएसजी पनि च्याम्पियन्स लिग अभियानको पहिलो खेलबाटै विजयी सुरुवात गर्ने लक्ष्यमा मैदान उत्रनेछन्।
प्रकाशित: २४ भाद्र २०८३ ०६:३१ बुधबार





