रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) लगातार दोस्रो सिजन इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सलाई ९२ रनको विशाल अन्तरले पराजित गर्दै बैंगलोरले फाइनलको यात्रा तय गरेको हो।
पराजित गुजरातले भने फाइनल प्रवेशका लागि अब एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। बुधबार नयाँ चण्डीगढमा हुने एलिमिनेटर खेलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स भिड्दै छन्।
हिमाचलको धर्मशालास्थित एचपीसीए स्टेडियममा भएको क्वालिफायर-१ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल लक्ष्य दिएको थियो। बैंगलोरका लागि कप्तान रजत पाटीदारले ३३ बलमा ५ चौका र ९ छक्कासहित अविजित ९३ रनको विष्फोटक इनिङ खेलेका थिए।
बैंगलोरलाई प्रारम्भमै आक्रामक सुरुवात दिलाउने क्रममा वेंकटेश अय्यरले ७ बलमा १९ रन जोडे। त्यसपछि विराट कोहली र देवदत्त पडिक्कलले इनिङलाई अगाडि बढाए। कोहलीले २५ बलमा ४३ रन र पडिक्कलले १९ बलमा ३० रन बनाए। चौथो विकेटका लागि कप्तान पाटीदार र कृणाल पाण्ड्याबीच ९५ रनको बलियो साझेदारी भयो। पाण्ड्याले २८ बलमा ४३ रन जोडे। अन्तिम ओभरमा जितेश शर्माले ५ बलमा १५ रन बनाउँदै टोलीको योगफल २५० पार गराए। गुजरातका तर्फबाट कागिसो रबाडा र जेसन होल्डरले २–२ विकेट लिए।
२५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा मात्र १६२ रनमा समेटियो। गुजरातको सुरुवात निकै खराब रह्यो। प्रारम्भिक ब्याटर साई सुदर्शन १४ रनमा हिट-विकेट आउट भए भने कप्तान शुभमन गिल मात्र २ रनमा पभेलियन फर्किए। जोस बटलरले ११ बलमा २९ रन जोड्दै केही आशा जगाए पनि जोश हेजलवुडले उनलाई बोल्ड गरे। ५१ रन जोड्दा गुजरातले आफ्ना ५ महत्त्वपूर्ण विकेट गुमाइसकेको थियो।
मध्यक्रमका ब्याटर राहुल तेवाटियाले एक छेउबाट संघर्ष गर्दै ४३ बलमा ८ चौका र ४ छक्काको मद्दतले ६८ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। खेलको अन्तिम विकेटका रूपमा मोहम्मद सिराजलाई टिम डेभिडको हातबाट क्याच गराउँदै कृणाल पाण्ड्याले बैंगलोरको जित सुनिश्चित गरे।
बैंगलोरका लागि ज्याकब डफीले ३ विकेट लिएका थिए भने कृणाल पाण्ड्या, भुवनेश्वर कुमार र रसिक सलामले २–२ विकेट बाँडेका थिए।
प्रकाशित: १३ जेष्ठ २०८३ ०६:४७ बुधबार



-600x400.jpg)

