३ जेष्ठ २०८३ आइतबार
image/svg+xml
खेल

रौतामाई भलिबलको उपाधि संखुवासभाको पाँचखपनलाई

उदयपुरको रौतामाई गाउँपालिकाको आयोजनामा बिहीबार सम्पन्न अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि संखुवासभाको पाँचखपन गाउँपालिकाले जितेको छ। नयाँ वर्ष २०८३ को अवसरमा वैशाख १ गतेदेखि सुरु भएर वैशाख ३ गते सम्पन्न प्रतियोगिताको फाइनलमा पाँचखपनले आयोजक रौतामाई युवा क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।

रौतामाई–६ स्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रौतापोखरीको खेलमैदानमा नकआउट प्रणालीमा सञ्चालन गरिएको प्रतियोगिता ‘बेस्ट अफ फाइभ’ ढाँचामा खेलाइएको थियो। प्रतियोगितामा फाइनलसम्म पुगेका चार टोलीमध्ये उत्कृष्ट बनेका आयोजक र पाँचखपनबीच उपाधिका लागि अन्तिम प्रतिस्पर्धा भएको रौतामाई गाउँपालिका युवा तथा खेलकुद विकास समितिले जनाएको छ।

विजेता पाँचखपन गाउँपालिकाले उपाधिसहित ७० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेको छ। बिहीबार साँझ आयोजित समापन समारोहमा गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले विजेता टोलीलाई नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरे।

उपविजेता आयोजक रौतामाई युवा क्लबले ४० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। प्रतियोगितामा फाइनल चरणसम्म पुगेका किरात राई यायोक्खा र त्रियुगा नगरपालिका–८ राजाबासले समान १५ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

गाउँपालिका खेलकुद विकास समितिले वार्षिक कार्यतालिका अनुसार हरेक वर्ष नयाँ वर्षको अवसरमा रौतापोखरीमा अन्तरजिल्लास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ। यस वर्ष पनि गाउँपालिकाको प्रायोजनमा प्रतियोगिता सम्पन्न गरिएको हो।

प्रतियोगितामा उदयपुरका रौतामाई, लिम्चुङबुङ, ताप्ली, त्रियुगा लगायत स्थानीय तहका साथै छिमेकी जिल्ला खोटाङ र संखुवासभाका गरी २२ टोलीको सहभागिता रहेको गाउँपालिका युवा तथा खेलकुद समितिले जनाएको छ।

प्रकाशित: ३ वैशाख २०८३ २१:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App