पाकिस्तानका २१ वर्षीय तीव्र गतिका बलर रजाउल्लाहले टेस्ट डेब्युमा गरेको विस्फोटक ब्याटिङले इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टलाई रोमाञ्चक मोडमा पुर्याएको छ। एक समय सहज जिततर्फ अघि बढेको इंग्ल्यान्डलाई रजाउल्लाहले आक्रामक ब्याटिङ गर्दै रोकिदिएपछि शनिबार पनि एजबास्टनमा खेल जारी रहने भएको छ।
पाकिस्तान ३१८ रनमा ८ विकेट गुमाएर हारको संघारमा पुगेका बेला नवौँ नम्बरमा ब्याटिङ गर्न आएका रजाउल्लाहले केवल ६३ बलमा ८१ रनको सनसनीपूर्ण इनिङ खेले। उनले ९ छक्का प्रहार गर्दै इंग्ल्यान्डका बलरमाथि लगातार आक्रमण गरे।
रजाउल्लाहको आक्रामक शैलीलाई लिएर सामाजिक सञ्जाल तथा क्रिकेट वृत्तमा ‘रजबाल’ नामसमेत चर्चामा आएको छ। इंग्ल्यान्डको चर्चित आक्रामक ब्याटिङ शैली ‘बाजबल’को झल्को दिने गरी पाकिस्तानका युवा खेलाडीले गरेको प्रहारले घरेलु टोलीका बलरलाई दबाबमा पारेको थियो।
केवल आठ प्रथम श्रेणी खेल खेलेका रजाउल्लाहलाई पाकिस्तानले अन्तिम टेस्टका लागि टोलीमा समावेश गरेको थियो। उनी मूलतः तीव्र गतिका बलरका रूपमा चिनिन्छन्। तर डेब्यु टेस्टमै देखाएको ब्याटिङले उनलाई पाकिस्तानका समर्थकमाझ नयाँ नायकका रूपमा स्थापित गराएको छ।
उनको ब्याटिङमा शाहिद अफ्रिदी र अब्दुल रज्जाकको आक्रामक शैलीको झल्को देखिएको थियो। लगातार शक्तिशाली प्रहार गरेका क्रममा उनले दुईवटा ब्याटसमेत भाँचेपछि तेस्रो ब्याट प्रयोग गरेर इनिङ पूरा गरेका थिए।
रजाउल्लाहसँगै मोहम्मद अब्बासले पनि इंग्ल्यान्डको बलिङलाई चुनौती दिए। उनीहरूको साझेदारीका कारण पाकिस्तान ३१८–८ बाट ४४९ सम्म पुग्यो। त्यसपछि इंग्ल्यान्डको सहज जितको योजना केही समयका लागि रोकिएको छ।
पूर्व पाकिस्तानी कप्तान रमिज राजाले रजाउल्लाहको प्रदर्शनको प्रशंसा गर्दै उनको आत्मविश्वास र आक्रामक शैली पाकिस्तानलाई आवश्यक रहेको बताएका छन्।
इंग्ल्यान्डलाई तेस्रो टेस्ट जितेर शृंखला ३–० ले क्लिन स्वीप गर्न १३० रन बनाउनुपर्नेछ। रजाउल्लाहले सिर्जना गरेको ‘रजबाल’को प्रभावले भने खेललाई अप्रत्याशित रूपमा रोमाञ्चक बनाइदिएको छ।
प्रकाशित: २७ भाद्र २०८३ ०९:१२ शनिबार





