प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण उद्घाटन गर्न कीर्तिपुर जाने भएका छन्। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार शाह उद्घाटन समारोहमा सहभागी हुनेछन्।
साँझ ५ बजे हुने उद्घाटन समारोहअघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतियोगिताको सफलताको शुभकामना दिएका छन्।
उनले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा उल्लेख गर्दै छोटो समयमै यसले भव्य खेलकुद उत्सवको रूप लिन सफल भएको बताएका छन्।
प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिता सफल बनाउन शुभकामना दिएका छन्।
एनपीएलले नेपाली क्रिकेटको लोकप्रियता बढाउनुका साथै अन्तर्राष्ट्रिय खेलाडी र दर्शकलाई आकर्षित गर्ने अवसर प्रदान गर्दै आएको छ। तेस्रो संस्करणको उद्घाटनसँगै प्रतियोगिताप्रति खेलप्रेमीको उत्साह थप बढ्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ९ कार्तिक २०८३ १४:५७ सोमबार





