५ श्रावण २०८३ मंगलबार
image/svg+xml
खेल

विश्वकपमा राजनीतिक छाया

६ महादेशका उत्कृष्ट ४८ राष्ट्रले प्रतिस्पर्धा गरेको विश्वकै सबैभन्दा लोकप्रिय फिफा विश्वकपको २३औं संस्करणले विजेता पाएको छ। ३९ दिनसम्म उत्तरी अमेरिका (अमेरिका, मेक्सिको र क्यानाडा) मा भएका १०४ खेलबाट स्पेन विजेता बनेको हो। स्पेनले दक्षिण अमेरिकी टोली अर्जेन्टिनालाई १–० ले हराउँदै उपाधि रक्षा गर्नबाट रोक्यो। युरो २०२४ जितेको दुई वर्षमै विश्वकप पनि जित्दै स्पेनले नयाँ फुटबल युगको नेतृत्व गर्ने संकेत दिएको छ।

९६ वर्षको इतिहास बोकेको विश्वकपले यसपल्ट पनि नयाँ विजेता पाउन सकेन। अफ्रिकी राष्ट्र मोरक्को र इजिप्ट तथा युरोपका नर्वे र बेल्जियमले सम्भावना देखाए पनि क्वार्टरफाइनलबाट माथि बढ्न सकेनन्। अहिलेसम्म आठ वटा राष्ट्र नै विश्वकप विजेता रहे। त्यसमा स्पेन दोस्रोपल्ट विश्वकप विजेता बन्यो। सन् २०१० को विश्वकप जितेको स्पेनले १६ वर्षपछि सफलता दोहोर्‍यायो। स्पेनको सफलतासँगै इतिहासकै सबैभन्दा ठुलो फिफा विश्वकप सकिएको छ।

विश्वकपमा नयाँ कथा रचिए र केही विवादका घटना पनि भए। पाँचवटा राष्ट्र (केप भर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तान) ले पहिलोपल्ट विश्वकपमा डेब्यु गरी प्रंशसायोग्य प्रदर्शन देखाए। अफ्रिकी राष्ट्र केप भेर्डेले त दुई वटा (स्पेन र उरुग्वे) विश्व च्याम्पियनलाई नै रोक्दै इतिहास रच्यो। उसले विश्वकपका चारमध्ये तीन एक खेल मात्र हार्‍यो, जुन अन्तिम ३२ मा अर्जेन्टिनासँग हो। यस्ता नतिजाले नयाँ राष्ट्रको विश्वकप खेल्ने सपनामा थप ऊर्जा दिनेछ।

यो विश्वकपले फुटबलको शक्ति, साना राष्ट्रको सम्भावना, विश्वव्यापी उत्सव र खेलभन्दा बाहिरका राजनीतिक तथा प्रशासनिक चुनौतीलाई एकैसाथ उजागर गर्‍यो। त्यसैले २०२६ को विश्वकप एउटा प्रतियोगिता रहेन। यो विश्व फुटबलको नयाँ दिशाको संकेत पनि बन्यो।

विश्वकप सुरु हुनुअघि आशाभन्दा बढी शंका थिए। विश्वकप टिकटको आकासिएको मूल्य, सुरक्षा चुनौती, भूराजनीतिक तनाव, आप्रवासन नीति र गर्मीको प्रभावबारे व्यापक बहस भएको थियो। त्यसमाथि पहिलोपटक ४८ टोलीको विश्वकप हुँदा प्रतियोगिताको गुणस्तर खस्किने अनुमान पनि भए। तर मैदानमा देखिएको दृश्यले ती सबै अनुमान गलत साबित भए।

४८ राष्ट्रमध्ये ४७ वटाले यो विश्वकपमा गोल गरे। पानामाले एक गोल पनि गर्न सकेन। विश्वकप विस्तारले कमजोर टोली थप्ने होइन अवसर विस्तार गर्ने काम गरेको प्रमाणित भयो। पहिलोपटक विश्वकप खेलेका वा लामो समयपछि सहभागी भएका राष्ट्रहरूले आफू संख्या बढाउन आएका होइनौं भन्ने देखाए। केप भर्डेले उद्घाटन खेलमै स्पेनलाई गोलरहित बराबरीमा रोक्दै विश्वलाई चकित बनायो। भर्डेले अन्तिम ३२ मा अर्जेन्टिनालाई अतिरिक्त समयसम्म दबाबमा राख्योे। केप भर्डेसँग संघर्ष गरेका दुवै टोली फाइनलमा पुगे।

त्यस्तै सानो टापु राष्ट्र कुरासाओले इक्वेडरसँग बराबरी खेल्यो। इजिप्ट पहिलोपटक नकआउट चरणमा पुग्यो। अफ्रिकी राष्ट्रहरूको प्रदर्शन यो विश्वकपको सबैभन्दा सकारात्मक पक्ष रह्यो। एसियाबाट ९ राष्ट्र विश्वकपमा सहभागी थिए। तीमध्ये जापान र अस्ट्रेलिया मात्र नकआउटमा पुग्न सक्यो। आशा गरिएको दक्षिण कोरियासँगै अन्यले पनि राम्रो गर्न सकेन। विश्वकपमा सहभागी १० मध्ये ९ वटा अफ्रिकी राष्ट्र नकआउट चरण पुग्नुले विश्व फुटबलको शक्ति सन्तुलन विस्तारै बदलिँदै गएको संकेत गरेको छ। फुटबलमा अवसर पाएपछि साना राष्ट्र पनि ठुला बन्न सक्छन् भन्ने महसुस भएको छ।

यो प्रतियोगिताले पुराना महानायक र नयाँ पुस्तालाई एउटै मञ्चमा उभ्यायो। करियरको उत्तरार्धमा रहेका लियोनल मेसी र नयाँ स्टार लामिन यामलले विश्वकप फाइनलमा एकअर्काविरुद्ध खेले। जुन पुस्तान्तरणको अन्तिम खेल पनि बन्न सक्नेछ। लगातार दोस्रो विश्वकप जित्ने मेसीको लक्ष्य भने पूरा हुन सकेन। छैटौं विश्वकप खेलेका मेसीले ३९ वर्षमा पनि उम्दा प्रदर्शन गर्दै उमेरलाई नै चुनौती दिए।

फ्रान्सका किलियन एमबाप्पे गोल्डेन बुटको होडमा अन्तिमसम्म अग्रस्थानमा रहे। मेसीले ८ गोल गर्दा एमबाप्पेले १० गोलसहित गोल्डेन बुट पाए। नर्वेका एर्लिङ हालान्ड, इङ्ल्यान्डका जुड बेलिङ्घम, ह्यारी केन तथा अन्य युवा स्टारहरूले पनि विश्व फुटबल नयाँ पुस्ताको हातमा सुरक्षित रहेको सन्देश दिए।

यो विश्वकप आक्रामक फुटबलको उत्सव पनि बन्यो। कुल १०४ खेलमा ३०८ गोल भए। सबैभन्दा धेरै इङ्ल्यान्ड र फ्रान्सले समान २० गोल गरे। प्रतिखेल औसत २.९९ गोल निस्कियो, जुन पछिल्ला धेरै दशकयताकै उत्कृष्ट तथ्यांक हो। दर्शकले गोल, रोमाञ्चक, पुनरागमन, अतिरिक्त समय, पेनाल्टी र अप्रत्याशित नतिजाले भरिएको प्रतियोगिता पाए। टिकट महँगो थियो तर रंगशाला खाली भएनन्। फुटबल लोकप्रिय नभएको देशमा पनि प्रतिखेल ६५ हजार दर्शक मैदान पुग्नुले यसप्रतिको आकर्षण बढायो।

फिफाको तथ्यांकअनुसार यो विश्वकपमा ६८ लाखभन्दा बढी दर्शक रंगशालामा पुगे। औसत ९९.७ प्रतिशत सिट भरिए। विश्वकप रंगशालाभित्र मात्र सीमित रहेन। आयोजक सहरहरू फुटबल उत्सवमा परिणत भए।

न्युयोर्कदेखि मेक्सिको सिटी र बोस्टनदेखि भ्यानकुभरसम्म समर्थकहरूले फुटबललाई सांस्कृतिक पर्वका रूपमा मनाए। तर सबै कुरा सकारात्मक मात्र थिएनन्। अमेरिकी आप्रवासन नीतिका कारण सोमाली रेफ्री ओमर आर्टनलाई प्रवेश नदिनु, इरानले भोग्नुपरेको प्रशासनिक कठिनाइ र अमेरिकी टोलीका खेलाडीको निलम्बन हटाउने विषयमा राष्ट्रपति डोनल्ड ट्रम्पको हस्तक्षेपले विश्वकपमा दाग लाग्यो। राजनीतिक छायाँ विश्वकपमै देखियो। यी घटनाले विश्वकप जस्तो विश्वव्यापी प्रतियोगिता पनि राजनीति र कूटनीतिबाट पूर्ण रूपमा अलग रहन नसक्ने वास्तविकता देखायो।

अन्ततः विश्वकपको स्मरणीय पक्ष भने मैदानमै रह्यो। अब सन् २०३० मा मोरक्को, पोर्चुगल र स्पेनमा विश्वकपको २४औं संस्करण हुने तय भएको छ। त्यसअघि विश्वकपमा ६४ राष्ट्रको सहभागिता सम्भव हुने चर्चामा पनि बल पुगेको छ। ४८ टोलीको विश्वकप सफल भएपछि फिफाले प्रतियोगिता अझ विस्तार गर्ने बहसमा थप बल मिलेको छ।

प्रकाशित: ५ श्रावण २०८३ ०६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App