नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार कीर्तिपुरमा जारी १३औं खेलमा लुम्बिनी लायन्सको घातक बलिङसामु पोखरा एभेन्जर्सको १०० रनसमेत कटाउन सकेन।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ९७ रन बनाउन सक्यो।
यससँगै लुम्बिनीले खेल जित्नका लागि ९८ रनको सहज लक्ष्य पाएको छ। सुरुवाती ओभरदेखि नै दबाबमा परेको पोखराका ब्याटरहरूले खुलेर रन बनाउन सकेनन्।
पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा तीव्र गतिका विदेशी बलर रुबेन ट्रम्पलम्यानले सानदार बलिङ गरे। उनले पहिलो ओभरमै ओपनर अर्जुन कुमाललाई शून्य रनमै बोल्ड गरेपछि पोखराले लगातार विकेट गुमाएको थियो। विदेशी स्टार ब्याटर सदिरा समराविक्रमा ७ र विपिन आचार्य १ रनमै आउट भए।
त्यसपछि आएका कप्तान कुशल भुर्तेलले २० बलमा १४ रन जोडे भने अनुभवी अलराउन्ड शाकिब अल हसन ८ बलमा ३ रन मात्र बनाएर पभेलियन फर्केका छन्। पोखराले ८.३ ओभरमै ३१ रन जोड्दा आफ्ना शीर्ष ५ विकेट गुमाइसकेको थियो।
मध्यक्रममा मेहदी हसनले २४ बलमा १३ रन र अर्जुन घर्तीले २० बलमा ६ रनको योगदान दिए। पुछारका ब्याटर चामिका करुणारत्नेले आक्रामक खेल्दै १७ बलमा २ छक्कासहित सर्वाधिक २५ रन बनाएपछि पोखरा ९० रनको आँकडा पार गर्न सफल भयो। यस्तै किरण ठगुन्नाले ६ बलमा १२ रन बनाउँदा विपिन खत्री ६ र आकाश चन्द १ रनमा अविजित रहे।
लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १६ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। स्पिनर तिलक भण्डारीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट हात पारे। यसैगरी कप्तान रोहित पौडेल, अभिषेश गौतम र शेर मल्लले समान १-१ विकेट लिए।
प्रकाशित: १७ कार्तिक २०८३ १८:४६ मंगलबार





