२१ भाद्र २०८३ आइतबार
image/svg+xml
खेल

मालिकले नै छाडे जनकपुर बोल्ट्स, अलग भएको सिग्देलको घोषणा

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सका मालिक उत्सव सिग्देलले टोली तथा ड्रीम स्पोर्ट्स प्रालिबाट अलग भएको घोषणा गरेका छन्।  

सिग्देलले तत्काल लागू हुने गरी फ्रेन्चाइज र कम्पनीसँग जोडिएका सञ्चालन, व्यवस्थापन तथा दैनिक कार्यगत जिम्मेवारीबाट आफू अलग भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

उनका अनुसार अब जनकपुर बोल्ट्स वा ड्रीम स्पोर्ट्ससँग सम्बन्धित व्यवस्थापन, प्रशासन, सञ्चालन, वित्तीय कारोबार, सम्झौता तथा करार, खेलाडी र कर्मचारी व्यवस्थापनलगायत कुनै पनि निर्णयमा आफ्नो संलग्नता रहने छैन।

उनले आफ्नो नाम प्रयोग गरेर फ्रेन्चाइज वा कम्पनीको तर्फबाट कुनै प्रतिनिधित्व, प्रतिबद्धता, कारोबार वा आधिकारिक सञ्चार नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। यस मितिपछि कम्पनी वा फ्रेन्चाइजको तर्फबाट हुने कुनै पनि कार्य, निर्णय वा दायित्वप्रति आफ्नो जिम्मेवारी नरहने उनले स्पष्ट पारेका छन्।

फ्रेन्चाइजसँगको यात्राका क्रममा सहयोग गर्ने खेलाडी, प्रशिक्षक, कर्मचारी, समर्थक तथा शुभेच्छुकप्रति सिग्देलले आभार व्यक्त गरेका छन्। टोलीबाट अलग भए पनि नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा आफ्नो योगदान निरन्तर रहने उनले बताएका छन्।

एनपीएलको पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स दोस्रो सिजनमा भने आठौँ स्थानमा सीमित भएको थियो। तेस्रो सिजन सुरु हुन करिब ५० दिन बाँकी रहँदा सिग्देलले टोलीबाट अलग हुने घोषणा गरेका हुन्।

यस सिजनका लागि जनकपुरले टोली निर्माणलाई निरन्तरता दिइरहेको छ। जिम्मी निशम पुनः टोलीमा फर्किएका छन् भने अमेरिकाका हरमित सिंहलाई कप्तानको जिम्मेवारी दिइएको छ। अघिल्ला दुई सिजनका मार्की खेलाडी आशिफ शेख भने यसपटक जनकपुरबाट बाहिरिएका छन्।

प्रकाशित: २१ भाद्र २०८३ १९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App