नेपाल प्रिमियर लिग (एनपिएल) को गभर्निङ काउन्सिलले पहिलो संस्करण सम्पन्न भएको दुई सय २२ दिनपछि आय व्यय सार्वजनिक गरेको छ।
दोस्रो संस्करणको तयारी हुँदासम्म हिसाब सार्वजनिक नभएको भन्दै एनपिएल गभर्निङ काउन्सिलको आलोचना पनि भइरहेको थियो। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नै विज्ञप्तीमार्फत काउन्सिलद्वारा प्रस्तुत पहिलो संस्करणको आय व्यय सार्वजनिक गरेको छ।
तर, बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले क्यानका सचिव पारस खड्काको संयोजकत्वमा रहेको काउन्सिलद्वारा प्रस्तुत उक्त आय व्यय पास गरेको छैन। यसमा थप अध्ययन गरी आगामी बोर्ड बैठकमा प्रस्तुत गरिने निर्णय भएको क्यानका एक सदस्यले जानकारी दिए। यो अध्ययनका लागि १५ दिनको समयसीमा दिएको छ।
पहिलो संस्करणबाट क्यानलाई दुई करोड ४६ लाख ५० हजार सात सय ८९ रूपैयाँ आम्दानी गरेको छ। क्यानले पहिलो संस्करणबाट खुद नाफा सात करोड ५३ लाख ५१ हजार २५९ रूपैयाँ गरेको थियो। यो रकमबाट आठ फ्रेन्चाइज टोलीलाई कुल नाफाको ५० प्रतिशत र सात प्रदेशलाई ७० लाख प्रदान गरिएको थियो। त्यसपछि क्यानले करिब साढे दुई करोड आम्दानी गरेको छ।
क्यानका अनुसार पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रूपैयाँ र कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रूपैयाँ भएको थियो। लामो समयसम्म हिसाब सार्वजनिक नहुँदा क्यानकै पदाधिकारीले आलोचना गर्न थालेको थियो।
यससँगै गभर्निङ काउन्सिलका संयोजक खड्काले साउनमा हुने क्यानको बोर्डमा प्रस्तुत गर्ने बताएका थिए। अन्तत् बिहीबार बसेको क्यानको बोर्ड बैठकमा खड्का नेतृत्वको गभर्निङ काउन्सिलले हिसाब सार्वजनिक गरेको हो।
पाँच सदस्यीय एनपिएल गभर्निङ काउन्सिलको तयारी
खड्काको संयोजकत्वमा रहेको गभर्निङ काउन्सिलमा क्यानका कोषाध्यक्ष पदम खड्का र सदस्य सुदीप शर्मा छन्। अब उक्त काउन्सिलमा दुई सदस्य थपिने भएको छ। एनपिएललाई चुस्त र दुरुस्त बनाउन गभर्निङ काउन्सिलमा संख्या बढाउन लागिएको हो। क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव खड्कालाई दुई सदस्य थप्ने जिम्मेवारी बोर्डले दिएको छ।
अब एनपिएलको गभर्निङ काउन्सिल पाँच सदस्यीय हुने भएको छ। बिहीबार नै बसेको क्यानको बोर्ड बैठकले लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष सञ्जय गुरुङलाई अर्को निर्णय नभएसम्म क्रिकेट गतिविधिबाट निलम्बन गरिएको छ।
एनपिएलको दोस्रो संस्करण आगामी नोभेम्बर/डिसेम्बरमा गर्ने तय छ। यसका लागि मिनी अक्सन पनि अगस्टमा गर्ने योजनामा क्यान छ। फ्रेन्चाइज टोलीले पनि खेलाडी रिटेर्नलगायत केही काम सुरु गरिसकेका छन्। हाल स्तरोन्नती भइरहेको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा फ्लड लाइटमा पनि केही खेल हुन सक्ने चर्चा भइरहेको छ। एक कार्यक्रममा सचिव पारसले पनि यसबारे संकेत गरेका थिए।
प्रकाशित: १६ श्रावण २०८२ १३:३० शुक्रबार





