२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
खेल

एनपीएलः पोखराको लगातार चौथो हार, चितवन तेस्रो स्थानमा उक्लियो

नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले लगातार चौथो हार भोगेको छ। एनपीएलको जारी सिजन सुरुदेखि नै खराब प्रदर्शन गर्दै आएको पोखरा शुक्रबार चितवन राइनोजसँग ३० रनले पराजित भएको हो।  

चार खेलमा पोखराले खाता खोल्न सकेको छैन। चार खेलमा दोस्रो जित निकालेको चितवन भने ५ अंकमा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। आफ्नो पहिलो खेलमा विराटनगर किङ्सलाई ८ विकेटले हराएको चितवनले वर्षाका कारण खेल रद्द भएपछि लुम्बिनी लाइन्ससँग अंक बाँडेको थियो। सुदूरपश्चिम रोएल्ससँग भने चितवन ५ विकेटले पराजित भएको थियो।  

पोखरा भने चितवनसँगै सुदूरपश्चिम, जनकपुर बोल्ट्स र लुम्बिनीसँग पराजित भएको छ। चितवनभन्दा अघि लुम्बिनी ७ अंकमा शीर्ष र सुदूरपश्चिम ६ अंकमा दोस्रो स्थानमा छन्।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमा अलआउट भयो। उसका लागि अर्जुन कुमालले सर्वाधक ४५ रन बनाए। अन्यको प्रदर्शन सम्झन लायक रहेन।  

पोखरालाई कम योगफलमा समेट्न रिजन ढकालले आफ्नो स्पेलमा ४ रन खर्चेर चार विकेट लिए। कमल ऐरीले ३ तथा ड्यान मोस्ले, मौसम ढकाल र कुशल मल्लले समान एक विकेट लिए।  

यसअघि पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५१ रनको योगफल तयार पारेको थियो।

चितवनका लागि अर्जुन साउदले ३१ र डेविड मलानले २८ रन बनाए। ८६ रन जोड्दा ४ विकेट गुमाएको स्थिति सम्हाल्दै क्याप्टेन सिकन्दर राजाले ३७ र रवि बोपाराले ३५ रन बनाए। उनीहरुले पाँचौं विकेटका लागि ६० रनको साझेदारी गरे।  

पोखराका लागि कुशल भुर्तेल, विपिन खत्री र चामिका करुनारत्नेले समान २ विकेट झारे।

प्रकाशित: २० कार्तिक २०८३ २०:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App