इंग्ल्यान्डका अनुभवी अलराउन्डर मोइन अली नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा अनुबन्धित भएका छन्।
जनकपुर बोल्ट्सले सामाजिक सञ्जालमार्फत मोइनलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो। टोलीले उनको आगमनले अनुभव, बहुमुखी प्रतिभा र अलराउन्ड क्षमतामा थप मजबुती आउने विश्वास व्यक्त गरेको छ।
३९ वर्षीय मोइन ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने खेलाडी हुन्। उनले सन् २०१४ मा इंग्ल्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका उनले इंग्ल्यान्डका लागि तीनै प्रारूपमा २९८ खेल खेलेका छन्।
मोइनले अन्तर्राष्ट्रिय क्रिकेटमा ६ हजार ६७८ रन बनाउनुका साथै ३६६ विकेट लिएका छन्। उनले टेस्ट क्रिकेटमा ६८ खेल खेल्दै ३ हजार ९४ रन र २०४ विकेट लिएका छन्। त्यस्तै, १३८ एकदिवसीय खेलमा २ हजार ३५५ रन र १११ विकेट तथा ९२ टी-२० अन्तर्राष्ट्रिय खेलमा १ हजार २२९ रन र ५१ विकेट उनको नाममा छ।
फ्रेन्चाइज क्रिकेटमा समेत अनुभव बटुलेका मोइनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाइट राइडर्सबाट खेलेका छन्। उनी चेन्नई सुपर किंग्सले सन् २०२१ र २०२३ मा आईपीएल उपाधि जित्दा टोलीका सदस्य थिए।
इंग्ल्यान्डले सन् २०१९ मा एकदिवसीय विश्वकप र सन् २०२२ मा टी–२० विश्वकप जित्दा पनि मोइन टोलीमा थिए। उनको अनुभवले जनकपुर बोल्ट्सलाई एनपीएलको तेस्रो संस्करणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १७ आश्विन २०८३ ०८:३० शनिबार





