१७ आश्विन २०८३ शनिबार
image/svg+xml
खेल

विज्ञापनमा हालान्डको कपालको शैली प्रयोग गरेपछि नर्वेजियन एयरविरुद्ध मुद्दा

नर्वेली फुटबल स्टार एर्लिङ हालान्डले नर्वेजियन एयर शटलविरुद्ध मुद्दा दायर गरेका छन्।

एयरलाइन्सले २०२६ फिफा विश्वकपका क्रममा आफ्नो विज्ञापनमा अनुमति बिना हालान्डको कपालको शैली प्रयोग गरेको आरोप छ। स्थानीय सञ्चारमाध्यमका अनुसार नर्वेजियन एयरले आफ्नो एउटा विमानको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको थियो।

उक्त तस्बिरमा हालान्डको पहिलेको लामो गोरो कपाल र पोनीटेल देखिने गरी विमानलाई सम्पादन गरिएको थियो। पोस्टमा ‘हामी कहिल्यै पनि यति धेरै नर्वेजियन देखिएका थिएनौँ’ भन्ने क्याप्सन राखिएको थियो। उक्त पोस्ट अहिले हटाइसकिएको छ।

हालान्ड र उनको बेलायती कम्पनी योर्क प्रमोशन लिमिटेडले नर्वेजियन एयर शटलविरुद्ध मुद्दा दायर गरेका हुन्। हालान्डका वकिल थोमस हेगनले विश्वकपका क्रममा विमान टिकटको प्रचारमा हालान्डको कपालको शैली प्रयोग गरिएको विषयमा मुद्दा दायर गरिएको बताएका छन्।

हेगनले भने, ‘यो मुद्दा नर्वेजियनले फुटबल विश्वकपका क्रममा विमान टिकटको प्रचारमा हालान्डको पहिचानसँग जोडिएको कपालको शैली गैर कानुनी रूपमा प्रयोग गरेको विषयमा हो।’

मुद्दाको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। ओस्लो जिल्ला अदालतका अनुसार यो विवाद विज्ञापनसम्बन्धी कानुनसँग जोडिएको छ। मुद्दाको प्रारम्भिक बैठक अक्टोबर ९ मा भिडियोमार्फत हुने तय भएको छ।

नर्वेजियन एयरले मुद्दा प्राप्त भएको पुष्टि गरेको छ। कम्पनीकी प्रवक्ता क्याथरिना सोलीले विश्वकपका क्रममा सामाजिक सञ्जालमा राष्ट्रिय टोलीलाई समर्थन गर्ने क्रममा केही रमाइला पोस्ट गरिएको बताइन्।

उनले भनिन्, ‘लगभग सम्पूर्ण नर्वेझैँ हामीले पनि यस गर्मीमा सामाजिक सञ्जालका चलनबाट प्रेरित केही रमाइला पोस्टमार्फत राष्ट्रिय टोलीलाई समर्थन गरेका थियौं।’

उनले मुद्दा दायर भएकोमा दुःख व्यक्त गर्दै दुवै पक्षबिच उचित संवाद हुने आशा पनि व्यक्त गरिन्।

हालान्ड विश्वकपमा नर्वेको राष्ट्रिय टोलीका प्रमुख खेलाडीमध्ये एक थिए। नर्वे क्वार्टर फाइनलसम्म पुगेको थियो। पछि इंग्ल्यान्डसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

नर्वेजियन एयरले सन् २००२ देखि आफ्ना विमानको पछाडि चर्चित व्यक्तिहरूका तस्बिर राख्दै आएको छ। यसअघि ग्रेटा गार्बो, थोर हेयरडाहल, एडवर्ड मुन्च, सोन्जा हेनी, फ्रेडी मर्करी र ओस्कर वाइल्डजस्ता चर्चित व्यक्तिका तस्बिर विमानमा राखिएका थिए।

तर हालान्डको मामिलामा भने उनको अनुहारको सट्टा उनको चर्चित पोनीटेललाई विमानको तस्बिरमा प्रयोग गरिएको थियो। हालान्डले यसअघि पनि आफ्नो नाम र पहिचानसँग जोडिएका विषयमा आफ्नो अधिकार सुरक्षित गर्ने प्रयास गर्दै आएका थिए। एजेन्सीको सहयोगमा 

प्रकाशित: १६ आश्विन २०८३ १८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App