वर्षाका कारण खेल रद्द हुँदा नेपाल र जापानले २०औँ एसियाली खेलकुदमा पुरुष क्रिकेटमा अंक बाँडेको छ।
कोरोगी एथ्लेटिक पार्कमा शनिबार भएको खेलमा नेपालको इनिङ सकिएपछि लगातार वर्षा भयो र म्याच रेफ्रीले खेल रद्दको निर्णय हुन्। अंक बाँडिएसँगै नेपाल समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनलमा पुग्यो। अब नेपालले श्रीलंकासँग सेप्टेम्बर २९ तारिखमा खेल्नेछ। जापान भने समूह चरणबाटै बाहिरियो।
जापानले पहिलो खेलमा अफगानिस्तानसँग हार बेहोरेको थियो। नेपालले भने शुक्रबार अफगानिस्तानमाथि पाँच विकेटको जित रचेको थियो। त्यो जित नै नेपालका लागि समूह विजेता भएर क्वार्टरफाइनलको यात्रा तय गर्ने बलियो माध्यम बन्यो। अफगानिस्तानले भने भारतसँग क्वार्टरफाइनल खेल खेल्नेछ। एसियाबाट आइसिसीको शीर्ष चार वरीयता (भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश) ले सीधै क्वार्टरफाइनल खेल्दैछन्।
नेपालले १२ वर्षपछि टेस्ट राष्ट्र अफगानिस्तानमाथि जित निकाल्दै राम्रो सुरुआत गरेको थियो। दोस्रो खेलमा पनि नेपाली टोलीले जापानलाई १५० रनको बलियो चुनौती दिँदै दोस्रो जित निकाल्ने लक्ष्य राखेको थियो। तर, वर्षाकै १५ ओभरमा छोट्याइएको खेलमा जापानले इनिङ सुरुआत गर्न पाएन।
नेपालको इनिङ सकिएपछि लगातार वर्षा भयो। मध्य क्रमका ब्याटर लोकेश बम र सन्दीप जोराको आक्रामक अर्धशतक प्रेरित नेपालले २०औँ एसियाली खेलकुदमा जापानविरुद्ध चुनौतीपूर्ण लक्ष्य दिएको थियो। सन्दीप र लोकेशले अविजित अर्धशतक बनाउँदा नेपालले जापानलाई १५० रनको चुनौतीपूर्ण लक्ष्य दिएको हो। खेलमा सुस्त सुरुआतका बाबजुद नेपालले विशाल योगफल खडा गर्यो।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सन्दीपले ३२ बलमा ५७ रन जोडे। मध्य क्रमका ब्याटर लोकेशले २२ बलमा अविजित ५२ रन बनाए। सन्दीपको इनिङमा पाँच चौका र तीन छक्का रह्यो। लोकेशले ६ छक्का हिर्काउँदा एक चौका प्रहार गरे। ९।६ ओभरमा नेपाल ८४/४ को अवस्थामा थियो। तर, लोकेश र सन्दीपले पाँचौँ विकेटका लागि २५ बलमा ५० रनको साझेदारी गर्दै इनिङ उकासे। टस हारेर पहिले ब्याटिङ गरेको नेपालको सुरुआत राम्रो हुन सकेन। तेस्रो ओभरमा ओपनर कुशल भुर्तेल ४ रनमा नै पभेलियन फर्किए। २.२ ओभरमा नेपाल ७/१ को स्थितिमा थियो। तर, दोस्रो विकेटका लागि ओपनर आसिफ शेख र सन्दीपबिच ३८ बलमा ५० रनको साझेदारी भयो।
एकपल्ट जीवनदान पाएका आसिफ २१ रन बनाएर आउट भए। ३३ बल खेल्दै उनले समान एक चौका र छक्का प्रहार गरे। जापानले खराब फिल्डिङ गर्दै चार क्याच ड्रप गर्यो। जापानको बलिङमा रिओ थोमस, इब्राहिम ताकाहासी, ज्याक नैन र डिक्लैन सुजुकीले समान एक विकेट लिए।
प्रकाशित: १० आश्विन २०८३ ०८:५० शनिबार





