१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
खेल

नेपाल स्कटल्यान्डसँग दुई रनले स्तब्ध

शीर्ष ब्याटर चल्न नसक्दा आइसिसी विश्वकप लिग–२ मा १५औं हार सामना गरेसँगै अंकतालिकाको चार स्थानभित्र पुनरागमन गर्ने नेपालको लक्ष्यमा थप दबाब परेको छ।

कीर्तिपुरमा मंगलबार वर्षाले प्रभावित त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपाली टोली अंकतालिकाको दोस्रो स्थानमा रहेको स्कटल्यान्डसँग २ रनले स्तब्ध हुन पुग्यो । लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङपछि पुनरामगन गरेको नेपालका लागि शीर्ष क्रमका ब्याटर चल्न नसक्नु नै हारको कारण पुग्यो । मध्यक्रमका दीपेन्द्रसिंह ऐरी र सातौं नम्बरका ब्याटर गुलसन झाको आक्रामक इनिङसँगै घरेलु समर्थकले जितको आशा राखे । तर, अन्तिम ओभरमा १३ रन जोड्न नसक्दा नेपाली टोली लिग–२ को १५औं हार सामना गर्न बाध्य भयो।

हारसँगै लिग–२ को शीर्ष चारभित्र पुग्ने नेपालको लक्ष्यमा दबाब परेको छ । नेपालले शीर्ष तीन विकेट छिटै गुमाउन पुग्यो । दीपेन्द्रसिंह र गुलसनले अर्धशतकसँगै जितको सम्भावना देखिए पनि घरेलु टोली सफल भएन । यससँगै लिग–२ को २५ खेलबाट नेपालले १५औं हार सामना गर्‍यो । अंकतालिकामा चौथो स्थानको नेदरल्यान्ड्ससँग नेपालको अंकदूरी १० अंकमा नै सीमित भएको छ । डच टोलीले एक खेल कम खेलेको छ । जितपछि स्कटल्यान्डले शीर्ष स्थानको अमेरिकासँग अंक बराबरी (२५ अंक) गरेको छ । यसै शृंखलामा रहेको अमेरिकाले २४ खेल र स्कल्यान्डले २९ खेल खेलेका छन्।

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले सुरुमा ५० ओभर नै खेल्दै दुई सय ४४ रनको लक्ष्य दियो । तर, वर्षाका कारण खेल प्रभावित भयो । नेपालले ३९औं ओभरमा २२१ रनको नयाँ लक्ष्य पायो । यद्यपि, नेपाल इनिङको अन्तिम बल बाँकी छँदा नतिजा सुम्पियो । घरेलु टोलीले ३९ ओभरमा सात विकेट गुमाएर २१८ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा नेपाललाई १३ रन आवश्यक थियो । पूरै ओभर लिए पनि गुलसन जित दिलाउन असफल भए । उनी ६१ रनमा अविजित रहे । १० बल खेलेका नन्दन यादव ८ रनमा अविजित रहे । गुलसनले ३५ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे।

दीपेन्द्रसिंहले ४९ बलमा ५५ रनको अर्धशतकीय इनिङ खेले । उनको इनिङमा पाँच चौका र एक छक्का रह्यो । नेपाल १३.३ ओभरमा ४५/३ को नाजुक अवस्थामा थियो । ओपनरद्वय आसिफ शेख २१ रन र विनोद भण्डारी १० रनमा नै आउट भए । यसपछि युवा ब्याटर अर्जुन कुमालले पनि खाता खोल्न सकेनन् । चौथो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रबीच ७६ रनको साझेदारी बन्यो । रोहित ३२ रनमा आउट हुन पुगे । ८ रन जोड्ने क्रममा तीन विकेट गुमाएपछि नेपाल फेरि दबाबमा प¥यो। २६, २७ र २८औं ओभरमा क्रमशः रोहित, आरिफ शेख र दीपेन्द्र पभेलियन फर्किए । सातौं विकेटका लागि करण केसी र गुल्सनबीच ४० रनको साझेदारी बनेपछि घरेलु समर्थकले जितको आशा पाए।

करण पनि १८ रनमा पभेलियन फर्किए । यसपछि गुलसनले आक्रामक ब्याटिङ गरे पनि जित दिलाउन भने सकेनन् । स्कटल्यान्डको बलिङमा ब्राड करीले तीन तथा मार्क वाटले दुई विकेट लिँदा ओलिभर डेभिनसन र ज्याक जार्भिसको नाममा समान एक विकेट रह्यो । त्यसअघि स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्‍यो । आक्रामक सुरुआत पाएपछि पाहुना टोलीको त्यो निर्णय सही साबित पनि भयो । यद्यपि, नेपालले बलिङमा पुनरागमन गर्‍यो । आठ विकेटको क्षतिमा स्कटल्यान्डले दुई सय ४३ रनको मध्यम योगफल बनायो । २० ओभरमै स्कटल्यान्डले बिनाविकेट १०८ रन जोड्दै आक्रामक सुरुआत गर्‍यो।

ओपनरद्वय जर्ज मुन्सेले ७५ रन र फिन्ले म्याकृथले ३५ रनको योगदान दिए । पहिलो विकेटका लागि यी दुईले एक सय १४ रनको आक्रामक साझेदारी गर्दै नेपाली बलरमाथि दबाब सिर्जना गरे । २१औं ओभरमा लेग स्पिनर सन्दीप लामिछानेले दुवैलाई आउट गर्दै दबाब हटाए ।  मुन्सेले ६२ बलमा १२ चौका र २ छक्का गरे । ६२ बल खेलेका फिन्लेको इनिङमा तीन चौका रह्यो । यसपछि नेपाली स्पिनरले दबाब बनाए । दुई ओभरपछि नै नेपालले तेस्रो विकेट लियो । सन्दीपले ब्रान्डन म्याकमुलनलाई ७ रनमा बोल्ड गरे । सन्दीपले शीर्ष चार विकेट लिँदै पाहुना टोलीलाई दबाबमा राखे । उनले कप्तान रिकी बेरिङ्टनलाई ५ रनमा एलबिडब्लु सिकार बनाए।

यससँगै २४.२ ओभरमा स्कटल्यान्ड १२८/४ को अवस्थामा पुग्यो । पाहुना टोली यसपछि १५ ओभरसम्म समालिएर खेल्यो र विकेट गुमाएन । माइकल इङ्लिस र म्याथ्यु क्रसले पाँचौं विकेटका लागि ४३ रनको साझेदारी गर्दै स्कटल्यान्डको इनिङमा दुई सय रन पार गराए । क्रस १८ रनमा आउट भए । मार्कले १८ बलमा २४ रन बनाउँदा माइकल लिस्कले २९ रन प्रहार गरे । वाटले १ रनमा दीपेन्द्रबाट जीवनदान पाएका थिए । नेपालको बलिङमा सन्दीपले १० ओभरमा शीर्ष चार विकेट लिँदा एक मेडन राखे । नन्दनले अन्तिम ओभरमा २ विकेट लिँदै १ रन मात्र खर्चिए । करण र नन्दनले समान दुई विकेट आफ्नो नाममा गरे।

आठ राष्ट्र सहभागी लिग–२ मा  नेपाल १८ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ।

ब्याटरको प्रदर्शन कमजोर: प्रशिक्षक ल

काठमाडौं– स्कटल्यान्डसँगको साँघुरो हारपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा मुख्य प्रशिक्षक स्टुआर्ट लले नेटमा राम्रो ब्याटिङ गरेका ब्याटरले त्यो प्रदर्शन खेलमा देखाउन नसकेको बताएका छन्।

उनले नेपालले राम्रो बलिङ गर्दै लक्ष्य भेट्टाउने स्थितिमा रोकेको उल्लेख गरे । तर, छिटै विकेट गुमाउँदा समस्या भएको उनको भनाइ । यसपछि नै आफूले खेलाडीसँग कुराकानी गरेको र जितनजिक सम्म पनि पुगेको प्रशिक्षक स्टुआर्टले बताए । गुलसन झाले उत्कृष्ट इनिङ खेले पनि अन्तिममा जित निकाल्न नसकेको प्रशिक्षक स्टुआर्टले बताए । सातौं नम्बरमा आएर ब्याटिङ गर्न दबाब हुने भन्दै उनले गुलसन झाको बचाउ गरे ।    स्कटल्यान्ड अन्तिमसम्म उत्कृष्ट फाइट दिने टोली रहेको र जहाँ आफूहरू चुकेको उनले उल्लेख गरे । आफूहरूले केही क्षेत्रमा राम्रो गर्न नसकेको प्रशिक्षक लले बताए।

लले लिग–२ को शीर्ष दुई टोलीविरुद्ध खेल्दा जहिल्यै पनि उत्कृष्ट गर्नुपर्ने धारणा राखे । यी टोलीविरुद्ध खेल्न उत्कृष्ट तयारी गरे पनि सफलता निकाल्न नसकेको उनले बताए ।  प्रशिक्षक लले ग्यापमा राम्रो सट हान्ने लक्ष्यसहित आए पनि सफल नभएको उल्लेख गरे । कप्तान रोहित र दीपेन्द्रले राम्रो साझेदारी गरेको बताए । उनीहरूले ग्यापमा हिर्काउँदै खेलेको भन्दै प्रंशसा गरे । छक्का प्रहार गर्ने चक्करमा आउट नभएको उनको दाबी छ । टिभी र प्यारापिटमा बसेर  खेल हेरेजस्तो शतक प्रहार सजिलो नहुने उनको दाबी छ । आफ्ना खेलाडीले खराब सट पनि नखेलेको भन्दै लले उनीहरूको बचाउ गरेका छन्।

प्रकाशित: ३० वैशाख २०८३ ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App