सीता राना मगर र रुविना क्षेत्रीको अलराउन्ड प्रदर्शनमा नेपालले एसीसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ। मलेसियामा बिहीबार भएको खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै समूह डीमा चार अंकसहित शीर्ष स्थानमा कायम छ।
९.२ ओभरमा मात्र ४७ रन जोड्दा ७ विकेट गुमाएको स्थिति सम्हाल्दै रुबिना र सीताले आठौं विकेटका लागि ४० रनको महत्वपूर्ण साझेदारी गरे। सीताले ३७ रन बनाउँदै नेपालको इनिङ्स सम्हालिन् भने रुविनाले २४ रनको योगदान दिइन्। उनीहरूको साझेदारीकै कारण नेपाल १ सय १३ रनसम्म पुग्न सफल भयो।
जवाफमा भुटानले सुरुआतदेखि नै लय समात्न सकेन। डेचेन वाङमोले ३९ रन बनाए पनि अन्य ब्याटरले साथ दिन नसक्दा टोली २० ओभरमा ८ विकेट गुमाएर ६२ रनमै सीमित भयो।
बलिङतर्फ पनि रुविना चम्किइन्। उनले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिँदा रिया शर्माले २ विकेट हात पारिन्। कविता कुँवर र मनिषा उपाध्यायले समान एक–एक विकेट लिए।
लगातार दोस्रो जितसँगै नेपाल क्वार्टरफाइनल यात्रातर्फ थप बलियो देखिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: २१ जेष्ठ २०८३ ११:४५ बिहीबार



-600x400.jpg)

