अस्ट्रेलियाको डार्विनमा जारी ‘टप एन्ड टी–२० सिरिज’ अन्तर्गत आफ्नो खेलमा नेपाल बंगलादेश हाई पर्फर्मेन्स (एचपी) ११ सँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको छ।
शनिबार डार्विनस्थित मार्रारा ओभल मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १०० रनको सामान्य लक्ष्य बंगलादेश एचपीले मात्र १०.२ ओभरमा १ विकेट गुमाएर सहजै पूरा गर्यो। बंगलादेशले ५८ बल बाँकी छँदै जित हात पारेको हो।
बंगलादेशको जितमा ओपनर जिसन आलमले विष्फोटक अर्धशतकीय इनिङ खेले। उनले मात्र २९ बलमा ३ चौका र ४ छक्काको मद्दतले अविजित ५२ रन बनाए।
यस्तै, आरिफुल इस्लामले २७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै अविजित ३४ रनको योगदान दिए। हबिबुर रहमान सोहन ७ रन बनाएर आउट भए। उनलाई नेपाली बलर सहाब आलमले कप्तान तथा विकेटकिपर अनिल साहको हातबाट क्याच आउट गराएका थिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालको इनिङ पूर्ण रूपमा धराशायी बन्यो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ९९ रन बनाउन सकेको थियो।
सुरुवाती ३.६ ओभरभित्रै १३ रन जोड्दा ५ विकेट गुमाएपछि नेपाल चरम दबाबमा परेको थियो। ओपनिङमा आएका त्रितराज दास ६ रनमा आउट हुँदा कप्तान अनिल साह र पवन सर्राफ शून्य रनमै पेभेलियन फर्किए। यस्तै, कुशल मल्ल १ रन तथा लोकेश बम २ रनमा आउट भए।
नेपालका लागि ओपनर कुशल भुर्तेलले मात्र सम्हालिएर खेल्दै सर्वाधिक ४६ रन बनाए। उनले ४० बलमा ३ चौका र १ छक्का प्रहार गरे। भुर्तेलबाहेक अन्य नेपाली ब्याटरहरू लामो समय क्रिजमा टिक्न सकेनन्।
तल्लो क्रममा सहाब आलम र विपिन खत्रीले समान ११/११ रन बनाए। यस्तै, रिजन ढकालले १० रन र आकाश चन्दले अविजित ५ रन जोडे भने नारायण जोशी १ रनमा रनआउट भए।
नेपाली इनिङलाई ध्वस्त पार्न बंगलादेशका बलर मोहम्मद रुबेलले घातक बलिङ गर्दै ४ ओभरमा १८ रन दिएर सर्वाधिक ४ विकेट लिए। रोहनत दौल्लाह बोर्सन, रिपोन मन्डोल र समिउन बासिरले समान १/१ विकेट हात पारे।
नेपालका तर्फबाट सहाब आलमले ३.२ ओभरमा २७ रन खर्चेर १ विकेट लिनुबाहेक अन्य बलरहरू विकेटविहीन रहे।
रिजन ढकालले १ ओभरमा २१ रन, विपिन खत्रीले २ ओभरमा २० रन, कुशल भुर्तेलले १ ओभरमा ११ रन, पवन सर्राफले २ ओभरमा १५ रन र आकाश चन्दले १ ओभरमा ५ रन खर्चिए।
प्रकाशित: ६ भाद्र २०८३ १७:२७ शनिबार





