१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

ब्याटिङमा मनोबल बोकेर विश्वकपमा नेपाल, सुपर– ८ को लक्ष्य

यस पटक नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्दै छ । आउँदो शनिबारबाट सुरु हुने टी–२० विश्वकपको १० औँ संस्करण भारत र श्रीलंका मिलेर आयोजना गर्दैैछन् ।

यसअघिको संस्करणको जस्तै यस पटक पनि टी–२० विश्वकपमा कुल २० टोलीले सहभागिता जनाउँदै छन् । जसमा नेपालको पुरुष टोलीले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी–२० विश्वकप खेल्दै छ ।

यसका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली तयारी अवस्थामा छ । यसको मतलब नेपालले अभ्यास तथा वार्मअप खेलहरू तयारी स्वरूप खेलेर विश्वकप खेल्न तयार बसिरहेको छ ।

विश्वकपमा नेपालको समूह चरणको खेलहरू सबै भारतको मुम्बईमा हुनेछन् । समूह चरणअन्तर्गतको चार खेल नेपालले मुम्बईमा रहेको वानखेडे क्रिकेट रगंशालामा खेल्नेछ । 

नेपाली टोली रहेको समूह ‘सी’ मा इंग्ल्यान्ड, वेस्ट इन्डिज , स्कटल्यान्ड र इटाली छन् । यी पाँच टोलीमध्ये समूहका शीर्ष दुई टोलीले मात्र शीर्ष ८ मा स्थान बनाउनेछन् । 

मनोबल उच्च

नेपाली टोलीले विश्वकप खेल्नु भन्दाअघि आफूले गर्नुपर्ने सबै तयारी पूरा गरेर बसिरहेको छ । नेपालको भैरहवामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानदेखि श्रीलंका ‘ए’, युएई र क्यानडा टोलीसँग अभ्यास तथा वार्मअप खेलेर उच्च मनोबल लिएर बसिरहेको छ । 

यस पटक टोलीले विश्वकपको लागि भनेर लामो र राम्रो तयारी गरेको छ । नेपाली टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख विश्वकपको लागि तयारी राम्रो भएको बताउँछन् । ‘हामीले विगत ३–४ महिनादेखि धेरै टोलीहरूसँग खेलिरहँदा आत्मविश्वास एकदमै बढेको छ,’ उनले भने, ‘हामीले विश्वकपको लागि भनेर राम्रो तयारी गरेका छौँ ।’

नेपालमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) सकेको एक हप्ता नपुग्दै नेपाली टोलीले विश्वकपको तयारी थालेको थियो । जसमा नेपाली टोलीले भैरहवामा एक हप्ता प्रशिक्षण गरेको थियो । 

त्यहाँको तयारीपछि नेपाली टोलीले श्रीलंका गएर श्रीलंकाको ‘ए’ टोलीसँग तीन वटा टी–२० अभ्यास खेल खेल्यो । 

दुई अभ्यास खेलमा हार बेहोरेको नेपालले एक खेलमा भने सहज जित हात पारेको थियो । त्यहाँ खेलिरहँदा टोलीको मनोबल अलि कमजोर देखिएको थियो । 

त्यहाँबाट मुम्बई पुगेर पनि नेपालले दुई वटा अभ्यास खेल खेलेको थियो । त्यसमा भने नेपालको प्रदर्शन सन्तोषजनक देखिएको थियो । 

‘हामीले विश्वकपअघि राम्रै टोलीहरूसँग अभ्यास तथा वार्मअप खेल खेलेका छौँ । जसले गर्दा हामीलाई विश्वकप खेल्न सहज हुन्छ,’ पहिलो पटक विश्वकप खेल्न गइरहेका आरिफ शेखले भने, ‘विगतमा नेपालले खेलेको विश्वकपभन्दा यस पटक अझ बढी राम्रो गर्ने लक्ष्य टोलीले लिएको छ ।’ 

यस्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)ले विश्वकपअघि नेपाललाई क्यानडा र युएईसँग वार्मअप खेल खेलाएको थियो। दुवै खेलमा नेपालले शानदार प्रदर्शन गर्दै जित निकाल्न सफल भयो । 

दुवै वामअर्प खेलमा नेपाली खेलाडीको खेल स्तर सुधारिएको पनि देखियो । दुवै खेलमा आरिफ शेखले मध्य क्रममा सुदृढ ब्याटिङ प्रदर्शन गरे। 

यस्तै दुवै वार्मअप खेलमा नेपाली ब्याटरहरू उत्कृष्ट लयमा देखिएका छन् । ओपनर आसिफ शेख, अलराउन्डर गुलशन झा र दीपेन्द्रसिंह ऐरीको ब्याटिङ प्रदर्शन पनि सम्झन लायक रह्यो । मध्य क्रममै सन्दीप जोराको पनि ब्याट चलेको देखियो । 

बलिङमा पनि नेपाली बलरहरूको प्रदर्शन राम्रो देखियो। यद्यपि डेढ ओभरमा भने अझै धारिलो बलिङ देखिएन् । 

सुपर–८ को लक्ष्य

नेपाली टोली विश्वकपको तयारी थालेदेखि नै एउटै लक्ष्य बोकेर हिँडिरहेको थियो, सुपर–८मा पुग्ने । यसअघि नेपालले दुई विश्वकप खेलेको छ, तर दुवै विश्वकपमा समूह चरण पार गर्न सकेको थिएन । यस पटक विगतभन्दा एक खुड्किलो अघि बढ्ने नेपालको अठोट छ । 

विश्वकप सुरु हुनुअघि आइसिसीले गर्ने  प्रि–म्याच कन्फेरेन्समा नेपाली कप्तान रोहित पौडेलले विगत विश्वकपभन्दा राम्रो गर्न नेपाली टोली भारत र श्रीलंका पुगेको बताएका छन् । 

‘हाम्रो लागि यो विश्वकप एकदमै खास छ । किनभने हामीले लगातार दोस्रो पटक विश्वकप खेल्दै छौँ,’ उनले भने, ‘हामीले अन्य विश्वकपभन्दा यो विश्वकपमा फरक नतिजा ल्याउने लक्ष्य लिएका छौँ ।’

सुपर–८मा पुग्न नेपालले आफ्नो समूहमा रहेका दुई टेस्ट टोली इंग्ल्यान्ड र वेस्ट इन्डिजमध्ये कम्तीमा एकलाई हराउन सक्नुपर्ने छ । यस्तै स्कटल्यान्ड र इटालीमाथि पनि जित निकाल्दा मात्रै नेपाल सुपर–८को दाबेदार बन्ने छ । 

नेपालले सन् २०१४ मा पहिलो विश्वकपमा डेब्यू गर्दा समूह चरणको खेलमा राम्रो प्रदर्शन गरेर शीर्ष ८ को सम्भावना बनाएको थियो । तर, बांग्लादेशसँग नेटरनरेटमा पछि पर्दै निराश हुनुपरेको थियो । 

त्यसको एक दशकपछि सन् २०२४ मा विश्वकपमा प्रवेश गर्दा बांग्लादेश र दक्षिण अफ्रिकाजस्ता टेस्ट राष्ट्रलाई दरिलो चुनौती प्रस्तुत गरे पनि जित निकाल्न चुक्दा समूह चरणबाटै बाहिरिनुपरेको थियो । दुवै हारमा नेपालको अनुभवको कमी झल्किएको थियो । 

विश्वकप खेल्ने नेपाली टोली: 

रोहितकुमार पौडेल (कप्तान), (उपकप्तान) दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सन्दीप जोरा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, कुशल भुर्तेल,गुल्शन झा,शेर मल्ल बसिर अहमद, लोकेश बम, आरिफ शेख र नन्दन यादव ।

प्रकाशित: २३ माघ २०८२ १९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App