एसीसी मेन्स प्रिमियर कप-२०२६ को उपाधि भिडन्त रोमाञ्चक मोडमा पुगेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायोमास क्रिकेट ओभलमा जारी फाइनल खेलमा नेपालले प्रस्तुत गरेको ३ सय १४ रनको विशाल लक्ष्य पछ्याइरहेको संयुक्त अरब इमिरेट्स (यूएई) ले ४४.३ ओभरमा ६ विकेट गुमाएर २५१ रन बनाएको छ।
उपाधि जित्नका लागि यूएईलाई अब अन्तिम ३३ बलमा ६३ रन आवश्यक छ।
यूएईका लागि राहुल चोपडा ८८ रन बनाएर क्रिजमा संघर्षरत छन् भने उनलाई खुजैमा तनवीरले १४ रन बनाएर साथ दिइरहेका छन्। यसअघि शोएब खानले ५२, तनिश सुरीले ४२ तथा हरप्रीत सिंहले ३३ रन बनाएका थिए।
नेपालका बलर ललित राजवंशीले आफ्नो १० ओभरको स्पेल पूरा गर्दै ४३ रन दिएर २ महत्त्वपूर्ण विकेट लिए। त्यस्तै करण केसी, सन्दीप लामिछाने, रोहित पौडेल र गुलशन झाले १-१ विकेट हात पारेका छन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १३ रनको बलियो योगफल खडा गरेको थियो।
नेपालका लागि ओपनर आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रनको उत्कृष्ट शतकीय इनिङ्स खेले। यस्तै मध्यक्रममा आक्रामक ब्याटिङ गरेका गुलशन झाले ३८ बलमा ५२ रनको अर्धशतकीय योगदान दिए।
नेपालका अर्का ओपनर अर्जुन कुमालले ४३ रन, कप्तान रोहित पौडेलले ४० रन तथा दीपेन्द्रसिंह ऐरीले १८ र इशान पाण्डेले १३ रन बनाए। अन्तिम ओभरतिर बसिर अहमदले विस्फोटक रूपमा ४ बलमै अविजित १५ रन बटुलेका थिए।
यूएईका बलर इबरार अहमदले ८ ओभरमा ६२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए भने खुजैमा तनवीरले २ तथा हैदर अली र अदीब उस्मानीले १-१ विकेट हात पारे।
प्रकाशित: २७ भाद्र २०८३ १५:०१ शनिबार





