नेपालले टी-२० आई क्रिकेटमा ऐतिहासिक सफलता हासिल गरेको छ । टेस्ट राष्ट्रविरुद्धको पहिलो शृंखलामा वेस्ट इन्डिजलाई एक खेल पराजित गर्दै नेपालले इतिहास रचेको हो । तीन खेलको शृंखलाको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरमा पराजित गर्यो ।
नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमा अलआउट भयो । ८ जना ब्याटरले दोहोरो अंकको स्कोर छुन नसकेको वेस्ट इन्डिजका लागि जासन होल्डरले सर्वाधिक २१ रन बनाए ।
नेपाली बलरले पहिलो ओभरबाटै क्यारेवियन टोलीलाई दबाबमा राखेका थिए । दीपेन्द्र सिंह ऐरीले आफ्नो दोस्रो ओभरमा जेवेल एन्ड्रयुलाई २ रनमा बोल्ड गरेपछि नेपालले विकेटको खाता खोलेको थियो । करण केसीले आफ्नो दोस्रो ओभरमा केइकी कार्टीलाई एक रनमा कुशल भुर्तेलद्वारा क्याच आउट गराए । वेस्ट इन्जिडले तेस्रो, चौथो, आठौं, दशौं, १२औं, १४औंं (दुई विकेट), १६औं, १७औं र १८औं ओभरमा विकेट गुमाएको थियो ।
नेपालका लागि आदिल अलामले उत्कृष्ट बलिङ गरे । आफ्नो स्पेलमा मात्र २४ रन खर्चेर उनले चार विकेट लिए । कुशल भुर्तेलले ३ तथा दीपेन्द्र सिंह ऐरी, करण केसी र ललित राजवंशीले समान एक विकेट लिए ।
यसअघि शारजहामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७३ रनको योगफल तयार पारेको हो । नेपालका लागि आसिफ शेख र सन्दीप जोराले उल्लेख्य पारी खेले । जोरा ६३ रनमा आउट भए । आसिफ ६८ रनमा नटआउट रहे । ४३ रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै दुवैले चौथो विकेटका लागि सतकीय साझेदारी गरे । टी२० मा चौथो विकेटका लागि नेपाली खेलाडीले बनाएको यो सर्वाधिक साझेदारी हो । यसअघि रोहित पौडेल र आसिफ शेखले चौथो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए ।
४७ बलको सामना गरेका आसिफले २ छक्का र ८ चौका प्रहार गरे । सन्दीपले ३९ बलको सामना गर्दै ५ छक्का र ३ चौका हिर्काए । गुल्शल झा ६ रनमा आउट भए । लामो समयको प्रतिबन्धपछि टोलीमा फर्किएका आदिल अलामले ५ बलमा ११ रन बनाए ।
ओपनर कुशल भुर्तेल २, क्याप्टेन रोहित पौडेल ३ र कुशल मल्ल ७ रन बनाए ।
अकिल हुसेन र कायल मेयर्सले समान २ विकेट लिए । एक विकेट जेडिह ब्लाडिजको नाममा रह्यो । कुशल मल्ल रन आउट भए ।
तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।
प्रकाशित: १३ आश्विन २०८२ २३:३० सोमबार





