अष्ट्रेलियामा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा न्यूजिल्यान्ड ‘ए’ विरुद्ध अहिले खेलिरहेको छ।
डार्विनको मरारामा भइरहेको खेलमा टस जितेर ब्याटिङ गरेको नेपाल ‘ए’ अन्तिम बलमा २११ रनमा अलआउट भएको छ। अबको केहीबेरमा न्यूजिल्यान्ड ‘ए’ २१२ रनको मध्यम लक्ष्य सहित जबाफी ब्याटिङको लागि मैदानमा उत्रिनेछ।
नेपालका लागि पवन सर्राफले सर्वाधिक ६१ रन जोडे। उनले ९२ बलमा ६ चौका प्रहार गरे। यस्तै, लोकेश बमले ६४ बलमा ४ छक्का र १ चौकाको मद्दतमा ४७ रन प्रहार गरे। त्यस्तै, कप्तान अनिल कुमार शाहले २४ तथा मंयक यादवले २० रन प्रहार गरेका थिए।
न्यूजिल्याण्डका लागि म्याथु फिसरले ४ तथा आदित्य अशोकले र क्रिष्टियन क्लार्कले समान २-२ विकेट हात पारे। नेपालले राम्रो सुरूवात गरे पनि मध्यक्रममा इनिङ्स सम्हालिन नसक्दा नेपाल सस्तै रनमा समेटियो।नेपाल अन्तिम खेलमा न्युजिल्यान्ड ‘ए’ लाई हराएर अष्ट्रेलिया भ्रमणको सुखद अन्त्य गर्न चाहन्छ। नेपालले जारी एकदिवसीय शृङ्खलाको अघिल्लो दुई खेलमा लगातार हार व्यहोरेको थियो।
नेपालले तास्मिनियाविरुद्ध दुई विकेट तथा दक्षिण अष्ट्रेलियाविरुद्ध १३८ रनको हार व्यहोरेको हो। आजको खेलमा नेपालले नारायण जोशीको स्थानमा विपिन खत्रीलाई प्लेइङ-११ मा मौका दिएको छ। चोटका कारण टोलीका प्रमुख ब्याटर कुशल भुर्तेल न्युजिल्यान्डविरुद्ध पनि प्लेइ-११ बाहिर छन् ।
प्रकाशित: २१ भाद्र २०८३ १०:१६ आइतबार


-600x400.jpg)


