अष्ट्रेलियामा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोली अन्तिम अभ्यास खेलमा न्यूजिल्यान्ड ‘ए’ संग दुई विकेटले पराजित भएको छ। २१२ रनको लक्ष्य पछ्याएर मैदानमा ब्याटिङ गर्न आएको न्यूजिल्यान्ड ‘ए’ ले ४९.५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य प्राप्त गर्यो।
न्यूजिल्यान्डका लागि राइस एन्ड्र्यु मारिउले उत्कृष्ट प्रदशर्न गर्दै शतक बनाए । उनले १३४ बलमा १६ चौका र ३ छक्काको मद्दतमा १३७ रन प्रहार गरे। यस्तै, म्याथु फिसरले अविजित २२ तथा मुहम्मद अब्बासले २१ रन हाने। नेपालका लागि रिजन ढकाल, सहाब आलम र युवराज खत्रीले समान २-२ विकेट हात पारे।
यसअघि, टस जितेर ब्याटिङ गरेको नेपाल ‘ए’ अन्तिम बलमा २११ रनमा अलआउट भएको थियो। नेपालका लागि पवन सर्राफले सर्वाधिक ६१ रन जोडे। उनले ९२ बलमा ६ चौका प्रहार गरे। यस्तै, लोकेश बमले ६४ बलमा ४ छक्का र १ चौकाको मद्दतमा ४७ रन प्रहार गरे। त्यस्तै, कप्तान अनिल कुमार शाहले २४ तथा मंयक यादवले २० रन प्रहार गरेका थिए।
न्यूजिल्याण्डका लागि म्याथु फिसरले ४ तथा आदित्य अशोकले र क्रिष्टियन क्लार्कले समान २-२ विकेट हात पारे। नेपालले राम्रो सुरूवात गरे पनि मध्यक्रममा इनिङ्स सम्हालिन नसक्दा नेपाल सस्तै रनमा समेटियो। नेपालले जारी एकदिवसीय शृङ्खलाको अघिल्लो दुई खेलमा पनि हार व्यहोरेको थियो।
प्रकाशित: २१ भाद्र २०८३ १४:०५ आइतबार



-600x400.jpg)

