१९ माघ २०८२ सोमबार
image/svg+xml
खेल

पर्याप्त तयारीबिना राष्ट्रिय लिग फुटबल

राष्ट्रिय लिगमा सहभागी अधिकांश क्लबले छोटो समयको तयारी र समयमै खेलाडी उपलब्धबिना नै प्रतियोगिता खेल्दै छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको राष्ट्रिय लिग बुधबारदेखि सुरु हुँदै छ। नेपाली फुटबल विकासको मेरुदण्डको रूपमा रहेको शीर्ष ‘ए’ डिभिजन लिग पछिल्लो साढे दुई वर्षदेखि हुन सकेको छैन। एन्फाले सोही शीर्ष डिभिजन लिगको सट्टा राष्ट्रिय लिग गरेको छ।

राष्ट्रिय लिगमा कुल १७ वटा क्लबले प्रतिस्पर्धा गर्दै छन्। २०७९ सालमा भएको  राष्ट्रिय लिगका शीर्ष १२ मध्ये ११ क्लब, एन्फा प्रिसिडेन्ट लिगका शीर्ष चार क्लब र ‘बी’ डिभिजन लिगबाट बढुवा भएका (प्लानिङ ब्वाइज र श्री भगवती क्लब) दुई टोलीले खेल्न लागेका हुन्। शीर्ष डिभिजन क्लब हिमालयन शेर्पा भने राष्ट्रिय लिगमा सहभागी भएको छैन। हिमालयन शेर्पा एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको टोली हो।

बुधबार पहिलो दिनको खेलमा एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएको काक्रे बिहारी एफसीले शीर्ष डिभिजन फ्रेन्ड्स क्लब तथा ‘बी’ बाट बढुवा भएको श्री भगवतीले पछिल्लो संस्करणको शीर्ष डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजको सामना गर्नेछन्।

राष्ट्रिय लिगअगाडि मंगलबार टोलीका प्रशिक्षक र कप्तानहरूसँग भएको पत्रकार सम्मेलनमा १७ वटा टोलीमध्ये नवजागृति र काक्रे बिहार भने उपस्थित भएन। यद्यपि, पत्रकार सम्मेलनमा अधिकांश टोलीले तयारी पर्याप्त नभएको उल्लेख गरे। साथै खेलाडी पलायनका कारण युवा खेलाडीलाई प्राथमिकतामा राखेको क्लबको भनाइ थियो।

लिग सुरु हुनुभन्दा एक दिनअगाडिसम्म पनि केही क्लबले अझै खेलाडी अनुबन्धन गर्न बाँकी रहेको उल्लेख पनि गरेका छन्। यद्यपि, तीन विभागीय टोलीले मात्र नियमित तयारी हुँदै आएको बताए। तथापि, नेपाल पुलिस क्लबले खेलाडी विदेश पलायन आफ्नो क्लबले बेहोर्नुपरेको उल्लेख गर्‍यो। पहिलो दिनको दुवै खेल एन्फा कम्प्लेक्समा हुँदै छन्। फ्रेन्ड्स क्लबका प्रशिक्षक रमेश महर्जनले युवा खेलाडीलाई समेट्दै टोली निर्माण गरिएको र तयारी पनि राम्रो भएको बताए। त्यसैले सुखद नतिजा आउने उनको आशा छ। उनले लिगमा शीर्ष ६ भित्र नै पर्ने लक्ष्य रहेको बताएका छन्।

कप्तान रूपेश केसीले पनि राम्रो टोली बनेको उल्लेख गरे। क्लबको लक्ष्य विदेशी खेलाडी नराख्ने र स्वदेशीलाई प्रोत्साहित गर्ने रहेको कप्तान रूपेशको भनाइ छ।  फ्रेन्ड्सको प्रतिद्वन्द्वी काक्रे बिहार भने सहभागी भएन। श्रीभगवती क्लबका कप्तान अशोक खवासले राष्ट्रिय लिगको तयारी राम्रो हुन नसकेको उल्लेख गरेका छन्। कुनै एउटा नकआउट प्रतियोगिता खेलेको जस्तै रहेको उनको धारणा छ। तथापि, टोलीमा राम्रा खेलाडी आबद्ध गरिएको उनी बताउँछन्। त्यसैले राम्रो नतिजा आउने श्रीभगवतीको आशा छ।

श्रीभगवती क्लबका सहायक प्रशिक्षक धनेश्वर प्रजापतिले टोलीमा अनुभवी घरेलु खेलाडी र विदेशी खेलाडी रहेको बताए। राष्ट्रिय टोलीबाट खेलिसकेका र प्रतिभावान् खेलाडीलाई टोलीमा समेटिएको उनी बताउँछन्। पहिलो खेलमा ध्यान केन्द्रित रहेको र तयारीमा ३० प्रतिशत मात्र काम भएको उल्लेख गरे। त्यसैले टिम सन्तुलनमा धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ। तथापि, उनले आफ्नो टोलीको लक्ष्य शीर्ष तीनभित्र पर्ने रहेको दाबी गरेका छन्।  

श्रीभगवतीको प्रतिद्वन्द्वी चर्च ब्वाइज युनाइेडका सहायक प्रशिक्षक रमेश दंगालले तयारी राम्रो रहेको र उपाधिका लागि खेल्ने विश्वास व्यक्त गरे। कप्तान एरिक बिष्टले भने समय अपर्याप्त भए पनि तयारी राम्रो भएको बताए। आफ्नो क्लबमा युवा, विदेशी र घरेलु खेलाडीको सन्तुलन मिलेको उनको विश्वास छ। पहिलो खेलमा राम्रो नतिजा आउने उनी बताउँछन्।

घरेलु फुटबलमा राम्रो प्रदर्शन गर्दै आएको मच्छिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवालले ढिला गरी तयारी गरिएकाले विगतको जस्तो टोली नरहेको बताएका छन्। धेरै खेलाडी गोल्डकप खेल्न गएकाले पछिल्लो एक हप्ताबाट मात्र प्रशिक्षण सुरु गरेको उनको भनाइ छ। धेरै खेलाडीमा फिटनेसको समस्या रहेको उनले उल्लेख गरे। सोचेजस्तो टिम नभए पनि उपाधिका लागि नै खेल्ने उनको विश्वास  छ। कप्तान तथा गोलकिपर विशाल श्रेष्ठले पनि तयारी प्रभावकारी बन्न नसकेको उल्लेख गरे।

एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले मैदानको समस्याले तयारी प्रभावकारी हुन नपाएको बताए। राष्ट्रिय लिगको तयारीका लागि केही अगाडिदेखि सुरु गरे पनि सबै खेलाडी उपलब्ध हुन नसकेको प्रशिक्षक सिन्केमानले बताए। समग्रमा टोली राम्रो भएकाले उपाधिकै लागि खेल्ने उनको भनाइ थियो।

एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएर चित्लाङ एफसीले राष्ट्रिय लिग खेल्दै छ। एन्फा एकेडेमीको पहिलो ब्याजका खेलाडी प्रज्वलप्रताप क्षेत्रीको प्रशिक्षणमा राष्ट्रिय लिग खेल्न लागेको चित्लाङ एफसीमा अनुभवी खेलाडीको कमी छ। प्रशिक्षक क्षेत्रीले अनुभवी खेलाडी नभए पनि राम्रो खेल प्रदर्शन गर्ने लक्ष्य राखेका छन्। टोलीमा अधिकांश खेलाडी युवा रहेको उनले बताए।

विभागीय टोलीले पनि नियमित प्रशिक्षण भइरहेकाले तालमेलमा समस्या नहुने बताएका छन्। एन्फाले पहिलो चरणमा फागुन १५ गतेसम्मको राष्ट्रिय लिगको मिति तय गरिसकेको छ। यसबीच कुल १३६ खेलमध्ये ६४ वटा लिग खेल सम्पन्न हुनेछन्।

फागुनमा नै एन्फाको अर्ली इलेक्सन घोषणा भएको छ। त्यसैले पनि एन्फाले दोस्रो चरणको मिति तय गरेको छैन। राष्ट्रिय लिगको विजेताले ५० लाख, उपविजेता २५ लाख र तेस्रो हुने टोलीले १५ लाख रुपैयाँ पाउनेछन्। हरेक खेल जितेबापत २० हजार रुपैयाँ पाउनेछन्। राष्ट्रिय लिग च्याम्पियनले एएफसी क्लब च्याम्पियनसिप खेल्ने पाउनेछ।

हरेक टोलीले कम्तीमा २३ र बढीमा ४० खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ। त्यसमा तीन विदेशी खेलाडी राख्न पाउनेछ। राष्ट्रिय लिगमा सहभागी क्लबले निर्वाचनपछि लिग निरन्तर हुनेमा संका पनि गरेका छन्। यसअघि महिला राष्ट्रिय लिग पनि नयाँ नेतृत्व आएपछि बिचमा नै अवरोध हुन पुगेको थियो। १० वर्षपछि राष्ट्रिय लिग हुन लागेको हो। पछिल्लोपल्ट सन् २०१५ मा राष्ट्रिय लिग भएको थियो। जसको च्याम्पियन थ्री स्टार क्लब हो। सन् २०११ मा पहिलोपल्ट भएको राष्ट्रिय लिगमा १० र दोस्रो संस्करणमा ९ क्लबले प्रतिस्पर्धा गरेका थिए। एक दशकपछि फेरि राष्ट्रिय लिग हुँदै छ।  

प्रकाशित: ३० पुस २०८२ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App