३ भाद्र २०८३ बुधबार
image/svg+xml
खेल

रियल मड्रिडमा मौरिन्होको पुनरागमन, २०२९ सम्म सम्झौता

जोस मौरिन्हो औपचारिक रूपमा रियल मड्रिडको मुख्य प्रशिक्षकका रूपमा फर्किएका छन्।

क्लबले प्रशिक्षण केन्द्रमा सामान्य शैलीमा आयोजित कार्यक्रममा मौरिन्होसँग सम्झौता गरेको घोषणा गरेको हो। मौरिन्होले जुलाई १० देखि टोलीसँग प्रि-सिजन तयारी सुरु गरिसकेका थिए। उनले क्लब अध्यक्ष फ्लोरेन्तिनो पेरेज र मानार्थ अध्यक्ष जोसे मार्टिनेज पिर्रीको उपस्थितिमा सन् २०२९ जुनसम्मको सम्झौतामा हस्ताक्षर गरे।

रियल मड्रिड पछिल्ला दुई सिजन कुनै उपाधि जित्न नसकेको अवस्थामा मौरिन्होको पुनरागमन भएको हो। त्यसैले उनको नियुक्तिलाई क्लबको पुनरुत्थानसँगै अधुरो काम पूरा गर्ने अवसरका रूपमा हेरिएको छ। मौरिन्हो यसअघि सन् २०१० देखि २०१३ सम्म रियलको प्रशिक्षक रहेका थिए। उनको पहिलो कार्यकालमा रियलले ला लिगासहित विभिन्न उपाधि जितेको थियो।

पुनरागमनपछि मौरिन्होले रियल फर्किनु आफ्नो लागि भावनात्मक क्षण भएको बताए। उनले आफूलाई रियल मड्रिड परिवारकै सदस्यका रूपमा प्रस्तुत गर्दै क्लबका लागि पूर्ण समर्पणका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन्। यसपटक मौरिन्होमाथि रियललाई फेरि उपाधिको दौडमा फर्काउने र समर्थकको बढ्दो अपेक्षा पूरा गर्ने ठूलो चुनौती हुनेछ।

प्रकाशित: ३ भाद्र २०८३ ११:२९ बुधबार