१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
खेल

मोइन चम्किँदा पोखराको इनिङ्स ध्वस्त, ८७ रन जोड्दा गुमायो ७ विकेट

जनकपुर बोल्ट्सले दिएको १४८ रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सको ब्याटिङ लाइनअप ध्वस्त भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका स्पिनरहरू हाबी भएपछि पोखराले १३.२ ओभरमै ७ विकेट गुमाएर मात्र ८७ रन बनाएको छ।

लगातार विकेट गुमेपछि पोखरा गम्भीर संकटमा फसेको छ। टोलीलाई अब जितका लागि अन्तिम ४० बलमा ६१ रनको कठिन चुनौती छ भने हातमा केवल ३ विकेट बाँकी छ।

पोखराले पछिल्लो १५ रन जोड्दा चार महत्त्वपूर्ण विकेट गुमाएको हो। आक्रामक रूपमा प्रस्तुत भएका किरण ठगुन्नालाई १३ औं ओभरमा जनकपुरका कप्तान हरमित सिंहले एलबीडब्लू आउट गरे। किरणले ५ बल खेल्दै २ चौका र १ छक्कासहित १५ रन जोडे।

त्यसलगत्तै १४ औं ओभरको दोस्रो बलमा मोइन अलीले मोहम्मद सैफुद्दिनलाई शून्य रनमै बोल्ड गर्दै पोखरालाई सातौं धक्का दिए। मोइनले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ३.२ ओभरमा १ मेडनसहित मात्र ८ रन खर्चेर ३ विकेट लिइसकेका छन्।

हाल क्रिजमा चमिका करुणारत्ने शून्य रनमा छन् भने पोखराका प्रमुख सबै ब्याटरहरू पभेलियन फर्किसकेका छन्।

जनकपुरका लागि बलिङमा स्पिनरहरूले कमाल गरेका छन्। मोइन अलीले ३, सैफ हसनले २ तथा कप्तान हरमित सिंह र ललित राजवंशीले १-१ विकेट लिँदै टोलीलाई जित नजिक पुर्‍याएका छन्।

प्रकाशित: १५ कार्तिक २०८३ २०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App