लियोनेल मेसीले यस विश्वकपका सबै खेलमा गोल गरे पनि लगातार दुई कठिन नकआउट खेलपछि उमेरको प्रभाव महसुस गर्नुपर्ने हो कि भन्ने प्रश्न उठ्न थालेको छ।
३९ वर्षीय मेसीको कप्तानीमा अर्जेन्टिनाले शनिबार राति नै स्विट्जरल्यान्डविरुद्ध अमेरिकी सहर कानसास सिटीमा क्वार्टरफाइनल खेल्दै छ। यो खेल जितेमा अर्जेन्टिनाले फिफा वरीयताको शीर्ष १० टोलीसँग नखेली विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्रको कीर्तिमान पनि बनाउनेछ। लियोनेल स्कालोनीको टोली अर्जेन्टिनाले समूहचरण सहज रूपमा पार गरेको थियो।
समूहमा अल्जेरिया, अस्ट्रिया र जोर्डन जस्ता राष्ट्र थिए। जुन फिफा वरीयतामा माथिल्ला टोली होइनन् र जसले विश्वकपमा पनि राम्रो गर्न सकेनन्। तर नकआउट चरणमा अफ्रिकी राष्ट्रद्वय केप भर्डे र इजिप्टले अर्जेन्टिनालाई क्षमताको अन्तिम सीमासम्म परीक्षा लिए। इजिप्टसँग भने हारको संघारमा पुगेर पनि अर्जेन्टिना जोगिएको थियो।
विश्वकपमा पहिलोपल्ट पुगेको केप भर्डेसँग अन्तिम ३२ मा पनि अर्जेन्टिनाले निकै संघर्ष गर्नुपर्यो। अतिरिक्त समयमा संघर्षपूर्ण जितबाट (३–२ ) अर्जेन्टिना अघि बढेको हो। अन्तिम १६ मा मोहम्मद सालाहको इजिप्टविरुद्ध पनि त्यस्तै रह्यो। दुई गोलले पछि परेको अवस्थाबाट अविश्वसनीय पुनरागमन गर्दै फेरि अर्जेन्टिनाले ३–२ को जित निकाल्यो। त्यो खेलमा रेफ्री र फिफाबाट अर्जेन्टिनाले साथ पाएको आरोप पनि लागिरहेको छ।
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले हालसम्म खेलेका सबै पाँच खेल जितेको छ। टोलीको सफलतामा मेसीको असाधारण प्रदर्शन र खेलाडीहरूबिचको अटुट एकताले निर्णायक भूमिका खेलेको छ। इजिप्टविरुद्ध मेसीले पेनाल्टी चुकाए पनि त्यसको क्षतिपूर्ति उत्कृष्ट संयमसहित गोल गर्दै गरे।
खेलको अन्तिम समयमा दुई गोलले पछि परेको अवस्थाबाट अर्जेन्टिनाले पुनरागमन गर्दा मेसीको महत्त्वपूर्ण भूमिका रह्यो। एटलान्टामा जितपछि भावुक बनेका मेसीले आँसु रोक्न सकेनन्। उनले आफ्नो विश्वकप यात्रा अझै जारी रहोस् भन्ने चाहना अत्यन्त बलियो रहेको बताए। ‘त्यो पूर्ण खुसी र राहतको क्षण थियो,’इन्टर मियामीका फरवार्ड मेसीले भने,‘हामी घर फर्किन चाहँदैनथ्यौं।’ केप भर्डेविरुद्ध १२० मिनेट खेलेपछि आफू निकै थाकेको मेसीले स्वीकार गरे तर त्यसपछि पनि उनले इजिप्टविरुद्ध पूरा खेल खेले र टोलीका लागि आफ्नो अपरिहार्यता फेरि प्रमाणित गरे।
शनिबार एरोहेड स्टेडियममा हुने क्वार्टरफाइनलले मेसीलाई यही विश्वकपको पहिलो खेलमा ह्याट्रिक गरेको मैदानमा पुनः फर्काउनेछ। उनले विश्वकपभर आफ्नो गोल गर्ने लयलाई निरन्तरता दिएका छन्। हालसम्म आठ गोल गरिसकेका मेसी गोल्डेन बुटको दौडमा फ्रान्सका किलियन एम्बाप्पेसँग बराबरीमा छन्। विश्वकपमा सर्वाधिक २१ गोलको कीर्तिमान पनि उनकै नाममा छ।
अर्जेन्टिनाको अद्भुत एकता
मेसीको असाधारण प्रतिभाबाहेक अर्जेन्टिनाको सबैभन्दा ठूलो शक्ति खेलाडीहरूबिचको बलियो एकता र आपसी विश्वास हो। दक्षिण अमेरिकी टोली विश्वकपमा लगातार ११ खेलदेखि अपराजित छ। सन् १९६२ मा ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने पहिलो राष्ट्र बन्ने लक्ष्यसहित अर्जेन्टिना अघि बढिरहेको देखिन्छ। ‘यो टोलीले सबै कुरा प्रतिकूल हुँदा पनि विश्वास गुमाउँदैन भन्ने महसुस गराएको छ,’ प्रशिक्षक स्कालोनीले भने।
मिडफिल्डर एन्जो फर्नान्डेजले पनि प्रशिक्षकको भनाइलाई समर्थन गरे। ‘कति नै कठिन परिस्थिति किन नआओस्, कहिल्यै हार मान्दैनौं,’ उनले भने। अर्जेन्टिनालाई विश्वकपमा विशेष सुविधा दिइएको हुन सक्ने आरोपसमेत उठेको छ। नीलो/सेतो जर्सी लगाएका हजारौं समर्थकले टोलीलाई जहाँसुकै साथ दिएका छन्।
इजिप्टका प्रशिक्षक होसाम हसनले अन्तिम १६ को खेलमा रेफ्रीमाथि अर्जेन्टिनाको पक्षमा निर्णय गर्न ‘बाह्य दबाब’ परेको हुन सक्ने टिप्पणी गरेका थिए। तर फिफाका रेफ्री प्रमुख पियरलुइजी कोलिनाले उक्त आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। अब अर्जेन्टिनाले कानसासमा अनुशासित र संगठित स्विट्जरल्यान्डको चुनौती सामना गर्नेछ।
कप्तान ग्रानिट जाकाको नेतृत्वमा रहेको स्विट्जरल्यान्ड आफ्नो इतिहासमै पहिलोपटक विश्वकपको सेमिफाइनल पुग्न एक जित टाढा छ। मुराट याकिनको स्विट्जरल्यान्डले बलियो कोलम्बियालाई पेनाल्टी सुटआउटमा क्वार्टरफाइनलमा स्थान बनाएको टोली हो। आक्रमणात्मक मिडफिल्डर जोहान मान्जाम्बी समूह चरणमा उत्कृष्ट लयमा थिए। अनुभवी खेलाडीहरूले भरिएको टोलीमा उनले नयाँ ऊर्जा थप्नुका साथै तीन गोल पनि गरेका थिए तर चोटका कारण मान्जाम्बीले कोलम्बियाविरुद्धको खेल गुमाएका थिए। अर्जेन्टिनाविरुद्ध पनि उनको खेल्ने सम्भावना अनिश्चित रहेको छ। ३३ वर्षीय जाकाले अहिलेको स्विट्जरल्यान्डमा अनुभव र युवा प्रतिभाको उत्कृष्ट संयोजन रहेको बताए। ‘अहिलेको हाम्रो पुस्ता विशेष छ,’ सन्डरल्यान्डका मिडफिल्डर जाकाले भने, ‘हामी अनुभव बाँड्ने प्रयास गर्छौं। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा भनेको मानसिकता हो। सानो राष्ट्र भए पनि यो स्तरको फुटबलमा जुनसुकै उपलब्धि सम्भव छ भन्ने विश्वास छ। कानसास सिटीमा हुने यस खेलको विजेताले सेमिफाइनलमा शनिबार नै मियामीमा हुने नर्वे र इङ्ल्यान्डबिचको क्वार्टरफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: २७ असार २०८३ १०:४४ शनिबार





