२१ असार २०८३ आइतबार
image/svg+xml
खेल

विश्वकपमा मेसीको गोल संख्या १९

लियोनेल मेसीले फेरि एकपटक आफ्नो जादुमय प्रदर्शन देखाउँदै गोल गरेपछि अर्जेन्टिनाले विश्वकपमा आफ्नो अपराजित यात्रा कायम राखेको छ। अर्जेन्टिनाले डलासमा भएको खेलमा जोर्डनमाथि सहज जित निकाल्दै समूह चरणमा लगातार उत्कृष्ट प्रदर्शन जारी राख्यो।

पहिले नै समूह जेमा शीर्ष स्थान सुनिश्चित गरिसकेको अर्जेन्टिनाले कप्तान मेसीलाई सुरुवाती टोलीमा नराखी बेन्चमा राखेको थियो। खेलको ६०औं मिनेटमा मेसी मैदान प्रवेश गर्दा स्टेडियमभर दर्शकको ठूलो उत्साह देखिएको थियो।  

तर खेलको सबैभन्दा रोमाञ्चक क्षण त्यसबेला आयो जब मेसीले खेल सकिन १० मिनेट बाँकी रहँदा शानदार फ्रिकिकमार्फत बललाई डिफेन्स वाल पार गर्दै गोलपोस्टको कुनामा पठाए। यो गोलसँगै उनले प्रतियोगितामा आफ्नो गोल संख्या ६ पुर्‍याएका छन्, जसले उनलाई गोल्डेन बुटको दौडमा अन्य खेलाडीभन्दा दुई गोल अगाडि राखेको छ। 

यो गोल मेसीको विश्वकप करियरको १९औं गोल पनि बन्यो, जसले उनले आफ्नै रेकर्ड अझै विस्तार गरेका छन्। साथै, उनी लगातार सात विश्वकप खेलमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्। 

यसअघि अर्जेन्टिनाका मिडफिल्डर जियोभानी लो सेल्सोले उत्कृष्ट फ्रिकिकमार्फत पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि स्ट्राइकर लाउटारो मार्टिनेजले पेनाल्टीमार्फत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। 

यद्यपि जोर्डनले हार नमानी संघर्ष जारी राख्यो। दोस्रो हाफको सुरुवातमै सुन्दर टिमवर्कपछि मौसा अल तमारीले गोल गर्दै अन्तर घटाएका थिए। 

मेसी मैदान प्रवेश गरेपछि डलास स्टेडियममा हरेकपटक बल छोएको क्षणमा दर्शकहरू उत्साहित देखिन्थे। अन्ततः उनले अर्को ऐतिहासिक गोल गर्दै समर्थकलाई यादगार क्षण उपहार दिए। 

फुटबल विश्लेषकहरूले मेसीको प्रदर्शनलाई ‘अविश्वसनीय’ भन्दै उनको खेल बुझाइ, कौशल र प्रभावशाली उपस्थितिको खुलेर प्रशंसा गरेका छन्। अर्जेन्टिनाको टोली अहिले उपाधि जित्ने प्रमुख दाबेदारका रूपमा अझ बलियो देखिएको छ।   

प्रकाशित: १४ असार २०८३ १०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App