अर्जेन्टिनाले अक्टोबरमा बेनिनविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि कप्तान लियोनल मेसीलाई टोलीमा समावेश गरेको छ। उक्त खेल मेसीको अर्जेन्टिनाबाट अन्तिम अन्तर्राष्ट्रिय खेल हुने अपेक्षा गरिएको छ।
अर्जेन्टिनाको फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाले अक्टोबर ६ मा ब्युनस आयर्सस्थित रिभर प्लेटको ८५ हजार दर्शक क्षमताको स्टेडियो मोनुमेन्टलमा हुने खेल मेसीको सम्मानजनक बिदाइका लागि आयोजना गर्न लागिएको बताएका छन्।
३९ वर्षीय मेसीले अगस्टमा अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए। २०२६ को विश्वकप फाइनलमा स्पेनसँग अर्जेन्टिना पराजित भएपछि उनले राष्ट्रिय टोलीबाट आफ्नो भविष्यबारे निर्णय गरेका थिए।
मेसीले २०२२ को विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाउँदा टोलीको कप्तानी गरेका थिए। उनले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। उनी अर्जेन्टिनाका सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन्।
अर्जेन्टिनाले बेनिनसँगको खेलअघि सेप्टेम्बर ३० मा कोर्डोबामा बोलिभिया तथा अक्टोबर ३ मा ब्युनस आयर्समा बुर्किना फासोसँग मैत्रीपूर्ण खेल खेल्नेछ।
बेनिनविरुद्धको खेलमा २०२२ विश्वकप विजेता अर्जेन्टिनी टोलीका खेलाडीलाई समेत आमन्त्रण गरिएको छ। तापियाले मेसीको बिदाइलाई ‘अविस्मरणीय’ अवसर बनाउने बताएका छन्।
यद्यपि, विश्वकप फाइनलपछि भएको मैदानभित्रको झडपका कारण अर्जेन्टिनाका मिडफिल्डर लियान्द्रो पाराडेस र नाहुएल मोलिना निलम्बनमा रहेकाले बेनिनविरुद्ध उपलब्ध हुने छैनन्।
प्रकाशित: ३१ भाद्र २०८३ ०७:०६ बुधबार





