२ असार २०८३ मंगलबार
image/svg+xml
खेल

विश्वकप २००२ को सम्झना : दोहोरिएला इतिहास?

विश्वकप फुटबलको इतिहासमा केही यस्ता नतिजा छन्, जसलाई वर्षौ बितिसक्दा पनि पुरानो बनाउन सकेको छैन। 

सन् २००२ को विश्वकपमा साविक विजेता फ्रान्सलाई सेनेगलले दिएको १-० को हार त्यस्तै घटनामध्ये एक हो। त्यस समय पनि फ्रान्स विश्व फुटबलका शक्तिशाली राष्ट्रमध्ये एकका रूपमा चिनिन्थ्यो। 

एक समय फ्रान्सबाट नै स्वतन्त्र भएको अफ्रिकी राष्ट्र सेनेगल डेब्यु विश्वकपमा नै विश्व विजेतालाई झड्का दिएको घटना अझै ताजा नै छ। त्यो जित आज पनि विश्वकपका सबैभन्दा ठूलो उलटफेरमध्ये गनिन्छ। उत्तरी अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा एकपल्ट फेरि फ्रान्स र सेनेगल भिड्ने भएका छन्। समूह ‘आई’ को टोली फ्रान्स र सेनेगल मंगलबार न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा आमनेसामने हुँदै छन्। र, संयोग कस्तो छ भने सन् २००२ मा फ्रान्सविरुद्ध ऐतिहासिक जित निकाल्दाका सदस्य अहिले पनि टोलीमा छन्।

सेनेगल टोलीका सदस्य पापे थियाव अहिले प्रशिक्षकको भूमिकामा छन्। त्यति बेला उनी बेन्चमा थिए। अहिले भने उनी टचलाइनमा उभिएर इतिहास दोहोर्‍याउने सपना देखिरहेका छन्। पहिलो खेललाई फ्रान्सले विश्वकपको दाबेदारी दिने माध्यमका रूपमा हेरेको छ। उसका लागि यो लगातार तेस्रो विश्वकप फाइनल पुग्ने महत्वाकांक्षाको सुरुआत पनि हो। सन् २०१८ मा विश्व च्याम्पियन फ्रान्स २०२२ मा अर्जेन्टिनासँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। यस पटक पनि फाइनल पुग्न सफल भयो भने फ्रान्स लगातार तीन विश्वकप फाइनल खेल्ने इतिहास रच्नेछ। अहिलेसम्म पश्चिम जर्मनी र ब्राजिलले मात्र यस्तो उपलब्धि पाएका छन्। 

मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पको नेतृत्वमा फ्रान्स १७औं विश्वकप खेल्दै छ। उनले सन् १९९८ मा कप्तानका रूपमा फ्रान्सलाई विश्वकप उपाधि दिलाए। प्रशिक्षकका रूपमा सन् २०१८ मा विश्वकप जितेका उनका लागि लागि यो सम्भवत: अन्तिम विश्वकप हुनेछ। फ्रान्सको सबैभन्दा ठूलो शक्ति फेरि एकपटक किलियन एम्बाप्पे नै हुन्। २०१८ र २०२२ विश्वकपमा उनले कुल १२ गोल गरेका थिए। कतार विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने उनी इतिहासका दोस्रो खेलाडी पनि हुन्। तर, फ्रान्सको आक्रमण जति बलियो छ, रक्षापंक्तिलाई लिएर त्यति नै प्रश्न उठ्छ। पछिल्ला पाँच खेलमा फ्रान्सले लगातार गोल खाएको छ। फ्रान्सेली टोलीसँग विलियम सालिबा, जुल्स कुन्डे र डायोट उपामेकानोजस्ता विश्वस्तरीय डिफेन्डर छन्।

तर पनि टोलीले पछिल्लो समय रक्षात्मक स्थिति देखाउन सकेको छैन। सालिबा र कुन्डेको फिटनेस समस्याले फ्रान्स थप चिन्तित छ। विश्वकपअघि दुवै खेलाडी पूर्ण फिट नभएको चर्चा थियो। यही कमजोरीको फाइदा उठाउने योजनामा छ सेनेगल। अफ्रिकी टोलीको आक्रमणपंक्ति निकै सशक्त देखिन्छ। कप्तान साडियो टोलीका प्रेरणास्रोत हुन्। अल नासरका लागि गत सिजन उत्कृष्ट प्रदर्शन गरेका मानेले क्लब र राष्ट्रिय टोली दुवैमा आफ्नो प्रभाव कायम राखेका छन्। इस्माइला सार, निकोलस ज्याक्सन, बाम्बा डिएङ र इलिमान नियायेले साथ उनलाई दिनेछन्। साउदी अरेबियासँगको अन्तिम अभ्यास खेल गोलरहित बराबरीमा टुंगिए पनि सेनेगलले त्यसअघि लगातार १७ खेलमा गोल गरेको थियो।

फ्रान्सविरुद्धको विगतले पनि सेनेगललाई आत्मविश्वास दिएको छ। विश्वकपको समूह चरणमा अफ्रिकी टोलीसँग फ्रान्सको प्रदर्शन पनि सन्तोषजनक छैन। यसै महिना घरेलु मैदानमा भएको अभ्यास खेलमा पनि फ्रान्स आइभरी कोस्टसँग २-१ ले पराजित भएको थियो। सन् २००२ मा सेनेगल, २०१० मा दक्षिण अफ्रिका र २०२२ मा ट्युनिसियासँग फ्रान्स पराजित भएको विश्वकप इतिहास छन्। फिफा वरीयतामा तेस्रो स्थानमा रहेको फ्रान्सलाई यस विश्वकपको दाबेदारका रूपमा हेरिएको छ। एक तथ्यांकले फ्रान्सको जित्ने सम्भावना ६४.८ प्रतिशत देखाएको छ। सेनेगलको जित सम्भावना १४.९ प्रतिशत मात्र रहेको छ। 

तथ्यांकभन्दा ठूलो आत्मविश्वास र अवसरको सदुपयोग भन्ने विश्वकपमा देखिदै आएका छन्। सन् २००२ मा पनि फ्रान्स स्पष्ट दाबेदार थियो। तर मैदानमा सेनेगलले इतिहास रच्यो। २४ वर्षपछि फेरि एकपटक विश्व फुटबलको महाशक्ति फ्रान्स र अफ्रिकी चुनौती सेनेगल आमनेसामने हुँदै छन्। फ्रान्स विजयी सुरुआतसहित अगाडि बढ्न चाहन्छ भने सेनेगल अर्को ऐतिहासिक रातको खोजीमा छ। विश्वकपको इतिहासमा सेनेगलले फेरि अर्को सुनौलो अध्याय थप्न सक्छ वा फ्रान्सले विगतको पीडादायी सम्झनालाई अन्तत: मेटाउनेछ भन्नेमा फुटबल समर्थक प्रतीक्षामा छन्। एजेन्सी

प्रकाशित: २ असार २०८३ ०८:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App